Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तारमा अन्तर्राष्ट्रिय दातृ निकायहरुको भूमिका




अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालमा अन्धोपन सर्बेक्षणका लागि खेलेको महत्वपूर्ण भूमिकाले नेपालमा आँखा उपचारमा मास्टर प्लानमा सहयोग पुर्यायो । यो सर्बेक्षणमा नेदरल्याण्ड्स सरकारको ठूलो आर्थिक सहयोग छ । अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले आँखा उपचार सेवामा उन्नत प्रविधि ल्याउन पनि भूमिका खेले । नेपाल र संयुक्त राज्य अमेरिका, युरोप आदि विकसित देशमा मोतियाबिन्दुको शल्यक्रियाको परिणाम समान छ । तर ति देशको तुलनामा नेपालमा उपचार निकै सस्तो छ । आँखा स्वास्थ्य सेवाको विस्तारमा अन्तर्राष्ट्रिय दातृ निकायहरुले खेलेको उल्लेख्य भूमिकाका कारण नेपालले आँखा उपचारको क्षेत्रमा फड्को मार्न सफल भएको हो । नेपाल नेत्र ज्योति संघले सबैसँग साझेदारी गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरुलाई हरेक अञ्चल जिम्मा लगाएर काम अघि बढायो । अमेरिकाको सेवा फाउन्डेसनले लुम्बिनी अञ्चलमा काम गर्यो । जर्मनको क्रिस्टोस्फर ब्लाइन्डेस मिसन (सिबीएम) लाई सगरमाथा अञ्चल दिइयो । नेदरल्याण्डको आईकेयर फाउन्डेसनले गण्डकी, धौलागिरी, मेचि अञ्चल र कर्णाली अञ्चलमा काम गर्यो । एनएविपी नर्बेलाई सुदुर पश्चिमका अञ्चल दिइयो । फ्रेड हलोस फाउन्डेसन अष्ट्रेलियाले तिलगंगा आँखा प्रतिष्ठान एवं इन्ट्रा अकुलर लेन्स (आईओएल) फ्याक्ट्री स्थापनामा सहयोग गर्यो । यो फ्याक्ट्री तिलगंगा आँखा प्रतिष्ठानमा छ । आइओएल फ्याक्ट्रीबाट उत्पादन भएका लेन्स विश्वक ५२ वटा देशमा निर्यात हुन्छ । यसरी नेपालमा आँखा स्वास्थ्यको विकास र विस्तारमा फ्रेड हलोस फाउन्डेसन अष्ट्रेलिया, सिबिएम जर्मनी, नर्बेजियन एसोसिएसन फर पार्सलिज, सेवा फाउन्डेसन अमेरिका, आई केयर फाउन्डेसन नेदरल्याण्डजस्ता संस्थाहरुलाई सम्झनुपर्छ ।
फ्रेड होलोज फाउन्डेसन, अष्ट्रेलिया
फ्रेड होलोज फाउन्डेसन अष्ट्रेलियामा दर्ता भएको आईएनजीओ हो । यसले तिलगंगामा नेपाल आई प्रोग्रामका रुपमा काम गरिरहेको छ । त्यस अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान सञ्चालनमा छ । तिलगंगा आँखा प्रतिष्ठान आफैंमा एउटा सेन्ट्रल अफ एक्सलेन्ट हो जुन मानव जनशक्ति उत्पादनदेखि डब्ल्युएचओ कोल्याब्रेटिङ सेन्टर अर्थात डब्ल्युएचओबाट मान्यता पाएर ट्रेनिङ सेन्टरको रुपमा विकास भइसकेको छ । यसको सबैभन्दा राम्रो कुरा इन्ट्रा अकुलर लेन्स फ्याक्ट्री छ जसले आँखाको लेन्स उत्पादन गर्छ । यो नेपालमा एउटा मात्र छ र विश्वका ५२ वटा देशमा यसले इन्ट्रा अकुलर लेन्स निर्यात गर्न सफल भएको छ । न्युन मुल्यमा उच्च गुणस्तरको लेन्स उपलब्ध भइरहेको छ ।
