Logo
|
Friday 19th April 2024
Logo

epaper

के हो मोतियाबिन्दु ?



डा. कमल खड्का, मेडिकल डाइरेक्टर/ नेपाल आँखा अस्पताल

उमेर तथा अन्य कारणले आँखाको नानीपछाडिको पारदर्शक लेन्स बादल लागेझैँ अपारदर्शक हुने र बाहिरको प्रकाश आँखाभित्रको दृष्टिपर्दासम्म पुग्न नपाई आँखाले देख्न नसक्ने अवस्थालाई मोतियाविन्दु भनिन्छ । उमेर बढ्दै जाँदा आँखामा भएको पारदर्शी लेन्समा परिवर्तन आई त्यहाँ भएको एक प्रकारको फाइवर बीचमा कम्प्याक्ट भएर बस्छ । ४० वर्षको उमेरपछि त्यसको घनत्व बढी भई बाहिरबाट आउने प्रकाश रेटिना भित्र जान पाउँदैन र धमिलो देखिन्छ । यो उमेरसँग सम्बन्धित मोतियाबिन्दु हो । तर विभिन्न कारणले फाइवर अथवा त्यसको मेटाबोलिजममा गडबड भएमा पनि मोतियाबिन्दु हुनसक्छ ।
उमेरका अलावा आँखामा लाग्ने चोटपटक, मधुमेह, कुपोषण, आँखाका अन्य संक्रमण, स्टेराइड ग्रुपका औषधिको प्रयोगले पनि मोतियाविन्दु हुनसक्छ । मिर्गौला प्रत्यारोपणमा प्रयोग गरिने इम्युनोसप्रेसिभ औषधि प्रयोग गर्नेहरुमा पनि हुनसक्छ । गर्भावस्थामा मेटाबोलिजममा असर गर्ने प्रकारको औषधि सेवन गरेका आमाबाट जन्मेका कतिपय बच्चामा पनि मोतियाबिन्दु हुनसक्छ । यसको जटिल पक्ष भनेको धमिलोपना बिस्तारै बढ्दै जानु हो । यो बढ्दै जाँदा व्यक्तिले दुवै आँखा नदेख्ने हुनसक्छ । समयमा उपचार नपाएमा मस्तिष्कमा जोडिएको अप्टिक नर्भलाई क्षति पुर्याउँछ र जीवनभर दृष्टिबिहीन जीवन व्यतित गर्नुपर्नसक्छ ।
एउटा वा दुवै आँखामा बिस्तारै धमिलोपन महसुस हुनु मोतियाबिन्दुको लक्षण हो । उमेरका कारण हुने मोतियाविन्दुमा आँखाले टाढाका वस्तुहरू हेर्दा बिस्तारै आकृति धमिलो हुँदै जान्छ र केही समयपछि पूरै नदेख्ने हुन्छ । आँखाभित्रको कालो देखिने गोलो सानो नानी खैरो वा सेतो हुँदै जानु मोतियाविन्दुको शुरुवाती लक्षण हो । सामान्यतया ४० वर्ष उमेर नाघेपछि आँखा धमिलो हुँदै जाने र कालो नानी सेतो देखिने मोतियाविन्दुका लक्षण हुन् ।
मोतियाविन्दु निको पार्ने एउटै मात्र उपाय शल्यक्रिया हो । मोतियाविन्दुको शल्यक्रिया बिरामीलाई बेहोस नबनाई केही छिनमै सम्पन्न गर्न सकिन्छ । शल्यक्रियाका माध्यमबाट जालो लागेको अर्थात् अपारदर्शक लेन्सलाई निकाली कृत्रिम लेन्स राखिन्छ, जसबाट आँखाले पहिलेजस्तै सफा देख्न थाल्छ ।

प्रतिक्रिया दिनुहोस्