Logo
|
Wednesday 24th April 2024
Logo

epaper

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण : निर्णय कसले लिने ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी ओली १० दिनसम्म सघन उपचार कक्ष (आईसीयू) मा उपचार गराएर बिहीबार डिस्चार्ज भएका भएका छन्। एपेन्डिसाइटिससहित पेटको संक्रमण (पेरिटोनाइटिस) संक्रमण भएपछि प्रधानमन्त्री ओली मनमोहन थोरासिक कार्डियोभास्कुलर सेन्टरमा मंसिर १० गते भर्ना भएका थिए। डिस्चार्ज हुने बेला प्रधानमन्त्री ओलीले हात हल्लाएर आफू ठिक भएको संकेत गरे। उनी मुस्कुराए तर केही बोलेनन्।

ओलीलाई अस्पतालबाट सीधै सरकारी निवास बालुवाटार लगिएको छ। डिस्चार्जपछि प्रधानमन्त्री ओलीको उपचार टिमका संयोजक प्रा.डा.अरुण सायमीले भने, ‘केही दिन रेस्ट (आराम) लिनुपर्छ। त्यसपछि नियमित काममा जान सक्नुहुन्छ। हामी नियमित जाँच गर्छौं।’ प्रधानमन्त्री निवासमै चिकित्सकीय निगरानीमा रहने गरी डिस्चार्ज गरिएको उनले बताए।

मनमोहन सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण  श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई केही दिन आराम गर्ने सुझावसहित डिस्चार्ज गरिएको जनाएका छन्। डिस्चार्जअघि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीलाई आईसीयूमै पुगेर भेटेकी थिइन्।

डा. सायमीले भने, ‘प्रधानमन्त्रीज्यूलाई यहाँ ल्याउँदा हामी बढी चिन्तित थियौं। त्यो अवस्थामा सर्जरी गर्नु हाई रिस्क (उच्च जोखिम) को कुरा थियो। भाग्यबस उहाँको आत्मबलका साथै समयमा अस्पताल पुगियो। नेपाली जनताको शुभकामनाले १० दिनभित्रमा सामान्य भएर जानुभयो। तत्कालको समस्या सकियो।’

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.सायमीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे भने आफूले केही भन्न नसक्ने जनाए। उनका अनुसार प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहसहितको चिकित्सकीय टिमले प्रत्यारोपणसम्बन्धी निर्णय गर्नेछ। ‘मुटु र फोक्सो त ठिक छन्,’ उनले भने।

प्रत्यारोपणको जिम्मा प्रधानमन्त्रीमै

एपेन्डिसाइटिसको शल्यक्रियापछिको घाउ, औषधिलगायतका पक्षलाई प्रधानमन्त्री ओलीको शरीरले कसरी ग्रहण गर्छ त्यही आधारमा स्वास्थ्य अवस्थाको यकिन हुने निजी चिकित्सक डा. शाहले बताइन्।

प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमता ह्रास भएकाले नियमित डायलासिस हुँदै आएको छ। वरिष्ठ मिर्गौला रोग विशेषज्ञसमेत रहेकी डा. शाहले भनिन्, ‘जरुरत पर्‍यो भने डायलासिस गर्छांै। त्यसपछि बिस्तारै सबै कुराको तयारी गरी भविष्यमा मिर्गौलाको प्रत्यारोपण गर्छौं।’

ओलीको १२ वर्षअघि भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोेलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। ‘नियमित डायलासिस भविष्यमा पनि गर्नुपर्ने हुन सक्छ। नियमित डायलासिस झन्झटिलो हुने हुनाले प्रत्यारोपण गर्दा सहज हुन्छ। स्वास्थ्यलाभ पनि राम्रो हुन्छ’, डा.शाहले भनिन्। प्रधानमन्त्री ओलीको एक महिना अवधिमा सात पटक डायलासिस भइसकेको छ।

प्रधानमन्त्रीको व्यस्तताका कारण नियमित डायलासिस फिट हुन नसक्ने डा. शाहको भनाइ छ। ‘भविष्यमा पूरै छलफल गरी के गर्ने भन्ने ठ्याक्कै निर्णयमा पुग्नुपर्ने हुन्छ’, उनले भनिन्।

एपेन्डिसाइटिसको शल्यक्रियाका कारण प्रत्यारोपण तत्काल नहुने टुंगोमा चिकित्सक पुगेका छन्। डा. शाहले भनिन्, ‘मिर्गौला प्रत्यारोपण भनेको गल ब्लाडर (पित्तथैली) को अपे्रेसन गरेजस्तो होइन। धेरैे चिजको जाँच गर्नुपर्ने हुन्छ। यसमा इम्युनोलोजिकल र बायोकेमिकलको जाँच गर्नुपर्ने हुन्छ। शरीर पनि एकदमै फिट पार्नुपर्ने हुन्छ। पूर्ण रूपमा तयार पारेपछि मात्र प्रत्यारोपण गर्नुपर्ने हुन्छ।’