फ्रेड होलोज फाउन्डेसनका लागि नेपाल एउटा सपनाको शुरुवात् होः फ्रेड र उनका महान साथी डा. सन्दुक रुइतको सपना । सँगै, उनीहरुले एक यस्तो संसारको कल्पना गरे जहाँ विकासशील देशहरुमा सबैले आधुनिक गुणस्तरको आँखा उपचारको पहुँच पाएका थिए । नेपालमा सयौं हजार व्यक्ति हटाउन सकिने अन्धोपनको समस्या लिएर बाँचिरहेका छन् । हाल करिब ४ लाख ६६ हजार ३ सय ८५ लाई आँखा उपचारको आवश्यकता छ र प्रत्येक वर्ष ६० हजारमा मोतियाबिन्दुको समस्या देखिने गरेको छ । आँखा उपचारको मद्धत लिन क्लिनिकहरुमा पुग्न धेरै दिन हिँड्नुपर्छ । नेपालको स्वास्थ्य अवस्था निकै दयनीय छ किनभने यहाँ सामान्य सेवाहरु पनि पर्याप्त छैनन् । नेपालमा करिब ३ सय नेत्र रोग विशेषज्ञ छन् जो धेरैजसो शहर केन्द्रित छन् । ८० को दशकको उत्तरार्धमा फ्रेड होलोज र डा. सन्दुक रुइतको भेट भयो । जब फ्रेड विश्व स्वास्थ्य संगठनका लागि परामर्श गर्दै थिए । उनीहरूले आधुनिक शल्य चिकित्सा प्रविधिहरूको माध्यमबाट विकासोन्मुख देशहरूमा हटाउन सकिने अन्धोपनालाई अन्त्य गर्ने साझा सपना बुन्दै थिए । फ्रेड र डा. रुइतले मोतियाबिन्दुको शल्यक्रियाका लागि आवश्यक अत्यावश्यक लेन्सहरू उत्पादन गर्न एउटा इन्ट्राअकुलर लेन्स कारखाना निर्माण गर्ने योजना सेट गरे । उनीहरूलाई स्थानीय तहमा उत्पादन गर्दा यसको लागत घट्ने थाहा थियो । फ्रेड डा. रूइतको सल्लाहकार बने र सिडनीमा फ्रेडसँग डा. रुइतले अध्ययन गरे । त्यसपछि फाउन्डेशनको सहयोगमा फ्रेड होलोज इन्ट्राओकुलर लेन्स प्रयोगशाला स्थापना भयो र सोही वर्ष सन् १९९४ मा इन्ट्रा अकुलर लेन्स फ्याक्ट्री स्थापना भयो ।
आइकेयर फाउन्डेसन, द नेदरल्याण्डस्
आइकेयर फाउन्डेसन सन् १९८४ सालमा नेदरल्याण्डमा दर्ता भएर ३५ वर्षअघिदेखि नेपाल लगायत विश्वका १६ राष्ट्रमा बिभिन्न सहयोग पुर्याउँदै आएको छ । यसले नेपालमा दुई ठूला आँखा अस्पतालहरु हिमालय आँखा अस्पताल, पोखरा र मेची आँखा अस्पताल, झापाको स्थापनार्थ आवश्यक सहयोग उपलव्ध गराएको छ भने विभिन्न १८ वटा प्राथमिक आँखा उपचार केन्द्रलाई सहयोग गरेको छ । नेपालको गण्डकी, धौलागिरी र कर्णाली जिल्लामा पर्ने जुम्ला, कालिकोट, हुम्ला, मुगु, लमजुड.,स्याङ्जा, तनहुँ, पर्वत, म्याग्दी, गोरखा र बाग्लुङ आँखा उपचार केन्द्रका लागि आवश्यक सहयोगहरु जुटाउँदै आइरहेको छ । यसैगरी नेपालको पूर्वीभेग पाँचथर, दमक, बनयानी, गौरादह, राजगढ र भद्रपुरका आँखा उपचार केन्द्रहरुलाई समेत सहयोग उपलव्ध गराउँदै आइरहेको छ । नेपाल नेत्रज्योति संघसँग अनवरत आवद्ध रही यस संस्थाले संघ अन्तर्गतका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरुमा आवश्यक प्राविधिक सहयोगहरु उपलव्ध गराउँदै आएको छ । विशेष गरेर यसले अस्पतालको भौतिक पूर्वाधार निर्माण गरिदिने, जग्गा खरीद गरिदिने, अप्थाल्मोजिष्ट र अप्थाल्मिक असिस्टेन्ट, अप्टोमेट्रिकहरुलाई पढाउन सहयोग गर्ने, स्कलरसिप दिने, आई सेन्टरहरु स्थापना गरिदिने भइरहेको छ । असहाय बिरामीहरुको उपचारका लागि आवश्यक पर्ने आर्थिक खर्च पनि सहयोग गरिरहेको छ । जनचेतना अभिवृद्धि गर्ने, आँखा शैक्षिक कार्यक्रमहरु सञ्चालन भइरहेको छ । नेपाल सरकारले आँखा स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने कुरामा पनि वकालत गर्दै आएको छ ।
