Logo
|
Friday 19th April 2024
Logo

epaper

भौगोलिक विकटताको उपज, बिरामी बोक्न डोकोको भर



जनस्वास्थ्य सरोकार, रुकुम : प्रसूति व्यथाले सताएपछि डोकोमा बोकेर अस्पताल लैजाँदै गर्दा गत वर्ष रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका–२ पेल्माकी सुरकुमारी कामीको बाटोमै मृत्यु भयो।

केही दिनअघि स्थानीय पार्वती बुढालाई सुत्केरी व्यथाले च्यापेपछि युवाले डोकोमा बोकेरै रुकुमकोट जिल्ला अस्पताल लगियो। गाउँमा बिरामी बोक्न सधँै डोकाको भर पर्नुपरेको पार्वतीका श्रीमान् सुरेन्द्र बुढाले गुनासो पोखे।

‘गाउँ नजिक न स्वास्थ्य चौकी छ, न त गाउँमा स्टेचर छ, सधँै डोको र काठमा कपडा बेरेर बिरामी बोक्नुपर्छ’ उनले भने, ‘गाउँबाट सदरमुकाम पुग्न दिनभर पैदल यात्रा गर्नुपर्छ, कुनै आकस्मिक बिरामी परे ज्यान गुमाउनुपर्ने बाध्यता छ।’ पेल्मा गाउँसम्म सडकसमेत बनाइएको छैन। स्थानीय वीरजित बुढाका अनुसार भौगोलिक विकटताका कारण यहाँका नागरिक बिरामी हुँदा उद्धार गर्न सकस छ।

‘स्थानीय सरकारको बजेट कता जान्छ ? थाहा छैन, हाम्रो दुःख जस्ताको त्यस्तै छ’, उनले भने, ‘स्वास्थ्य चौकी भेट्न तीन घण्टा हिँड्नुपर्छ, यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस्।’ गाउँमा स्टेचर उपलब्ध गराउन पटक–पटक स्थानीय सरकारलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको स्थानीय महिला रामकली बुढाले बताइन्।

‘बिरामी बोकेर रुकुमकोट जिल्ला अस्पताल पुग्नका लागि बाटोसमेत सजिलो छैन’, उनले भनिन्, ‘त्यसैमाथि ज्यान जोखिममा राखेर सुत्केरी तथा अन्य बिरामीको उद्धार गर्नुपर्छ।’ प्रत्येक गाउँ टोलमा एउटा स्टेचर राख्नुपर्ने विषयमा गाउँपालिकामा माग भएको महिला अधिकारकर्मी सीता घितांगेले बताइन्।

गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीले भने चालु वर्षमा सबै गाउँमा एक÷एक वटा स्टेचरको व्यवस्था गर्ने बताए। यसका लागि बजेट विनियोजन गरिएको उनको भनाइ छ। अन्नपूर्णपोष्ट

प्रतिक्रिया दिनुहोस्