Logo
|
Friday 19th April 2024
Logo

epaper

यस्तो हुनुपर्छ आहार, विहार र विचार



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित हुन्छन् । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वाकांक्ष, भोजभतेर, कम्प्युटर र टेलिभिजन, अत्यधिक मानसिक तनाव अनि पैसा कमाउने दौड, यिनै हुन् संक्षिप्तमा मुटुरोग बढ्नाका प्रमुख कारणहरु । सम्पूर्ण मुटुका रोगहरुको ७५ प्रतिशत र हृदयघातसँग सम्बन्धित मुटुरोगको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैली हो भन्ने कुरा प्रमाणित भइसकेको छ । त्यसैले मुटुरोग नियन्त्रणका लागि जीवनशैली व्यवस्थित गर्नेतर्फ लाग्न जरुरी छ । सुत्ने, उठ्ने, खाने, पिउने, बानी व्यवहार, सोचाइ, दिनचर्या आदि सबै जीवनशैलीभित्र पर्छन् । मानिसको आहार, विहार र विचारको स्वरुप नै जीवनशैली व्यवस्थापन हो । विश्वव्यापी भएको अध्ययन अनुसार मुटुरोग लाग्ने ९ वटा प्रमुख कारणहरुमा धुम्रपान, मोटोपना (विशेष गरी पेट ठूलो हुने), मधुमेह, उच्च रक्त कोलेस्टेरोल, उच्च रक्तचाप, व्यायामको कमी, फलफूल र हरियो सागपात कम खानु, मानसिक तनाव र वंशाणुगत हुन् ।

आहार
कार्बोहाइड्रेट, चिल्लो, प्रोटिन, भिटामिन र लवणहरु आवश्यकता अनुसार खानाबाट प्राप्त हुनुपर्दछ । प्रोटिनले शरीरको निर्माण गर्दछ । कार्बोहाइड्रेट र चिल्लोले शक्ति प्रदान गर्दछ । भिटामिनले रोगहरुसँग लड्ने क्षमता बढाउँछ । माछा, मासु, अण्डा, गेडागुडीबाट प्रोटिन प्राप्त हुन्छ । मुटुरोग नियन्त्रणका लागि आहारबारे केही मूलभूत कुराहरु यसप्रकार छन् ।
चिल्लो कम
चिल्लोको मात्रा कम प्रयोग गर्न उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल उत्तम मानिन्छ ।
नुन कम
नुन दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नुहुँदैन ।
फलफूल र सागपात
बिहान–बेलुकीको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दिनमा एकपटक फलफूल खानुपर्छ ।
एक छाक भात
बेलुकीको खानामा २–३ वटा गहुँको सुख्खा रोटी, साग र मौसमी तरकारी हुनुपर्छ ।
२ घण्टापछि सुत्ने
बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खाने गर्नुपर्छ । बेलुकीको खाना खाएपछि तुरुन्त सुत्नुहुँदैन । कम्तीमा दुई घण्टापछि सुत्नुपर्छ ।
शाकाहारमा जोड
शाकाहारीले मुटुमा फाइदा हुन्छ । नियन्त्रित रुपमा माछा, मासु खाएमा हानी छैन । खसी, राँगो, बंगुरले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराले कम बढाउँछ । चिल्लोबिना माछा र कुखुरा पकाउने तरिका सिक्नुपर्छ । माछा मासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछा मासु राम्रो मानिँदैन ।
फाइवरयुक्त खाना
उच्च फाइवरयुक्त खानाले मुटुलाई फाइदा गर्ने भएकाले गहुँ, गेडागुडी, हरियो सागपात सेवन गर्नुपर्छ । गेडागेडीलाई अंकुरित बनाएर खाएमा लाभदायक हुन्छ ।
उचित मात्र खाने
दुई छाक पेट कसेर खाई तत्काल सुत्नाले मुटुलाई खराब गर्छ । आहार व्यवस्थापन भन्नाले यस्तो बानी त्यागी थोरै खाने, धेरे पटक खाने र उचित खाना खाने बानी बसाल्नुपर्छ ।
डाक्टरको सिफारिस खाना
मुटुरोग लागिसकेकाहरुले डाक्टरको सिफारिस अनुसार रोग अनुसारको आहार लिनुपर्छ ।
तौल घटाउने
मोटो मानिसले तौल घटाउनुपर्छ र यसका लागि कम क्यालोरीयुक्त आहार लिनुपर्छ ।