नर्बेजियन एसोसिएसन अफ द ब्लाइन्डेस एण्ड पार्सियल्ली साइटेड (एनएबीपी, नर्बे)
नर्बेजियनले विगत ३ दशकदेखि नेपालका पिछडिएका अञ्चल सेती, महाकाली र राप्तीमा नेत्र स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ । सन् १९८५ देखि देशमा आँखा स्वास्थ्यमा काम गर्दै आएको यो करिब १ सय १८ वर्ष पुरानो संस्था हो । नेपालमा यसले नेत्रहीन व्यक्तिहरुका लागि पुनस्र्थापनाको क्षेत्रमासमेत सेवा पुर्याउँदै आएको छ । यसले राप्ती आँखा अस्पताल दाङ, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्ज र लमही आँखा अस्पताल लमही दाङ र पाँच वटा आँखा केन्द्रको माध्यमबाट आँखा स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । यसबाट बचाउन सकिने अन्धोपनको निवारण र मेडिकल उपचार गर्न सकिनेहरुको दृष्टि पुनस्र्थापनामा सहयोग पुगेको छ ।
सेभा फाउन्डेसन, संयुक्तराज्य अमेरिका
सेभाले नेपालमा सन् १९७९/१९८० देखि नेपालमा सहयोग गरिरहेको छ । शुरुमा नेपालमा अन्धोपन सर्वेक्षणमा संलग्न भयो र त्यसपछि लुम्बिनी क्षेत्रमा केन्द्रित भएर आँखा उपचार सेवा प्रदान गर्नथाल्यो । भैरहवामा श्री रण अम्बिका शाह आँखा अस्पताल स्थापना गर्यो । त्यसपछि पाल्पा, गुल्मी, अर्घाखाँची, परासी, कपिलबस्तु र बुटवललगायत लुम्बिनी क्षेत्रमा आँखा सेवालाई विस्तार गर्दै गयो । अहिले श्री रण अम्बिका शाह आँखा अस्पताल टर्सरी लेवल (आँखा उपचारको अन्तिम गन्तव्य) विकसित भएको छ । यहाँ अध्ययन अध्यपनको सुविधा पनि उपलब्ध छ । सेभाले भरतपुर नेत्र अस्पताललाई टर्सरी लेवलको आँखा अस्पतालको रुपमा विकसित गर्न मद्धत पुर्यायो । सेभाले ७७ जिल्लामध्ये २४ जिल्लामा नेपाल नेत्रज्योति संघ सँगको सहकार्यमा सहयोग पुर्याइरहेको छ । यसले नेत्रज्योति संघ मातहतका हस्पिटलहरुमा क्षमता अभिवृद्धि र अनुसन्धानमा पनि सहयोग गरिहेको छ ।
क्रिस्टोफर ब्लाइन्डेस मिसन (सिबीएम), जर्मनी
क्रिस्टोफर ब्लाइन्डेस मिसन (सिबीएम), जर्मनीले लहानमा सगरमाथा चौधरी आँखा अस्पताल खोलेको हो । यसैको विस्तारित रुपमा अहिले बिराटनगर आँखा अस्पताल सञ्चालन भइरहेको छ । यो पूर्वमा निकै राम्रो सफल अस्पतालको रुपमा देखिएको छ । यसले नेपाल नेत्रज्योति संघसँग काम गरेको हो । यसले सन् १९८२ देखि नेपालमा काम गरिरहेको छ ।
यसका साथै हिमालयन क्याट्राक प्रोजेक्ट संयुक्त राज्य अमेरिकाले तिलगंगामा काम गरेको थियो । यसैगरी स्वीस रेडक्रसले आँखा अस्पताल र हेलर किलर इन्टरनेशनल, संयुक्त राज्य अमेरिकाले पोषणको क्षेत्रमा काम गरेका थिए । (गोर्खाली आईकेयर फाउन्डेसनको कन्ट्री डिरेक्टर र एपेक्स वडी फर आई हेल्थको सदस्य, हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्