Logo
|
Wednesday 24th April 2024
Logo

epaper

विश्वका प्रदूषित ३० सहरमध्ये काठमाडौं ७ नम्बरमा



काठमाडौँ — केही दिन भयो, काठमाडौंको आकाश लगातार धुम्म छ । दिल्लीको वायु प्रदूषणले अन्तर्राष्ट्रिय चर्चा पाइरहेका बेला धेरैलाई आशंका भयो– यहाँ पनि उतैको विषाक्त वायु त आइपुगेन ?

तर विज्ञहरू भन्छन्– यो बाह्य प्रभाव होइन । काठमाडौंको वायुमण्डल आफैंमा प्रदूषित छ । हामीले पलपल सास फेर्ने हावामा धूवाँ र धूलोको मात्रा ‘अत्यधिक’ छ । सरकार र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तोकेको भन्दा ६ गुणा बढीसम्म त्यस्तो धूवाँधूलो रेकर्ड भएको छ ।

सम्झनुस् हाम्रो टाउकाको एउटा रौं । यसको औसत मोटाइ १०० माइक्रोमिटर हुन्छ । त्यो मोटाइलाई ४० भाग लगाउने हो भने एउटाको आकार २.५ माइक्रोमिटर बराबरको बन्छ । यसलाई हाम्रा आँखाले देख्न सक्दैन । प्राविधिक भाषामा यसलाई (पार्टिकुलेट्स म्याटर) पीएम–२.५ भनिन्छ ।

विज्ञहरूका अनुसार पीएम २.५ कणलाई खुला आँखाले देख्न सकिँदैन । यी कण नाक र मुखबाट सीधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिन्छ । क्यान्सरसमेत निम्त्याउन सक्ने रसायन मिसिएका यी कणले रक्तसञ्चार प्रणाली र मुटुलाई आघात पु‍र्‍याउने जानकारहरू बताउँछन् ।

यस्ता ससाना धूवाँधूलोका कण प्रतिघनमिटर हावामा ४० माइक्रोग्रामभन्दा बढी छन् भने श्वासप्रश्वासका लागि हानिकारक मानिन्छ । राजधानीको व्यस्त क्षेत्र रत्नपार्कमा गत बिहीबार पीएम–२.५ को मात्रा ६७ माइक्रोग्राम रेकर्ड भयो । चिसो बढेसँगै यो मात्रा पनि बढ्दै जानेछ । यो ०७५ को हिउँदमा १४५.४७ माइक्रोग्रामसम्म पुगेको रेकर्ड छ । यो डब्ल्यूएचओले तोकेको मापदण्डभन्दा झन्डै ६ गुणा बढी हो । अघिल्लो साता दिल्लीको वायुमण्डलमा पीएम २.५ को मात्रा एक घण्टाको औसत लिँदा ९ सय माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको थियो । अहिले त्यो घटिसकेको छ ।

डब्ल्यूएचओले पीएम २.५ को मात्रा प्रतिघनमिटर हावामा २५ माइक्रोग्राम (२४ घण्टामा) भन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ । नेपाल सरकारले भने २०६९ सालमा यस्तो मापदण्ड ४० माइक्रोग्राम तोकेको छ । तोकिएयताको तथ्यांक हेर्दा वायु प्रदूषणको मात्रा कुनै दिन पनि मापदण्डभित्र छैन । सधैं नाघेकै छ । विकसित मुलुकका विश्वविद्यालय र अनुसन्धानकर्ताले गरेका अध्ययनले पनि काठमाडौं प्रदूषित सहरभित्र पर्ने गरेको देखाएका छन् ।

स्वीट्जरल्यान्डका विशेषज्ञहरूको समूहले गत बुधबार सार्वजनिक गरेको ‘आईक्यू एअर भिजुअल’ प्रतिवेदनमा विश्वका ३० प्रदूषित सहरको सूचीमा काठमाडौं सातौं स्थानमा परेको छ । यसअघि अन्य विशेषज्ञले गरेका अध्ययनले पनि काठमाडौं प्रदूषित १० नम्बरभित्र पर्ने गरेको थियो । डेनिस सरकारको सहयोगमा तत्कालीन जनसंख्या तथा वातावरण मन्त्रालयले ०५९ सालदेखि काठमाडौंमा वायु प्रदूषणको अवस्थाबारे अध्ययन सुरु गरेको हो । त्यसअघि नेपालको वायु प्रदूषणबारे विदेशी अनुसन्धानकर्ताले आफ्नै प्रयोजनका लागि गरे पनि सरकारीस्तरमा अध्ययन भएको पाइँदैन । ०५९ सालमा राजधानीमा वायुको गुणस्तर थाहा पाउन काठमाडौं, भक्तपुर र ललितपुरमा सर्वसाधारणको बढी आउजाउ हुने ७ स्थानमा प्रदूषण मापन केन्द्र राखिएको थियो । ती केन्द्रले वायुमा रहेका धूलोका कण (पीएम १०) मापन गर्थे । सरकारले पीएम १० को मात्रा प्रतिघनमिटर हावामा १२० माइक्रोग्राम हुनुपर्ने मापदण्ड तयार गरेको छ । यो मापदण्ड ०५६ सालमा तोकिएको हो ।

