Logo
|
Friday 29th March 2024
Logo

epaper

अन्धोपन गराउने प्रमुख कारण डायबेटिक रेटिनोप्याथी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । मधुमेहको समस्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । पहिला मधुमेह भन्ने शव्द कम सुनिन्थ्यो । अहिले यो शव्द सामान्य बनिसकेको छ । खासगरी सहरी क्षेत्रका प्रत्येक घरमा कम्तिमा पनि एकदुइजना मधुमेह भएका व्यक्तिहरु भेटिन थालेका छन् । मधुमेहले आँखाको पर्दामा गर्ने असरलाई डायवेटिक रेटिनोप्याथी भनिन्छ । खासगरी डाइवेटिक रेटिनोप्याथी आँखाको भित्री भाग र आँखाको पर्दामा असर गर्ने समस्या हो । मधुमेहका व्यक्तिलाई अन्धोपन गराउने प्रमुख कारण डायवेटिक रेटिनोप्याथी हो । मधुमेह भएका व्यक्तिमा मात्र डाइवेटिक रेटिनोप्याथीको समस्या देखिन्छ । त्यसकारण मधुमेहको समस्या बढ्दै गर्दा डाइवेटिक रेटिनोप्याथीका बिरामीको संख्या पनि बढिरहेका छन् । मधुमेहले आँखामा सुक्खापनदेखि मोेतियाबिन्दु छिटो हुने, जलबिन्दु एवं आँखाको नशाको समस्या गराउँछ । यस प्रकारको समस्या मधुमेह भएका व्यक्तिलाई अलि धेरै हुने गर्छ ।

मधुमेह भएका व्यक्तिहरुमध्ये एक तिहाई (३३ प्रतिशत) लाई डायबेटिक रेटिनोप्याथीको समस्या हुने गर्छ । डायबेटिक रेटिनोप्याथी भएका एक तिहाई (३३ प्रतिशत) लाई तुरुन्त आँखाको उपचारको जरुरत पर्छ । हामीले गरेको विभिन्न अध्ययनले हाम्रो देशमा मधुमेह भएका व्यक्तिहरुमध्ये २० देखि २५ प्रतिशतमा डायबेटिक रेटिनोप्याथी भएको पाएका छौं । विकसित मुलुकहरुमा मधुमेह पहिचान हुँदासम्म ५ प्रतिशतलाई आँखामा असर पुगिसकेको विभिन्न अध्ययनहरुले देखाएको छ । हाम्रो देशमा दुइगुणा बढी अर्थात १० देखि १३ प्रतिशतसम्मको आँखामा असर आएको पाइएको छ । हस्पिटलमा गरिएको अध्ययनको आँकडमा मधुमेह पहिचान भइसक्दा १३ प्रतिशतलाई डायबेटिक रेटिनोप्याथी हुनेगरेको देखिएको छ । भक्तपुर रेटिना स्टडीले मधुमेह भएका ६० वर्षभन्दा माथि उमेरका नयाँ मधुमेह भएका व्यक्तिहरुमा गरेको अध्ययनले ७ प्रतिशतमा आँखाको रेटिनामा असर गरिसकेको देखाएको छ । यसको मुख्य कारण मधुमेह समयमा पत्ता नलाग्नु हो ।

टाइप वान (पहिलो प्रकार) र टाइप टु (दोस्रो प्रकार) गरी मधुमेह दुई प्रकारका हुन्छन् । टाइप वान मधुमेह ३० वर्ष भन्दा अगाडिका व्यक्तिमा देखिन्छ । यसमा इन्सुलिनको उत्पादन हुँदैन् । यो बच्चाहरुमा देखिन्छ । टाइप टु मधुमेह ३० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई देखिन्छ । यस प्रकारको मधुमेहमा इन्सुलिन उत्पादन भएपनि राम्रोसँग काम नगर्ने भएकाले रगतमा ग्लुकोजको मात्र बढ्दै जान्छ । टाइप वान (पहिलो प्रकार) मधुमेह भएका व्यक्तिहरुमा २० वर्षको अवधिमा करिब सबैमा डाइवेटिक रेटिनोप्याथीको समस्या हुने गरेको पाइन्छ भने टाइप टु (दोस्रो प्रकार) को मधुमेहमा पनि २० वर्षको अवधिमा कम्तिमा दुई तिहाई अर्थात ६०—७० प्रतिशतमा आँखामा असर आइसकेको हुन्छ । मधुमेह हुनबित्तिकै आँखामा असर परिहाल्ने त होइन तर समयमा रोग पत्ता नलाग्ने कारण डायबेटिक रेडिनोप्याथीको समस्या देखिने गरेको छ । यसका साथै मधुमेह भएको समयावधि बढ्दै जाँदा शरीरको ग्लुकोज तह नियन्त्रण भएपनि आँखामा असर आउने सम्भावना रहन्छ । त्यसैले लामो समयदेखि मधुमेह भएका व्यक्तिले वर्षमा एकपटक आँखाको जाँच गराउनुपर्छ । शरीरको ग्लुकोज, उच्चरक्तचाप, कोलेस्टेरोल नियन्त्रण नभएमा आँखाको पर्दाको रगतको नसाहरुमा असर पर्छ । मधुमेह नियन्त्रण भएपनि उच्चरक्तचाप र खराब कोलेस्टेरोल उच्च भएमा आँखामा छिटो क्षति पुग्छ । मधुमेहले मिर्गाैलामा असर गरिसकेका व्यक्ति, गर्भवती महिला, रक्त अल्पताका बिरामी, धुम्रपान गर्ने व्यक्तिहरुमा डायवेटिक रेडिनोप्याथी छिटो हुने गर्दछ ।
माइल्ड, मोडरेट, सिभियर नन्प्रोलिफेरेटिभ गरी डाइबेटिक रेटिनोप्याथी विभिन्न चरणमा पुगेको हुन्छ ।

