Logo
|
Thursday 25th April 2024
Logo

epaper

हाइपरटेन्सिभ रेटिनोप्याथी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । उच्च रक्तचाप (हाइपरटेन्सन) ले आँखाको पर्दा र पर्दाको रक्तकोषिकाहरुलाई क्षति पुर्याउने समस्यालाई हाइपरटेन्सिभ रेटिनोप्याथी भनिन्छ । यसले अप्टिक नर्भमा दवाव पर्छ र दृष्टिमा समस्या ल्याउँछ । एक्युट र क्रोनिक दुवै हाइपरटेन्सनले आँखालाई क्षति पुर्याउँछ । उच्चरक्तचापले आँखालाई पुर्याउने क्षतिलाई ४ ग्रेडमा विभाजन गरिएको छ । पहिलो ग्रेड र दोस्रा ग्रेडमा आँखाको पर्दाको नसा साँघुरिने, रक्तचापका कारण पर्दाको भेनमा परिवर्तन ल्याउँछ । तेस्रो ग्रेडमा नसा फुटेर आँखाको रेटिनामा रगत जम्छ । दृष्टि पर्दाको म्याकुलामा असर भएर म्याकुलर इडिमा हुन्छ । चौथो तहको हाइपटेन्सिभ रेटिनोपेथीमा रेटिनल हेमोरोइज, म्याकुलर इडिमाका साथै दृष्टिको मुख्य नसा अप्टिक नर्भमा असर गर्छ र अप्टिक नर्भ पनि सुन्निन थाल्छ । शरीरको रक्तचाप १८०/१२० भन्दा बढी भएमा आँखाका साथै मिर्गौला, मुटु, मस्तिष्कलगायतका ठाउँहरुमा हेमोरोइज हुनसक्छ । यसलाई म्यालिग्नेन्ट हाइपरटेन्स भनिन्छ । म्यालिग्नेन्ट हाइपरटेन्सनमा रेटिनोप्याथी मात्र नभएर रेटिनाको पछाडिको भाग कोरोइडमा रगत जम्ने र सुन्निने हुन्छ ।
उच्च रक्तचापले आँखामा पार्ने असर
उच्च रक्तचापले आँखाको बाहिरी आवरण मुनि तारन्तार रक्तश्राव गराउने भएकाले आँखाको सेतो भागमा रातो देखा पर्दछ । उच्च रक्तचापको मुख्य असर आँखाको दृष्टि पर्दा (रेटिना) मा पर्दछ । यसलाई हाइपरटेन्सिभ रेटिनोप्याथी भनिन्छ । उच्च रक्तचाप नियन्त्रण नभएको व्यक्तिमा दृष्टिपर्दाका रक्त नसा साघुँरिदै जाने, रक्तश्राव हुने, रेटिना तथा दृष्टि नसामा सुजन देखापरी दृष्टि निकै कमजोर हुनसक्छ । दृष्टिपर्दाको रक्तप्रवाह (धमनी) मा अवरोध हुन्छ । यसलाई रेटिनल भेन अकुल्सन भनिन्छ । यसमा रेटिनामा अत्यधिक रक्तश्राव र चिल्लो जम्मा हुने, रेटिना तथा दृष्टि नसामा सुजन भइ आँखा देख्न निकै कम हुन्छ । बेलैमा लेजर उपचार गर्नुपर्छ अन्यथा अत्यधिक रक्तश्राव हुने, आँखाको चाप बढ्ने र पर्दा उप्कन गई सँधैका लागि दृष्टि गुम्न सक्छ । दृष्टि पर्दाको रक्तप्रवाह (शीरा) मा अवरोध हुने आकस्मिक अवस्था हो । यसमा दृष्टि एक्कासी कम हुन्छ । समयमै (९० मिनेट भित्र) उपचार शुरु गरेमा केही हदसम्म दृष्टि फर्काउन सकिन्छ ।
उपचार /सावधानी
रक्तचापलाई नियन्त्रणमा राख्नुपर्दछ । बेलाबेलामा आँखा परीक्षण गराउनुपर्दछ । समयमै उपचार पाएमा धेरैजसो व्यक्तिको दृष्टि बचाउन सकिन्छ । रोगको प्रकृति अनुसार रोगको अवस्था हेरी लेजर तथा सुईद्धारा आँखाको भित्री पानी (भिट्रस) मा विशेष औषधि पठाई उपचार गर्नुपर्छ । उच्च रक्तचाप सँगै मधुमेह, रगतमा चिल्लो पदार्थको अधिकता, मिर्गाैलामा असर तथा धुम्रपान गर्ने व्यक्तिहरुको आँखामा असर धेरै देखा पर्ने हुँदा यी व्यक्तिहरुले विशेष सावधानी अपनाउनुपर्दछ । रक्तचाप हुने व्यक्तिहरुले आँखामा कुनै लक्षण नभएपनि नियमित रुपमा बर्षमा एक पटक आँखा परिक्षण गराउनु पर्दछ ।
(डा. पुजा नेपाल मेटिसिटीमा आँखा विभागको प्रमुख हुनुहुन्छ ।)

 

 

 

 

प्रतिक्रिया दिनुहोस्