विहार
रोग आहारबाट मात्र हैन । क्रियाकलाप, बानी र व्यवहार ठीक नहँुदा पनि उत्पन्न हुन्छ । यसकारण रोग नियन्त्रणका लागि यसतर्फ पनि ध्यान दिनु आवश्यक छ । मुटुरोग नियन्त्रणका लागि विहार व्यवस्थापनका केही मूलभूत कुराहरु यसप्रकार छन् ।
गहिरो निद्रा
हरेक दिन ५ देखि ७ घण्टासम्मको गहिरो निद्रा अत्यावश्यक छ । निद्रा नलागेमा औषधि खाएर भए पनि निदाउनुपर्छ । निद्रा नपरेमा मुटुका रोगहरु बढ्दै जान्छन् । निद्रा कम पर्ने मानिस बढी मोटाउँछन् । निद्रा कम हुँदा मस्तिष्कमा बोझ बढ्छ र रक्तचाप, ब्लड सुगर बढेर हृदयघात हुनसक्छ ।
सबेरै जागा
बिहान ५ देखि ६ बजेभित्र उठनुपर्छ । बिहान सबेरै उठ्नाले मन स्वच्छ र शरीर चंगा हुन्छ ।
व्यायाम
हरेक दिन बिहान उठेपछि नियमित एक घण्टा व्यायाम गर्नुपर्छ । यसलाई सुत्ने, उठ्ने, खाने, पिउनेजस्तै नियमित नित्यकर्म बनाउनुपर्छ । योगासन, प्राणायाम र ध्यान सबैभन्दा उत्तम शारीरिक र मानसिक व्यायाम हुन् । दैनिक बिहान एक घण्टा योग मुटुरोग नियन्त्रणको प्रभावकारी कदम हो । यसबाहेक अन्य व्यायाम पनि अनुशरण गर्न सकिन्छ ।
कार्ययोजना
व्यायाम सकेपछि ३० मिनेट दैनिक गर्नुपर्ने कार्ययोजना बनाउनुपर्छ । यद्यपी त्यसदिन हडबड नगरी प्रभावकारी काम सम्पन्न गर्न सकिन्छ ।
अम्मली
चुरोट, सुर्ती र रक्सी पिउने बानी मुटुका लागि हानिकारक छ । यो बानी त्याग्नुपर्छ ।
बिश्राम
आफ्नो क्षमताभन्दा बढी कार्य बोझ लिनहँुदैन । नसक्ने भएमा स्पष्ट बताउनुपर्छ, डराउन हुँदैन । उच्च रक्तचाप हृदयघातजस्ता समस्याहरु यस्तै क्रियाकलापहरुले उत्पन्न गर्छन् । आफ्नो लागि बाँच्ने मानसिकता बनाउनुपर्छ । हप्ताको एक दिन विश्राम आवश्यक छ । यो दिन परिवारका सदस्यहरुसँग समय बिताउनुपर्छ ।
महत्व
आजको दिन, काम, र व्यवहारलाई महत्व दिनुपर्छ । बितेका कुरालाई लिएर वर्तमान काममा बाधा पार्न हुँदैन ।
माया र आदर
सानालाई माया र ठूलालाई आदर गर्नुपर्छ ।
अध्ययन
नियमित किताब पढ्ने बानी बसाल्नुपर्छ । यसले ज्ञान–बुद्धि एवं सुख–सन्तुष्टि प्राप्त हुन्छ । नियमित कुनै न कुनै किताब पढ्ने बानी भएका व्यक्तिको जीवन बढी व्यवस्थित हुन्छ । फूर्सदमा किताब पल्टाइहाल्नुपर्छ । आफूलाई मनपर्ने र विश्वप्रसिद्ध पुस्तकहरु पढ्ने गर्नुपर्छ ।
भ्रमण
वर्षको एकपटक परिवारका सदस्यहरुसँग नयाँ ठाउँमा घुम्न जाने योजना बनाउनुपर्छ । सिनेमा, संगीत जस्ता कुरा जीवनशैलीका आवश्यक पक्ष हुन् । संगीत विनाको जीवन निरस हुन्छ ।
संयम
आफ्नो लागि गरिने क्रियाकलापले अरुलाई हानी नोक्सानी पु¥याएमा रोक्नुपर्छ ।