माइल्ड नन्प्रोलिफेरेटिभ डायवेटिजमा रेटिनोप्याथीमा आँखाको पर्दामा सानो रगतको छिक्रा आउन सक्छ । मोड्रेटमा केही बढी हुन्छ । सिभियर नन्प्रोलिफेरेटिभ डायबेटिक रेटिनोप्याथीमा आँखाको पदार्थको चारै खण्डमा रगत आउँछ । समयक्रमअनुसार, आँखाको रेटिनामा रगतको आपूर्ति कम हुँदै गर्दा रेटिनामा नयाँ रगतको नशा पलाउन थाल्छ । यसले तुरुन्त रक्तश्राब भएर आँखामा बिस्तारै धेरै रगत भरिने र आँखाको पर्दा खुम्चिन थाल्छ । माइल्ड र मोड्रेटको अवस्थामा बिरामीमा लक्षण नै देखिदैन । कतिपय अवस्थामा सिभियर नन्प्रोलिफेरेटिभ डायवेटिक रेटिनोप्याथी भएको अवस्थामा पनि लक्षण नदेखिनसक्छ । आँखामा अत्यधिक रक्तश्राब अथवा पर्दाको रगतको नसाबाट रगत मात्र नभई चिल्लो पनि निष्कासन भएको अवस्थामा सो चिल्लोले आँखाको भित्री भाग म्याकुला (देख्ने मुख्य केन्द्र) मा आक्रमण गर्छ । चिल्लो जम्मा भएपछि म्याकुला सुनिन्छ र आँखाले धमिलो देख्न थाल्छ । समयमा उपचार नपाएमा अपरेशन पछि पनि राम्रो नजर फर्काउन सकिदैँन ।

त्यसैले मधुमेह पत्ता लाग्ने वित्तिकै आँखाको पर्दाको जाँच गर्नुपर्छ र आँखामा असर नभएमा वर्षमा एकपटक जाँच गराउन जरुरी हुन्छ । यसका साथै मधुमेह, उच्चरक्तचाप, कोलेस्टेरोल नियन्त्रणमा राख्न जरुरी हुन्छ । गर्भावस्थाका महिलाहरुले ३ महिनाको फरकमा आँखा जाँच गराउनुपर्छ । आँखामा डायबेटिक रेटिनोप्याथीको समस्या भएका व्यक्तिहरुले समस्याको गम्भीरता अनुसार चिकित्सकले दिएको तालिका अनुसार आँखा जाँच गराउनुपर्छ । यसका साथै धुम्रपानबाट टाढै रहनुपर्दछ । सन्तुलित भोजन, शारीरिक व्यायाम, तनाब कम गर्ने, नियमित औषधि सेवन र शारीरिक परीक्षण गर्नाले रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न सहयोग गर्दछ । यसका लागि चिकित्सकको निगरानीमा बस्नुपर्छ । मिर्गौलामा असर भएका व्यक्ति र रक्तअल्पताको समयमै उपचार गर्नुपर्छ । रेटिनामा सुजन र हानिकारक रक्तनसाको विकास भएमा शुरुको अवस्थामा आँखामा विशेष खालको लेजर उपचार गर्नुपर्छ । यसबाट दृष्टि पूर्ण रुपमा बचाउन सकिन्छ । दृष्टिपर्दामा निकै क्षति पुगिसकेको अवस्थामा आँखाभित्र दिइने विशेष सुई तथा शल्यक्रियाबाट पनि राम्रो दृष्टि फर्काउन सकिदैन । अतः मधुमेहका बिरामीले समयमै आँखा परीक्षण गराई दृष्टिबिहीन हुनबाट बच्नुपर्छ ।
(डा. थापा तिलगंगा आँखा प्रतिष्ठानमा सिनियर कन्सल्टेन्ट अप्थाल्मोलोजिष्ट, रेटिना स्पेशलिस्ट हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्