Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्य सचिव पुष्पा चौधरी मन्त्रालयको काम भन्दा पनि आफ्नै स्वार्थमा व्यस्तः एक महिनादेखि सम्पर्कबिहीन



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा.पुष्पा चौधरी झण्डै एक महिनादेखि सम्पर्कविहिन भएकी छन्। मन्त्रालयमा उनको पदावधि अझै दुई वर्ष भन्दा बढी बाँकी नै छ।

गत कात्तिक १३ गते पदबाट राजीनामा दिएकी डा.चौधरी सम्पर्कमा नरहेको मन्त्रालयले जनाएको छ। उनको राजीनामा भने मन्त्रीपरिषद्ले अस्वीकृत गर्दै फिर्ता मन्त्रालयमा पठाएको छ। राजीनामा अस्वीकृत भएको जानकारी ३ मंसिरमा स्वास्थ्य मन्त्रालयमा प्राप्त भएको थियो। मन्त्रीपरिषद्ले राजीनामा अस्वीकृत गर्दै सोको जानकारी सचिव डा.चौधरीलाई जानकारी दिनसमेत मन्त्रीपरिषद्को कार्यालयले स्वास्थ्यमा मन्त्रालयमा पत्र पठाए पनि मौखिकरुपमा लिन नसकिएको स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले बताए।

१७ कात्तिकमा बसेको मन्त्रीपरिषद् बैठकले डा. चौधरीको राजीनामा अस्वीकृत गरेको थियो। राजीनामा अस्वीकृत एक साता बितिसकेको छ। मन्त्रालयका प्रवक्ता समेत रहेका श्रेष्ठले भने,‘सचिवज्यू मन्त्रालयमा आउनु पर्ने त हो तर राजीनामा पेश गरेपछि अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन, मन्त्रीपरिषद्ले राजीनामा अस्वीकृत भएको जानकारी उहाँको इमेलमा पठाएका छौं।’

सचिव डा.चौधरीको मोबाइल स्वीच अफ रहेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नयाँ दिल्लीस्थित क्षेत्रीय कार्यालयमा जागिरका लागि उनले निवेदन दिएको स्रोतले बतायो। डा. चौधरीसँगै मन्त्रालयकी पूर्वसचिव डा.किरण रेग्मी पनि प्रतिष्पर्धामा सहभागी थिइन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव मन्त्रालयमा आएदेखि नै स्वास्थ्य सचिव डा.चौधरीसँग खटपट भएको थियो।

मन्त्रालयमा दुई सचिव राख्ने व्यवस्था भएपछि सचिव डा.चौधरीलाई सरकारले डेढ वर्षअघि सरकारले स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो। सरकारको निर्णय अप्रत्याशित र चित्ताबुझ्दो नभएको जनाउँदै कानूनी उपचारका लागि सर्वोच्च अदालत पुगेकी थिइन्। कर्मचारीको सरुवा सामान्य प्रक्रिया भएपनि आफ्नो नियुक्ति र पदस्थापना स्वास्थ्य सेवा ऐन अनुसार स्वास्थ्य सचिवको दरबन्दी मन्त्रालयमा नभएको जनाउँदै न्यायोचित निकासका लागि अदालत जानु पर्ने बाध्यता रहेको बताएकी थिइन्।

०७५ असोज ८ गते सर्वोच्च अदालतले मन्त्रीपरिषदको निर्णय बदर गर्दै सरुवा र रमाना लगायतका पत्रहरु कार्यान्वयन नगर्न अन्तरिम आदेशपछि उनी पदमा बहाल रहेकी थिइन्। सचिव डा.चौधरीका श्रीमान श्रवण डेंगुको विरामी परेको स्रोतले जनाएको छ। चौधरी निकट स्रोतले भने सहज र व्यवहार निकास खोजिरहेकोले राजीनामा दिएको बतायो। मन्त्रालयमा काम गर्ने वातावरण नभएको जनाउँदै उनी लामो समयदेखि असन्तुष्ट भएको समाचार अन्नपूर्णपोष्टमा दिनेश गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्