पीएम १० पनि हानिकारक धूलोका कण नै हुन् । यिनको आकार पीएम २.५ भन्दा चार गुणा ठूलो हुन्छ । यी कण पीएम २.५ जस्तो फोक्सोसम्मै भने पुग्दैनन् । घाँटीसम्म पुग्ने भएकाले श्वासप्रश्वास र दमका रोगीलाई यसले हानि पुर्‍याउँछ । यस्ता कणले बालबालिका र वृद्धवृद्धालाई बढी असर गर्ने चिकित्सकहरूको भनाइ छ ।

अन्य देशबाट प्रदूषण नभित्रिँदा पनि काठमाडौंको वायुमण्डल प्रदूषित नै भइरहने वातावरण विभागका विज्ञ एवं सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए । ‘विगतको तुलनामा अहिले प्रदूषण केही हदसम्म घटे जस्तो देखिन्छ,’ उनले भने, ‘तर मुख्य स्रोत मानिएका सवारीसाधनको अनुगमन प्रभावकारी हुन नसकेकाले वायुको गुणस्तर चाहे जस्तो सुध्रिएको छैन ।’ उनका अनुसार ०७६ को तुलनामा ०७३ र ०७४ मा राजधानीको वायुमण्डलमा धूवाँ र धूलोको मात्रा बढी थियो ।

विभागले आव ०७३/७४ मा गरेको अध्ययनले पनि वायु प्रदूषण गर्ने स्रोतमा सबभन्दा बढी भूमिका सडकलगायतका पूर्वाधार निर्माणलाई देखाएको छ । ‘त्यो अध्ययनले ५३ प्रतिशत प्रदूषणका स्रोत पूर्वाधार निर्माण भएको किटान गरेको छ,’ पौडेलले भने । ०७४ पछि प्रदूषणका स्रोतबारे अध्ययन भएको छैन । तर अहिले विभागले वायु प्रदूषणको मुख्य स्रोत सवारीसाधनलाई नै मानेको छ ।

वायुको गुणस्तर खस्किँदै

०६३ सालमा दाताको सहयोग रोकिएपछि वायुको गुणस्तर मापन गर्ने काम पनि रोकियो । सात स्थानमा राखिएका वायु प्रदूषण मापन केन्द्र पनि त्यत्तिकै थन्किए । सूचना अधिकारी पौडेलका अनुसार वातावरण विभाग खडा भएपछि फेरि त्यसले निरन्तरता पायो । ०७० को कात्तिकदेखि जेठसम्म राजधानीका ३ स्थान पुतलीसडक, भक्तपुर र मच्छेगाउँमा पीएम १० को मापन सुरु गरियो । ‘अध्ययन सुरु गरेदेखि अहिलेसम्म नै मापदण्डभन्दा कैयौं गुणा बढी धूलोधूवाँका कण रेकर्ड हुने गरेको देखिन्छ,’ विभागका वातावरण निरीक्षक गोविन्द लामिछानेले भने, ‘वायुमण्डल प्रदूषित हुने क्रम रोकिएको छैन, ससाना धूलोका कण बढेको बढ्यै छन् ।’ मापन थालेदेखि नै यहाँको वायुमण्डलमा स्वास्थ्यका लागि हानिकारक मानिएका १० माइक्रोन र २.५ माइक्रोनभन्दा साना धूलोका कण अत्यधिक देखिएको उनको भनाइ छ । ‘यसले यहाँको वायुको गुणस्तर दिनप्रतिदिन खस्किँदै गएको प्रस्टिन्छ,’ उनले भने ।

आठ महिना लगातार गरिएको मापनबाट पुतलीसडकमा औसत ३०५.०२ र भक्तपुरमा १४०.३५ माइक्रोग्रामसम्म धूलोधूवाँको मात्रा रेकर्ड भएको देखिन्छ । ०७४ यता गरिएको अनुगमनले पनि धूलोका कणको मात्रा सरकार र डब्ल्यूएचओले तोकेको मापदण्डभन्दा कैयौं गुणा माथि छ । वायु प्रदूषणको अवस्था थाहा पाउन विभागले काठमाडौंमा ७, पोखरामा २, नेपालगन्ज, भक्तपुर, दाङ, सुनसरी, सिमरा, लुम्बिनी र धुलिखेलमा एक/एक गरी १९ वटा वायु गुणस्तर मापन केन्द्र सञ्चालन गरिरहेको छ । यीमध्ये १४ वटा वातावरण विभाग र अरू अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा अमेरिकी दूतावासको सहयोगमा सञ्चालनमा छन् ।

