Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नेपालमा आँखा सेवाको गुणस्तर



जनस्वास्थ्य सरोकार, काठमाडौँ । हाम्रो छिमेकी देशका विभिन्न प्रान्तीय राज्यको तुलनामा नेपालमा आँखा सेवाको गुणस्तर राम्रो छ । नेपालका धेरैजसो आँखा अस्पतालहरु तराई भेगमा भारतीय सीमा क्षेत्र नजिक छन् । खासगरी बिहार, उत्तरप्रदेश, झारखण्ड, पश्चिम बंगाल, आसाम, भुटान, दार्जि्लिङ, सिक्किम आदि ठाउँहरुबाट आँखा उपचारका लागि धेरै संख्यामा आँखाका बिरामीहरुको घुँइचो हुने गर्छ । भारतमा गरीबीको रेखामुनि रहेका जनतालाई निःशुल्क उपचार सेवा उपलब्ध हुने भएपनि नेपालमा शुल्क तिरेर आँखा उपचारका लागि आउने गरेका छन् । यसमा उपचारमा सहजता, आँखा उपचारको उच्च गुणस्तर र न्यून शुल्क नै हो ।
मुलुकमा अन्तर्राष्ट्रिय दातृ राष्ट्रहरुको प्रत्यक्ष संलग्नतामा आँखा अस्पताल र आँखा उपचार केन्द्रहरु हुनुभन्दा पहिला वीर अस्पताल, गण्डकी अञ्चल अस्पताल पोखरा, कोशी अञ्चल अस्पताल बिराटनगर र झापाको भद्रपुर अस्पताल जस्ता सरकारी अस्पतालहरुमा आँखा विभाग भएपनि अहिले सबै प्राय बन्द छन् । एकिकृत स्वास्थ्य सेवा नीति अनुरूप नेपाल सरकारका प्राथमिक देखि उच्च स्वास्थ्य इकाईहरूमा आँखा सेवा पनि समाविष्ट गरिनुपर्दछ ।
अहिले देशमा ३ सय ५० जना नेत्र विशेषज्ञ रहेका छन् । प्रतिवर्ष ५० जनाको दरले थपिदै गएको अवस्था छ । यसरी उत्पादन भएका चिकित्सकहरुको कार्य दक्षता र क्षमता हेर्दा निकै सन्तोषजनक पाइन्छ । सबैले गुणस्तरीय सेवा प्रदान गरेका छन् । हालै योग्यता प्राप्त चिकित्सकलाई अनुभवी वरिष्ठ चिकित्सकको निरीक्षणमा काम गर्ने र सीपको विकास गर्ने अवसर प्रदान गर्नु पर्दछ । गुणस्तर सेवाको निरन्तरताको निमित्त यो नितान्त आवश्यक छ ।
नेपालका आँखा विशेषज्ञहरु अरु देशका चिकित्सकहरुको तुलनामा धेरै काम गर्न रुचाउँछन् । नेपालका आँखा विशेषज्ञहरुले प्रतिदिन ८० जनाको भन्दा बढी सल्यक्रिया गर्ने गरेका छन् । काम नसकेसम्म शल्यक्रिया निरन्तर जारी हुन्छ । उनीहरु अत्यन्त व्यस्त हुन्छन् । डाक्टरहरुले धेरै काम गरेको हुनाले ३० वर्षको दौरानामा नेपालमा अन्धोपनाको बृद्धि आधा घटेको छ । शुरुमा सन् १९८१ मा ०.८४ प्रतिशत रहेको अन्धोपनाको समस्या अहिले सन् २०१० को र्याप सर्भे अनुसार ०.३५ प्रतिशतमा घटेको छ । यो नतिजा सम्पूर्ण विश्वको निमित्त नै उदाहरणीय दृष्टान्त बनेको छ ।
गुणस्तरीय सेवा प्रदान गर्न विषयगत ज्ञान, सीप मात्र होइन मानवीय संवेदनशीलता समेतमा ध्यान दिनुपर्छ । कुनै पनि बेला सेवा गर्न तत्पर हुनुपर्छ । बिरामीसँग एउटै भाषामा बोल्नुपर्छ । डाक्टरले बोलेको भाषा बिरामीले नबुझेको अवस्थामा बिरामीको वास्तविक समस्या पहिचान हुन सक्दैन । न त सेवाले सन्तुष्टि प्रदान गर्दछ । यस तर्फ पनि चिकित्सकले ध्यान केन्द्रित गर्न जरुरी छ । जनशक्तिको उत्पादन गरेर मात्र गुणस्तर पुग्दैन । चिकित्सकको नयाँ भिजन, अनुसन्धानद्वारा नयाँ आविष्कार गर्ने आदत चाहिन्छ । टेक्नोलोजीको विकास भइरहेकाले खोज र अध्ययनलाई निरन्तरता दिनुपर्छ । आफू अप टु डेट रहनुपर्छ । यसका साथै चिकित्सकले सबैलाई समान सेवा दिनुपर्छ । आँखा शिविरहरूमा गरिएको शल्यक्रियाको पनि अनुगमन वा फलोअप हुन जरुरी छ । बिरामीको भिजनमा सुधार भएनभएको र जटिलताहरू आएकाछन् कि भनी ख्याल राख्नुपर्छ । र्याब सर्भेको तथ्यांक अनुसार शल्यक्रिया गरेर लेन्स राखिसकेका करिब १० प्रतिशतको दृष्टि कम हुन थाल्छ । अस्पताल र शिविरमा दिइने सेवा एउटै गुणस्तरको हुनु पर्छ । गुणस्तर कायम गर्न अनुगमन जरुरी हुन्छ ।
(करिब २५ वर्षदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रा.डा.बद्री बढू हाल नेपाल अप्थाल्मिक सोसाइटीको अध्यक्ष हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्