एक महिनाभित्र प्रत्यारोपण हुन नसक्ने डा. शाहको भनाइ छ। ‘यही मितिमै प्रत्यारोपण हुन्छ भनेर यकिन गर्न सकिँदैन। अनुकूल समय मिलाउँछौं। अनि प्रत्यारोपणमा जानुपर्ने हुन्छ’, डा. शाहले भनिन्। प्रत्यारोपणका लागि तयारी अवस्थामा सम्भवतः दुई–तीन महिना लाग्न सक्ने चिकित्सकको आँकलन छ। तर, त्यसका लागि प्रधानमन्त्री ओलीको स्वास्थ्य कस्तो रहन्छ ? त्यसमा निर्भर रहने चिकित्सकले बताए।

मिर्गौला प्रत्यारोपण स्वदेशमा गर्ने कि विदेशमा भन्ने कुराको निर्णय गर्न बाँकी रहेको डा. शाहले जानकारी दिइन्। ‘प्रत्यारोपण कहाँ गर्ने त्यो निर्णय हुन बाँकी छ’, उनले भनिन्। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण कहाँ गर्ने भन्ने विषयमा आफ्नो एकल निर्णय नहुने उनले बताइन्। ‘प्रत्यारोपणको निर्णय म एक्लैले गर्ने होइन। प्रधानमन्त्री, उहाँको पार्टी र परिवार सबैलाई राखेर गर्नुपर्छ। निर्णयमा पुग्ने कुरा सामूहिक छलफलबाट हुन्छ’, डा. शाहले प्रस्ट्याइन्, ‘मैले उहाँलाई के राम्रो हुन्छ र के उपचार गर्नुपर्छ भनेर सल्लाह दिन सक्छु। हामीले सल्लाह दिनेसम्म हो। सम्भवतः सिंगापुर र अमेरिका जाँदैनौं होला।’

पहिलो प्रत्यारोपणभन्दा दोस्रो मिर्गौला प्रत्यारोपणमा अलि बढी जोखिम हुने भनाइ डा. शाहको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक साताअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चासो देखाउँदै उपचारमा सहयोग गर्न तयार रहेको पत्र पठाएका थिए।

‘डायलासिसको पनि टुंगो भएन’

मनमोहन सेन्टरमा डायलासिस गर्नुअघि ग्रान्डी इन्टरनेसनल अस्पतालमा डायलासिस हुँदै आएको थियो। गत कात्तिक १३ गते पहिलो पटक डायलासिस गरिएको थियो। त्यसपछि कात्तिक १४, कात्तिक ३०, मंसिर ८ गते गरी चारपटक ग्रान्डी इन्टरनेसनलमा डायलासिस गरिएको थियो। सेन्टरमा भर्ना भएपछि तीनपटक डायलासिस गरिएको छ। मनमोहनमा डायलासिस नभएपछि त्रिवि शिक्षण अस्पतालबाट ल्याएर डायलासिस गरिएको थियो। उपचारमा संलग्न एक चिकित्सकका अनुसार ग्रान्डी जाने बाटो बिग्रेकाले प्रधानमन्त्रीले डायलासिस अन्यत्रै गर्न चाहेका छन्। ‘बालुवाटारमा डायलासिस मेसिन छैन। प्रधानमन्त्रीले नै ग्रान्डीमा जाने बाटो बिग्रेको बताउनुभएको छ। आगामी डायलासिस कहाँ गर्ने हो टुंगो लागेको छैन’, उपचारमा संलग्न एक चिकित्सकले भने।

अस्पताल स्रोतका अनुसार ओलीको शल्यक्रियासहित १० दिन अस्पतालको आइसीयूमा उपचार गर्दा दुई लाख ५४ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको हो। सरकारी अस्पताल भएकाले उनको उपचार कम पैसामै भएको स्रोतको दाबी छ। प्रधानमन्त्रीको उपचार खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भुक्तानी गरेको छ।

त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा.रमेशसिंह भण्डारी, डा.पलेस्वाँ जोशी लाखेसहितको टोलीले प्रधानमन्त्रीको एपेन्डिसाइटिस शल्यक्रिया गरेको थियो।

सचिवालयको भूमिकाप्रति असन्तुष्ट

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललगायतका सचिवालयका सदस्यको भूमिकाप्रति उपचारमा संलग्न चिकित्सकले असन्तुष्टि जनाएका छन्।

सघन उपचार कक्ष (आईसीयू) मा उपचारमा रहेका बेला पटकपटक जाने र जबरजस्त प्रवेश गर्न खोजेकोमा चिकित्सकले असन्तुष्टि जनाएका हुन्। ‘आईसीयूमै रहेका प्रधानमन्त्रीज्यूलाई दक्षिण एसियाली खेलकुद (साग) मा लाइभ हेरिरहेको देखाउने तयारी सल्लाहकारको रहेछ। आईसीयूबाट आमसमुदायमा देखाउन हुने कि नहुने ?  परामर्श नै गरिएन। डा.सायमी सरले चिकित्सकीय नम्र्सबारे सम्झाउनुपरेको थियो’, एक चिकित्सकले भने।

प्रधानमन्त्री ओली पनि सफाचट नभई लाइभमा प्रस्तुत हुन नचाहेपछि लाइभ देखाउने कार्यक्रम तत्काल स्थगित भएको थियो। सल्लाहकारकै सुझावअनुसार प्रधानमन्त्री ओलीले ट्याबमा साग उद्घाटन कार्यक्रम हेरेको बताइएको थियो। सोही क्रममा उनले आफ्नो स्वास्थ्य सुधार हुँदै गएको भिडियो सन्देश सचिवालयले सार्वजनिक गरेको थियो।अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्