Logo
|
Friday 29th March 2024
Logo

epaper

प्रस्तावित बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंद्वारा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीविरुद्ध अख्तियार र सम्पत्ति शुद्धिकरणमा उजुरी (उजुरी पत्रसहित)

प्रसाईले भन्नुभयो—‘म राज्यबाट लुटिएको छु । भौतिक संरचना कुहिएर बसेका छन् । म न्यायका लागि अदालत जान्छु ।’



पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, काठमाडौं । सम्पूर्ण प्रक्रिया पूरा गरेको झापाको विर्तामोडस्थित प्रस्तावित विएण्डसी मेडिकल कलेजले सम्बन्धन नपाएपछि कलेजका सञ्चालक दुर्गा प्रसाईंले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीबिरुद्ध अख्तियार दुरुपयायोग अनुसन्धान आयोग र सम्पत्ति सुद्धिकरणको कार्यालयमा उजुर गर्नुभएको छ ।
उहाँले मेडिकल कलेज सञ्चालनका लागि सम्पूर्ण प्रक्रिया पुर्याएर आयोगमा सम्बन्धनका लागि दर्ता गर्न जाँदा दर्ता नलिएपछि डा. गिरीको आर्थिक चलखेल गर्ने नियत भएको र यस्तै प्रकारको दुख दिएर विभिन्न व्यक्तिहरुबाट डा. गिरीले अकुत सम्पत्ति कमाएकाले तत्काल छानबीन गर्न अख्तियार र सम्पत्ति सुद्धिकरणको कार्यालयमा उजुरी गर्नुभएको हो ।
गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको शिक्षाध्यक्ष रहेको समयमा, स्वास्थ्य सेवा बीमा बोर्डमा कार्यकारी निर्देशक रहँदा र हाल आयोगको उपाध्यक्ष रहँदा पनि घुस लिई अकुत सम्पत्ति आर्जन गरेको प्रसाईले आरोप लगाउनु भएको छ ।
डा.गिरीले अवैधानिक रूपमा कमाएको अकुत सम्पत्ति आफू र आफ्ना नातेदारका नाममा जम्मा गरेको भन्दै प्रसाईंले डा. गिरीको सम्पूर्ण सम्पत्ति जफत गर्न माग गर्नुभएको छ । त्यस्तै राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष हुन योग्यता नै नपुगेपछि गिरीले झुठा विवरण पेश गरी नियुक्ति लिन सफल भएको प्रसाईंको आरोप छ ।

आफूले एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धनको सिफारिस गर्न गिरीसमक्ष निवेदन दिएकोमा २० करोड रुपैयाँ घुस माग गरिएको प्रसाईंले उजुरीमा उल्लेख गर्नुभएको छ । २० करोड नदिए कम्पनीको १० प्रतिशत सेयर दिन गिरीले भनेको प्रसाईंले उजुरीमा उल्लेख गर्नुभएको छ ।

आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रसाईंले गिरीको प्रमाणपत्र छानविनका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा समेत उजुरी गर्ने जानकारी दिनुभएको छ । उहाँले आफूलाई राज्यले न्याय नदिएकाले अब निष्पक्ष न्यायका लागि अदालत जाने बताउनुभयो । प्रसाईले भन्नुभयो—‘म राज्यबाट लुटिएको छु । भौतिक संरचना कुहिएर बसेका छन् । म न्यायका लागि अदालत जान्छु ।’ प्रसाईले चिकित्सा शिक्षा आयोगले सिटिइभिटीका २९ वटा कार्यक्रमलाई सम्बन्धन दिंदा पनि आफूलाई नियतबस दुःख दिएको गुनासो पनि गर्नुभएको छ ।

  

प्रतिक्रिया दिनुहोस्