Logo
|
Saturday 20th April 2024
Logo

epaper

किन हुन्छ बालबालिकालाई दम ? 

बालबालिका लगाएत ३० करोड मानिसहरु दमबाट प्रभावितः विश्व स्वास्थ्य संगठन




वायुप्रदुषणका कारण शहरी क्षेत्रमा दम रोगीहरुको सँख्या बढ्दै गइरहेका छन् । वायुप्रदुषणबाट बालबालिका तथा बृद्धबृद्धाहरु सबैभन्दा बढी प्रभावित हुने गरेका छन् । साथै वायुप्रदुषले दमका रोगीहरुलाई समेत प्रत्यक्ष रुपमा असर पुर्याउने चिकित्सकहरु बताउँछन् । विश्व स्वास्थ्य संगठनका अनुसार बालबालिका लगाएत ३० करोड मानिसहरु दमबाट प्रभावित छन् । विशेषगरी नेपालको पहाडीभेगमा स्वस्थ्य शिक्षाको अभाव, असन्तुलित खानपान, लामो समयसम्म खोकी लागेपनि हेलचेक्र्याइ आदिका कारण दमबाट मृत्युहुनेको संख्या बढेको पाइन्छ ।
दम के हो ?
मानव शरीरको श्वासप्रश्वास नलीमा क्रोनिक इन्फ्लामेसन हुनु (सुन्निनु) लाई दम भनिन्छ । मुख्यतः बालबालिकाहरुलाई वंशाणुगत र एलर्जीका कारण दम हुने गर्दछ । वयस्क र बृद्धबृद्धालाई भने एलर्जीले ३० प्रतिशतसम्म दम गराउँन सक्छ । एलर्जी पेट, फोक्सो, स्वासप्रश्वास नली र आँखा जहाँ पनि हुन सक्छ । यदि बालबालिकाहरुको श्वासप्रश्वास नलीमा एलर्जी भएमा उनीहरुलाई दम हुन्छ । श्वासप्रश्वास नली साँघुरिदै गएँ पछि खोकी लाग्ने, छाती टाइट हुने, सास फेर्न गाह्रो हुने, घ्यार घ्यार हुने जस्ता समस्या देखिन थाल्छ ।
भ्रम
आम जनमानसमा ठुला मानिसलाई मात्र दम हुन्छ र साना बच्चालाई हुँदैन भन्ने भ्रम भएको पाइन्छ । तर अहिले बच्चालाई पनि ठुलोलाई सरह दम हुने जोखिम रहन्छ । बच्चालाई दम हुँदा केही फरक लक्षणहरु देखिन सक्छन् । तर बच्चालाई दम हुँदैन भन्नु भ्रम हो ।
लक्षण
तीन हप्ताभन्दा बढी समयसम्म लगातार रुघा वा खोकी लागिरहने, सास फेर्न गाह्रो हुने तथा छातीमा समस्या देखिनेजस्ता प्रारम्भिक लक्षण देखा पर्छन् । बिस्तारै छातीमा गह्रौँ महशुस हुने, खान मन नलाग्ने, मुटुको रोग र हड्डी कमजोर हुनेजस्ता दीर्घकालीन समस्या देखिन्छन् । बच्चाहरूमा भाइरल संक्रमणका कारण ब्रोन्काइटिस हुन सक्छ । यस्तो अवस्थामा घाँटी खसखसाउने, नाक, कान चिलाउने, रुघाखोकी लाग्ने, सास फेर्न गाह्रो हुने र छातीमा समस्या देखिनेजस्ता लक्षण देखिन्छन् ।