जाडोयाममा बढी वायु प्रदूषण उत्सर्जन हुने काठमाडौं उपत्यकामा वायु प्रदूषणको बहन क्षमतामा विद्यावारिधि गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रामप्रसाद रेग्मीले बताए । ‘प्रदूषण बहन क्षमता न्यून हुने बेलामै बढी वायु प्रदूषण उत्सर्जनका गतिविधि हुन्छन्,’ उनी भन्छन् । हरेक वर्ष चिसो सुरु भएसँगै प्रदूषण बढ्न सुरु हुन्छ भन्ने सरकारलाई थाहा भएर पनि न्यूनीकरणका लागि ध्यान नदिएको वातावरणविद् भूषण तुलाधरको तर्क छ । ‘नेपाल भ्रमण वर्षको सुरुवात (जनवरी) मा झनै प्रदूषण उच्च हुन्छ,’ उनले भने, ‘तर २० लाख पर्यटक भित्र्याउने भनिरहँदा प्रदूषण न्यूनीकरण गर्नेतिर सरकारले ध्यान दिएको छैन ।’ विगतमा प्रदूषण नियन्त्रणका उपायबारे सरकारलाई सुझाए पनि ती प्रतिवेदन त्यत्तिकै थन्किएको उनले उल्लेख गरे । ‘भन्दाभन्दा दिक्क लागिसक्यो,’ उनको दुखेसो छ, ‘प्रदूषण घटाउन ठोस काम हुन सकेन ।’

दुई वर्षअघि योजना आयोगले राजधानीको प्रदूषण घटाउन गर्नुपर्ने कामबारे विज्ञहरूसँग सुझाव मागेको थियो । त्यतिबेला तुलाधरसहितका विज्ञले अध्ययन गरेर दिएको प्रतिवेदन वन तथा वातावरण मन्त्रालय र आयोगमै थन्किएको छ । उनीहरूले प्रतिवेदनमा प्रदूषण घटाउन चाल्नुपर्ने अल्पकालीन र दीर्घकालीन कार्यक्रमको खाका दिएका थिए । प्रदूषण घटाउन तत्काल बढी धूवाँ फ्याँक्ने सवारीसाधन हटाउनुपर्नेदेखि विद्युतीय बस र मास भेहिकल (ठूला गाडी) चलाउनुपर्ने उनीहरूले सुझाएका थिए । भक्तबहादुर बलायर वातावरणमन्त्री हुँदा ०५७ सालमा प्रदूषण घटाउनकै लागि काठमाडौंबाट विक्रम टेम्पो हटाइएको थियो ।

स्वास्थ्यमा असर

वायु प्रदूषणले स्वास्थ्यमा पारेको असरबारे अध्ययन गरेका डा. खेमबहादुर कार्की चिसो बढेसँगै वायु प्रदूषणको मात्रा पनि बढिरहेकाले नागरिक आफैं सचेत हुनुपर्नेमा जोड दिन्छन् । चिसोका बेला धूलोधूवाँ कचौरा आकारको काठमाडौंमा तैरिएर बस्ने भएकाले स्वास्थ्यका लागि हानिकारक हुने उनको विश्लेषण छ । ‘सुक्खायाममा तल्लो तहसम्मै हानिकारक धूलोका कण वायुसँग मिसिएर रहने भएकाले मर्निङ वाक र इभिनिङ वाक गर्नु पनि घातक हुन्छ,’ कार्कीले भने । धूलोधूवाँका कणले बढी मात्रामा मुटु, डायबिटिज र उच्च रक्तचाप भएका बिरामीलाई असर गर्ने अध्ययनको निष्कर्ष छ ।

विगतमा कार्कीको नेतृत्वमा राजधानीका विभिन्न अस्पतालमा गरिएको अध्ययनले पनि वायु प्रदूषणका कारण फोक्सो, मुटु, हृदयाघात, श्वासप्रश्वाससम्बन्धी रोग, मस्तिष्कघात र क्यान्सर, छालाको एलर्जी जस्ता रोगका बिरामीको संख्या बढेको देखाएको थियो । उनका अनुसार एन९५ नामको मास्क प्रयोग गर्न सके धेरै हदसम्म आँखाले देख्न नसकिने धूलोका कण छेक्न सकिन्छ ।

