Logo
|
Friday 19th April 2024
Logo

epaper

दृष्टि पर्दामा असर

मधुमेह, उच्चरक्तचाप, मायोपियाको समस्या, क्षयरोग, स्टेरोइड जस्ता औषधिहरुको सेवन गरिरहेका व्यक्तिहरुले नियमित आँखा जाँच गराउन जरुरी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । आँखाको लेन्सभन्दा पछाडिपट्टी हुने भिट्रियस जेलीको पछाडि रहेको भित्री तहलाई रेटिना भनिन्छ । आँखाको नानीको ठीक पछाडि लेन्स हुन्छ । रेटिना पातलो झिल्ली जस्तै हुन्छ । त्यसैले यसलाई दृष्टि पर्दा पनि भन्ने गरिन्छ । रेटिना बाहिरबाट गएको प्रकाश छिरेर लेन्सबाट फोकस हुने ठाउँ हो । रेटिना आँखामा भएपनि यो मस्तिष्कको एउटा तन्तु नै हो । त्यसैले रेटिनालाई स्नायु तन्तुको एउटा पर्दाको रुपमा लिने गरिन्छ । यसको सम्बन्ध सिधै मस्तिष्कसँग हुने भएकाले आँखाको जाँच गर्दा मस्तिष्कभित्र कुनै समस्या भएको आशंका भएमा सम्बन्धित न्यूरो विशेषज्ञकहाँ सिफारिस गरिन्छ । उपकरणको माध्यमबाट रेटिना (दृष्टी पर्दा) लाई प्रत्यक्ष भिज्युअलाइज पनि गर्न सकिन्छ । त्यसैले यसलाई शरीरमा लाग्ने विभिन्न रोग देखिने ऐना पनि भन्न सकिन्छ । यसका लागि स्पेशल क्यामरा एवं लेन्सको जरुरत पर्छ ।
रेटिनालाई असर पार्ने रोग
– मधुमेह
-आँखामा चोटपटक
– उच्च रक्तचाप
-विभिन्न संक्रमण (क्षयरोग, भिरिङ्गी, कुष्ट रोग आदि)
-भाइरस
– व्याक्टेरिया
– टक्सोप्लाज्मा
– जन्मजात रोग
समय नपुगी जन्मेका बालबालिकाहरुमा रेटिनोप्याथी हुने सम्भावना रहन्छ । मधुमेहले आँखाको रेटिनामा भएका रगतका नशाहरुमा धेरै प्रभाव पार्छ । रेटिनामा रगतका स—साना कोशिकाहरु धेरै हुने र शरीरका अन्य अंगको तुलनामा रेटिना सँधै सक्रिय रहने भएकाले कोषिकाहरुलाई मधुमेहले चाँडै आक्रमण गर्छ । मधुमेहले असर गर्न थालेपछि शुरुमा रेटिना सुन्निने, असामान्य रक्तकोषिका बन्ने र आफैं फूटेर रक्तश्राब हुन्छ । यो खुम्चिन थालेपछि पर्दा उक्किने वा एकै ठाउँमा डल्लो पर्नेजस्ता समस्या पनि देखिन सक्छ । यस्तो अवस्थामा आँखामा बिस्तारै धमिलोपन देखिन शुरु हुन्छ । काला छायाँहरु उडेको जस्तो देखिन्छ किनभने भिट्रिएस जेलीहरुमा ब्लिडिङ भएमा आँखाको पानी त्यहीँ वरिपरी घुमिरहन्छ र बाहिर हेर्दा बिरामीले कालो छायाँ (फ्लोटस्) देख्छ । कालान्तरमा अन्धो हुने सम्भावना रहन्छ ।
लक्षण
-दृष्टी धमिलो हुने
– छायाँ देखिने
– घाममा हेर्न गारो
रोग पहिचान
रोगको पहिचान गर्न आँखाको अल्ट्रासाउन्ड, ओसिटी (अप्टिकल टोमोग्राफी), एन्ओिग्राफीका साथै रगत जाँच गर्नुपर्छ । आँखाको रेटिना समस्या भएका बिरामीहरुको नानी फुलाएर हेर्दा आँखाको नसा र रक्तनली, म्याकुलामा रक्तश्राब हुने गर्छ । आँखाको नसा सुन्निने भएकाले रेटिना उब्किएको जस्तो देखिन्छ । निश्चित ठाउँहरुमा नानी फूलाउने औषधि आँखामा हालेर १०—१५ मिनेटपछि स्पेशल उपकरणको प्रयोग गरी समस्या पहिचान गरिन्छ । मधुमेह, उच्चरक्तचाप जस्ता दीघ रोग भएका व्यक्तिहरुले नियमित स्वास्थ्य जाँच गरेर सम्भाविता खतरा न्युनिकरण गर्न सकिन्छ ।
उपचार
रेटिनाको समस्यामा रोगको प्रकृति र अवस्था अनुसार औषधि, लेजर, इन्जेक्सन र सर्जरीको जरुरत पर्छ । क्षयरोग, अटोइम्युन डिजिजलगायतका संक्रमणहरुमा औषधिहरुको प्रयोग गरेर रोग निको पारिन्छ । कतिपय अवस्थामा लेजर, इन्जेक्सन र सर्जरीको जरुरत पर्नसक्ने भएकाले सम्बन्धित चिकित्सकको सल्लाह अनुसार उपचार गराउन जरुरी हुन्छ ।
रोकथाम
रेटिनामा लाग्ने धेरैजसो रोगहरु दृष्टिसँग सम्बन्धित हुने भएकाले धमिलो देखिने, बांगोटिंगो देखिने, अचानक काला छायाँहरु अर्थात किराहरु उडेको जस्तो देखिने, आँखाको कर्नरबाट झिल्का देखिने, कलर छुट्याउन नसक्ने जस्ता समस्या भएमा तुरुन्त आँखा जाँच गराउनुपर्छ । अन्यथा पर्दा च्यातिने सम्भावना धेरै हुन्छ । मधुमेह, उच्चरक्तचाप, मायोपियाको समस्या, क्षयरोग, स्टेरोइड जस्ता औषधिहरुको सेवन गरिरहेका व्यक्तिहरुले नियमित आँखा जाँच गराउन जरुरी हुन्छ ।समयमा आँखा जँचाएर समयमा उपचार गराएमा धेरै हदसम्म आँखा बचाउन सकिन्छ । (प्रा.डा. सुवेदी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कन्सल्टेन्ट आँखा रोग विशेषज्ञ हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्