Logo
|
Wednesday 24th April 2024
Logo

epaper

आँखामा भएको समस्याको अवस्था र जटिलताका आधारमा चिकित्सकको परामर्श लिन जरुरी



डा. भाइराजा श्रेष्ठ कर्निया स्पेशलिष्ट एवं दृष्टि आई केयर सिस्टमअन्तर्गत सञ्चालित दृष्टि आँखा अस्पतालको कार्यकारी निर्देशक हुनुहुन्छ । यो अस्पतालले देशभर आँखा उपचारको सञ्जाल विस्तार गरिरहेको छ । सन् २०१३ बाट झापाको मेचि दृष्टि आँखा अस्पतालबाट शुरु भएको आँखा उपचारको सञ्जाल बीरगञ्ज दृष्टि आँखा अस्पताल हुँदै काठमाडौंमा जमल, चावहील, कलंकी, बानेश्वर र टोखा गरी ८ ठाउँमा छ । यी सेन्टरहरुबाट एक वर्षमा एक लाख ५० हजारको आँखा उपचार हुने गरेको छ । अहिलेसम्म ५ लाखसम्मको आँखा उपचार गरिसकेको छ । आँखाको शल्यक्रिया झापामा वर्षमा ४ हजार र बीरगञ्जमा पनि सोही अनुपातमा हुने गरेको छ । सबै ठाउँमा गरी अहिलेसम्म ४० हजारको हाराहारीमा आँखाको शल्यक्रिया भइसकेको छ । यसमा मोतियाबिन्दु, रेटिना, अकुलोप्लाष्टी, आँखाको नानी (कर्निया) प्रत्यारोपण आदि रहेका छन् ।

आँखाको नानी (कर्निया) प्रत्यारोपणमा के कस्ता नयाँ सुधार आएका छन् ?
पहिला सिंगै नानी निकालेर फेरिन्थ्यो । अहिले त्यस्तो हुँदैन । नानीको समस्याग्रस्त झिल्लीमात्र पनि फेरिन्छ । यसलाई पार्सियल ट्रान्सप्लान्ट भनिन्छ । नानी फेरिसकेपछि फेल हुने सम्भावना कम हुन्छ ।
आँखाका बिरामीहरु बढेका हुन् वा पहिचान भएका हुन् ?
आँखाका बिरामीहरु बढ्नुमा रोग पहिचान एउटा पाटो हो भने बढ्दो मधुमेह, उच्चरक्तचाप, बाथलगायतका समस्याले पनि आँखाको पर्दालाई असर पुर्याइरहेको हुन्छ । यसैगरी बूढेसकालका कारण पनि आँखाको पदार्थमा समस्या ल्याउँछ ।
आँखाको नानी (कर्निया) मा समस्या देखिएमा प्रत्यारोपण नै एक मात्र विकल्प हो ?
कर्निया भनेको सिसाजस्तै पारदर्शी आँखाको बाहिरी झिल्ली हो । देख्ने शक्ति लेन्सले भन्दा पनि धेरै कर्नियाले प्रदान गरिरहेको हुन्छ । यसमा सानो दाग आएमा पनि राम्रो सँग देख्न सकिदैन । यसका लागि प्रत्यारोपण नै एक मात्र विकल्प हो । सुन्निएर या घाउले गर्दा भएको समस्यामा औषधि प्रयोग गरेर निको पार्न सकिन्छ ।
आँखाको नानीमा दाग बस्ने के कारण हो ?
आमाको गर्भमा रहँदा आँखाको संक्रमण, चोटपटक, संक्रमणका कारण नानीमा इन्फेक्सन भएर घाउ निको नभएमा आँखाको नानीमा दाग बस्नसक्छ । संक्रमणका कारण घाउ निको नभएमा नानीलाई नै निकालेर अर्को नानी प्रत्यारोपण गर्नुपर्छ । कर्नियल अल्सरमा पनि प्रत्यारोपण नै विकल्प हो । आँखाको नानीको घाउ निको पार्न नसकिएमा पनि आँखाको नानी प्रत्यारोपण गर्नुपर्छ । यसरी आँखाको नानीमा भएको समस्याको अवस्था र जटिलताका आधारमा के गर्ने भनेर सम्बन्धित चिकित्सकको परामर्श लिन जरुरी हुन्छ ।
कस्तो अवस्थामा नानी प्रत्यारोपणपछि पनि राम्रोसँग देख्न सकिन्छ ?
बिरामीको रेटिना र अप्टिक नर्भ राम्रो भएको र आँखाको नानीको दागका कारणले मात्र नदेखेको हो भने नानी प्रत्यारोपणपछि व्यक्तिले राम्रोसँग देख्नसक्छ ।
अत्यमा यहाँको के सुझाव छ ?
आँखाको नानीमा भएको संक्रमणलाई हेलचेक्र्याइ गर्न हुँदैन । आँखा रातो र बत्तिमा हेर्न गारो भएमा आँखा रोग विशेषज्ञलाई देखाउनुपर्छ । आँखा रातो भएर चिलाउने समस्यामा आफूखुशी औषधि पसलबाट औषधि ल्याएर प्रयोग गर्न हुँदैन । औषधिको डोज नमिलेमा आँखाको नानी ड्यामेज हुने भएकाले दृष्टि गुमाउनुपर्ने अवस्था आउनसक्छ । बच्चा जन्मिसकेपछि एकपटक अवश्य आँखा जाँच गराउनुपर्छ । बिद्यालय भर्ना हुनुअघि आँखाको परीक्षण गर्ने परिपाटीको विकास गर्न जरुरी छ । बालबालिकाहरुलाई तिखा घोच्ने कुराबाट टाढा राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्