डायग्नोसिस
क्लिनिकल परिक्षण गरेरमात्र दम पहिचान गर्न गाह्रो हुन्छ । ५वर्ष भन्दा मुनिका बच्चालाई दम भएनभएको पहिचान गर्न कुन समयमा बढी घ्यारघ्यार हुन्छ?, दिनमा कति पटक हुन्छ?, के गर्दा बढी हुन्छ? सबै हेरिन्छ । ७ वर्ष भन्दा माथिका बालबालिकालाई एक्स–रे, पिएफ्टी, फङ्सन टेष्ट आदि गरेर पनि श्वासप्रश्वास नली जाँच गर्न सकिन्छ ।
मेडिकल हिस्ट्री
बिरामी अस्पताल आइसकेपछि सबैभन्दा पहिला बिरामीको मेडिकल हिस्ट्री जाँच गरिन्छ । दम वंशाणुगत पनि हुने भएकाले परिवारका अन्य सदस्यलाई दम छ/छैन सोधिन्छ ।आमाबुबालाई दमको समस्या छ भने बच्चालाई हुने सम्भावना ७० प्रतिशत भन्दा बढी हुन्छ ।
के बच्चाको दम निको हुन्छ ?
दम तुरुन्त निको भइहाल्ने रोग होइन् । यसलाई नियन्त्रण गर्न भने सकिन्छ । बिरामीले सही समयमा नियमित औषधि सेवन गरे विस्तारै औषधिलाई बन्द गर्न सकिन्छ । कहिले खाने कहिले नखाने गरेर हेलचेक्र्याइ गर्न थाल्यो भने दम लामो समयसम्म निको नहुन सक्छ । बालबालिकालाई धुवाँधुलोबाट टाढा राख्नुपर्छ । घरबाट बाहिर निस्किदा मास्कको प्रयोग गर्नुपर्छ । रुघाखोकीको समयमै उपचार गर्नुपर्छ ।
औषधि
दमका बिरामीहरुलाई इनहेलर विधि (जसमा औषधिलाई यन्त्रको मद्दतले सिधै फोक्सोसम्म पुर्याइन्छ ) प्रयोग गरिन्छ । सास फेर्न गाह्रो भएमा श्वासप्रश्वास नली फुकाउनका लागि साल्बी डब्लु प्रयोग गरिन्छ । यसका अलावा स्टेरोइड पनि दिइन्छ । स्टेरोइडको डोज कम हुन्छ । यसले बच्चाको शारीरिक र मानसिक बृद्धिविकासमा नकारात्मक असर गर्दैन् ।
दम रोगी बच्चालाई इनहेलर बिहान स्कुल जाने बेलामा एक चोटी र बेलुका सुत्नेबेला एकचोटी दिन सकिन्छ । नियमित औषधि सेवन नगरे बिरामीको ज्यानै जोखिममा पर्न सक्छ ।
दम रोगी बालबालिकाले के खाने ?
दम भएको बच्चालाई हल्का खाना खुवाउनुपर्छ । खानामा क्यालोरीको मात्रा कम हुनुपर्छ । अन्यथा बढी क्यालोरी भएको खानाले बच्चालाई सास लिन कठिनाई हुनसक्छ । समय समयमा तातो पानी पिउनुपर्छ । बालबालिकाको खानामा हरियो सागपात लगायत गाँजर, काँक्रो लगायतलाई समावेश गर्न सकिन्छ । बेसार स्वास्थ्यको लागि लाभदायक मानिन्छ । त्यसैले बालबालिकाालई सुत्नु अघि दूधमा बेसार मिसाएर दिन सकिन्छ ।
दम रोगी बालबालिकाले के नखाने ?
दम भएको बालबालिकालाई अमिलो, पिरो तथा चिसो खानेकुरा दिनु हुँदैन । चामलको प्रयोग सकेसम्म कम गर्नुपर्छ । केरा, काउली, भण्टा र पिडालुबाट टाढै दम रोगी बालबालिकालाई टाढा राख्नुपर्छ । यस्ता खानेकुराले एलर्जी गराउन सक्छ । बच्चाहरुलाई जंक फुड खुवाउनुहँुदैन ।
गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरु
गर्भवती महिलाले गर्भावस्थामा कुनै प्रकारको एलर्जी भएमा तुरुन्तै उपचार गराइहाल्नुपर्छ । गर्भावस्थामा प्रशस्त मात्रामा भिटामिन डी पाइने खानेकुरा सेवन गर्नुपर्छ । भिटामिन डी को कमीले पनि बच्चालाई दम हुन सक्छ । नवजात शिशुलाई ६ महिनासम्म नियमित स्तनपान गराउनुपर्छ । बच्चाको तौल नियन्त्रणमा राख्नुपर्छ । घरभित्र धुम्रपान गर्नुहुँदैन ।
(दम तथा एलर्जी विशेषज्ञ डा.सञ्जय राज थापा ग्रान्डी इन्टरनेसनल हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्