काठमाडौंमा सधैं नै हानिकारक प्रदूषण व्याप्त रहेको निजामती कर्मचारी अस्पताल, मीनभवनका फोक्सो रोग विशेषज्ञ डा. दिनेश विष्ट बताउँछन् । अन्य समयको तुलनामा जाडोयाममा श्वासप्रश्वाससम्बन्धी बिरामी बढी हुने गरेका छन् । यसमा मौसमको प्रभाव बढी हुने उनको भनाइ छ । ‘त्यस्ता बिरामी बढ्नुमा वायु प्रदूषण एउटा कारक हो,’ उनले भने । जाडोयाममा प्रदूषणका कण वायुमण्डलको तल्लो सतहमा बढी थिग्रिने भएकाले छाती वा घाँटीमा एलर्जी हुने वा संक्रमण बढ्ने समस्या हुने उनले बताए ।

के हुन् प्रदूषणका स्रोत ?

लाखौं संख्याका सवारीसाधन, इँटाभट्टा, कृषि प्रयोजन, अस्पतालका इन्सिनेटर र खुला स्थानमा फोहोर जलाउँदा निस्कने धूवाँ वायु प्रदूषणका मुख्य स्रोत हुन् । गत वर्ष वातावरण विभागले सडकमा सवारीसाधनको प्रदूषण जाँच्न थाले पनि त्यो एक महिनामै रोकिएको थियो । प्रदूषण मापदण्ड तोक्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक छन् । मापदण्ड तोक्ने निकाय वातावरण मन्त्रालय भए पनि मुख्य स्रोत मानिने सवारीसाधन अनुगमन गर्ने निकाय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हो । ‘हरियो स्टिकर यातायात विभागले दिन्छ, सवारीसाधन जाँच्ने निकाय पनि उही हो,’ सूचना अधिकारी पौडेलले भने, ‘बर्सेनि लाखौं सवारी भित्रिए पनि तिनको अनुगमनका लागि आवश्यक उपकरण र प्रविधि पर्याप्त नहुनु नै समस्या हो ।’ वातावरण विभागले वायु प्रदूषणका हकमा १९ वटा प्रदूषण मापन केन्द्रले दिने सूचना र तथ्यांक नियमन गर्नेबाहेक अरू केही गर्दैन ।

अब के गर्ने ?

प्रदूषण घटाउन सवारीसाधन जाँच्ने कार्यलाई निरन्तरता दिनुपर्ने वातावरणविद् तुलाधर सुझाउँछन् । ‘मापसे जस्तै सबै सवारीसाधनलाई जाँच गर्ने प्रणाली खडा गरौं,’ उनको सुझाव छ, ‘बिजुली र साझाजस्ता मास भेहिकलको प्रयोग गरौं ।’ विगतमा विभिन्न विज्ञ, आयोग र समितिले दिएका सुझावलाई कार्यान्वयनमा ल्याउनसमेत उनले सरकारको ध्यानाकर्षण गराए । ‘एक्सन प्लान ल्याएर तुरुन्त कार्यान्वयन गर्नुपर्छ,’ उनी भन्छन्, ‘राज्यले प्रदूषण नियमनका लागि ठूलो अभियान नै चलाउनु आवश्यक छ ।’

सरकार के गर्दै छ ?

वातावरणका मुद्दामा काम गर्न वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभाग छ । तर विभागसँग प्रदूषण नियन्त्रणका विशेष कार्यक्रम छैनन् । विभागले अनुगमनबाहेक खासै काम गरेको देखिन्न । वातावरण अनुगमनका लागि विभागमा जम्मा १६ जना वातावरण निरीक्षक कार्यरत छन् । त्यही जनशक्तिले सबै खाले प्रदूषणको अनुगमन गर्नुपर्ने अवस्था छ ।

मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगाना भने कानुन वातावरण मन्त्रालयले ल्याए पनि कार्यान्वयनमा अन्तरमन्त्रालय सहयोग आवश्यक पर्ने औंल्याउँछन् । ‘यातायात, ट्राफिक र वातावरण विभाग संयुक्त रूपमा लागे मात्र प्रदूषण नियमन प्रभावकारी हुन्छ,’ उनले भने, ‘त्यसका लागि पहलकदमी भए पनि कार्यान्वयन फितलो छ ।’ मन्त्रालयको वातावरण महाशाखाले युरो ४ स्ट्यान्डर्डका सवारीसाधन भित्र्याउने गरी मापदण्डको मस्यौदा तयार गरिसकेको पनि ढुंगानाले जानकारी दिए । अहिले नेपालमा युरो३ स्ट्यान्डर्डका सवारी भित्रिन्छन्
। आजको कान्तिपुरदैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्