विचार
मुटुका धेरै रोगहरु मानसिक तनावबाट उत्पन्न हुन्छन् । मानसिक तनाव, अव्यवस्थित विचार मानसिक स्थितिको उपज हो । विचार व्यवस्थापनमा सकारात्मक चिन्तन सबैभन्दा महत्वपूर्ण पक्ष हो । विचारलाई निम्नप्रकारले व्यवस्थित गर्ने अभ्यास गर्नुपर्छ ।
तनाव
मानसिक तनाव उत्पन्न हुने कारणहरु धन–सम्पत्ति, अन्तरव्यक्ति सम्बन्ध, कार्यबोझ, लेनदेन, महत्वाकांक्षा, नामको भोक आदि मुख्य हुन् । यी पक्षहरुको वैचारिक व्यवस्थापन महत्वपूर्ण मुद्दा हो । विचारमा
सकारात्मक चिन्तन प्रबल रहनुपर्छ । राम्रा पक्षलाई समाएर हिँडन सिक्नुपर्छ । धन–सम्पत्ति र वस्तुबाट सुख प्राप्त हुँदैन ।
उपभोग
धन कमाएर थुपारेर राख्न हुँदैन । त्यसको उपभोग गर्नुपर्छ । उद्योगमा धन लगाएर अरुका लागि रोजगारी प्रदान गर्नुपर्छ । प्रयोग नगरी थुपारेर राख्दा धनले तनाव उत्पन्न गराउँछ ।
समस्या
समस्याको स्थायी समाधान खोज्नुपर्छ । लामो समयको तनावले मन पिरोलिरहन्छ ।
स्पष्ट धारणा
कुनै व्यक्तिसँग पनि शत्रुता राख्न हुँदैन । चित्त नबुझेको कुरा भन्नुपर्छ । यसबाट मन शान्त हुन्छ ।
महत्वकांक्षा
महत्वाकांक्षा र नामको भोकले मानसिक तनाव सिर्जना गर्ने भएकाले यसको पछाडि लाग्नुहुँदैन ।
शान्त
जीवनका हरेक पक्षलाई सरल र सहज ग्रहण गर्न सिक्नुपर्छ । जे सोच्यो त्यस्तै हुन्छ । जस्तो—पानी पर्दा रमाउन र दुःखी दुवै हुन सकिन्छ । घरमा पाहुना आउँदा सुखी र दुःखी दुवै हुन सकिन्छ । घरमा चोरी हुँदा चिन्ताले मर्न सकिन्छ तर परिश्रम गरेर कमाउने सोचेमा चित्त बुझाउन सकिन्छ ।
पाठ
गल्ती र हार दुवै हुने कुरा हुन् । तर यी सबै जीवनका पाठ भएको सोच्नुपर्छ ।
जीवनशैली
योगाभ्यास, प्राणायाम र ध्यान विचार व्यवस्थित गर्ने अत्यन्त प्रभावकारी माध्यम हुन् । यस किसिमका जीवनशैलीले मुटुरोगसँग सम्बन्धित धेरै रोगहरु नियन्त्रण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्