Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नाकमा देखिने समस्या र समाधानका उपायहरु



 

डा. बिरोज न्यौपाने/ नाक, कान, घाँटी विशेषज्ञ, ओम अस्पताल एण्ड रिसर्च सेन्टर 

जनस्वास्थ्य सरोकार, काठमाडौँ । यतिवेला देशभर चिसो ह्वात्तै बढिरहेको छ । कतै भारि हिमपात त कतै लगातार शितलहर । जाडो मौसममा अधिकांश मानिसहरुलाई रुघाखोकीले बढी सताउने गर्दछ । के तपाईहरु पनि रुघाखोकीलाई सामान्य ठानी हेलचेक्र्याई गरेर बसिरहनुभएको त छैन ? यदि छ भने समयमै उपचार गराइहाल्नुस् । रुघाखोकी, हाछ्युँ र एलर्जीलाई समयमै उपचार गरिएन भने यसले नाकलाई गम्भिर असर पुर्याउनसक्ने चिकित्कसहरु बताउँछन् ।
नाक मानव शरीरको पाँच ज्ञानेन्द्रिय मध्ये एक महत्वपुर्ण अंग हो । विशेषगरी श्वास फेर्न र गन्ध थाहा पाउन नाकले महत्वपुर्ण भुमिका खेल्दछ । यसका अलावा डिफेन्स् मेकानिज्ममा (आन्तरिक शक्ति) पनि नाकका अहम भुमिका रहन्छ ।
नाक, कान र घाँटी एकआपसमा अन्तरसम्बन्धित हुन्छन् । नाकमा उत्पन्न भएको समस्याले कान र घाँटी दुबैलाई असर पुर्याउँन सक्दछ ।
नाकमा कस्ता कस्ता समस्याहरु देखिन्छन् ?
विशेषगरी नाकमा देखिने समस्याहरु जस्तै, नाक सुख्खा हुने, रगत आउने, मासु पलाउने, धेरै हाछ्युँउ आउने, सिँगान बग्ने, टाउको दुःख्ने आदि बढी देखिन्छन् ।
हाछ्युँ किन आउँछ ?
कतिपय मानिसहरुलाई एलर्जीको कारणले हाछ्युँ आउन सक्छ । यस्ता एलर्जीबाट बच्न उनीहरु एन्टी एलर्जिक औषधि प्रयोग पनि गर्छन् । औषधिले केही समय त राम्रो काम गर्छ तर फेरी हाछ्युँ आउन सुरु हुन्छ । एलर्जी लगातार ४ देखि ६ महिनासम्म आइरहेमा संक्रमण भई नाकमा विस्तारै मासु पलाउन थाल्दछ ।
नाकमा मासु पलाए के गर्ने ?
सामान्यतया नाकमा पलाएको मासुलाई मेडिकल र सर्जिकल विधिबाट उपचार गर्न सकिन्छ । सबैभन्दा पहिला मेडिकल विधि अपनाइन्छ । जसमा नाकमा हाल्ने औषधि, स्प्रे, खाने औषधि दिएर केहि दिन हेरिन्छ । यदि मेडिकल उपचारले काम नगरे शल्यक्रिया गरेर मासु निकाल्नुपर्दछ । यसलाई फङ्सनल इन्डोस्कोपीक साइनस सर्जरी भनिन्छ । कहिलेकाहीँ नाकबाट रगत आउन सक्छ । तपाइ हामीले अनुभव गरेका पनि हुन्छौँ । कतिपय अवस्थामा यसलाई सामान्य मानिन्छ तर कहिलेकाही नाकबाट रगत आउने समस्याले त्रासपुर्ण अवस्था सिर्जन गर्न सक्छ । विशेषगरी नाकको पछाडी पट्टी भागबाट रक्तश्राप भएमा पोस्टिरियर इपिस्ट्याक्सिस हुन सक्छ । यो एक घातक अवस्था हो ।
के नाकमा पलाएको मासु अन्य अंगमा फैलिन सक्छ ? 
नाकमा पलाएको मासु शरीरका अन्य भागमा फैलिने डर रहन्छ । नाकको हड्डीमा भएका स–साना प्वाल जसलाई पिनास पनि भन्ने गरिन्छ ।  पिनास बिग्रियो भने साइनुसाइटिस हुन्छ।   नाकमा पलाएको मासु फैलिएर पिनासतिर जानसक्छ । यदि मासु फैलिएर मस्तिष्कतिर गयो भने त्यसलाई बोन इरोडिङ् प्रोसेस भनिन्छ । समयमै उपचार गरिएन भने यसले मानिसको ज्यानै जोखिममा पार्न सक्छ ।

के हो पिनास ?
पिनास नाकबाट सुरु हुने एकप्रकारको संक्रमण हो । सबैभन्दा पहिला ब्याक्टेरियाले आक्रमण गर्छ । साधारण रुघाखोकि पनि पिनासको जड हुन सक्दछ । हाम्रो अनुहार वरिपरि स–साना प्वालहरु हुन्छन् । जसलाई म्याग्जिलरी साइनस भनिन्छ । यस्ता प्वाल नाकको छेउछेउ, आँखाको तल र माथि हुन्छ यसलाई फ्रन्टल साइनस पनि भन्ने गरिन्छ । यसका अलावा स्फेनोइन साइनस पनि हुन्छ । संक्रमण नाकबाट फैलिएर विभिन्न अंगमा जानसक्छ । पिनासलाई सामान्यतया मेडिकल उपचार विधिबाट उपचार गरिन्छ । यदि समस्या जटिल भएको अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।
नाकमा सामान्य समस्या देखियो भने पनि चिकित्सकसँग परामर्श लिनुपर्दछ । विशेषगरी आमाबुबाले बालबालिकाको नाकबाट सिँगान आएको देखेमा वा रुघाखोकी लागेमा तुरुन्त आफ्नो चिकित्सकलाई देखाउन लैजानुपर्दछ । बच्चालाई जे कारणले एलर्जी हुन्छ, त्यसबाट टाढा राख्नुपर्छ । धुवाधुलोबाट जोगिनुपर्छ । चिसोबाट सकेसम्म बच्नुपर्छ । (नाक, कान, घाँटी विशेषज्ञ, डा. न्यौपाने चावहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा कार्यरत हुनुुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्