Logo
|
Saturday 6th June 2020
NEWS PAPER

पोसिलो माघे संक्रान्तिः यस्ता छन् तरुल, सखरखण्ड, तिलको लड्डु र चाकुका औषधिय गुण, जानौँ



Health News

आज माघे संक्रान्ति अर्थात तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पोसिलो पर्व। माघे संक्रान्तिका समुदायअनुसार आआफ्नै नाम छन्। पहाडतिर माघे संक्रान्ति, थारूहरूले माघी, तराईमा तिला संक्रान्ति, मगरहरूको माघे संकराई, नेवारहरूले चाकु पर्व आदिआदि। नाम जसले जसरी पुकारे पनि यो पर्वमा खाइने खानेकुरा पोसिला हुन्छन्। चाहे तरुल होस् या त तिलको लड्डु वासिलाम, खिचडी, घुँगी, माछादेखि गिठ्ठा भ्याकुर, सखरखण्डसम्म हामीलाई फाइदा गर्ने पोषक तत्त्व पाइने खाने कुरा हुन्।

तरुल

तरुल एसिया तथा अफ्रिकी क्षेत्रमा जमिनमुनी फल्ने कन्दमूल हो। पोषणका दृष्टिले धनी तरुललाई चीन, कोरिया, जापानजस्ता मुलुकको परम्परागत चिकित्सामा औषधीका रूपमा पनि प्रयोग गरिन्छ। माटो र प्रकृतिअनुसार पोषक तत्त्व फरक पर्ने भए पनि औसतमा यसको प्रति १०० ग्राममा ११८ किलो क्यालोरीसम्म शक्ति पाइन्छ जुन एकजना स्वस्थ वयस्कलाई दिनभरि चाहिने शक्तिको करिब पाँच प्रतिशत हो। तरुलमा फाइदाजनक मात्रामा फाइबर, फोलेट, भिटामिन सी र अन्य भिटामिन तथा खनिज पाइन्छ। यसमा पाइने घुलनशील फाइबरले कब्जियत कम गराउनेदेखि रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलनमा राख्नसम्म सहयोग गर्छ। तरुलमा पाइने भिटामिन सी, ए र एन्टिअक्सिडेन्टले कोषिकाहरूलाई स्वस्थ बनाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छन्। तरुल कपर, क्याल्सियम, पोटासियम, लौह तत्त्वहरूको राम्रो स्रोत हो।

तरुल पोषणका साथै अन्य औषधी गुण भएका रसायन पनि पाइन्छन्। यति धेरै पोषिलो हुँदाहुँदै पनि हामीकहाँ तरुलको उत्पादन र उपभोग कम हुँदै गएको देखिन्छ। हाम्रो पहाडका कान्लाहरूमा खासै मेहनत नै नपर्ने गरी पनि फल्ने यस्ता पोसिला खानेकुराको उत्पादन र उपभोग बढाउन सके खाद्यपोषण सुरक्षामा यसले मापनमा टेवा पुर्‍याउन सक्छ। बाँझै खेर गइरहेका बारी, कान्लाहरूमा तल उब्जाई विभिन्न परिकार बनाउन र निर्यात गर्न सकिने बलियो सम्भावना पनि छ। नाइजेरीयाले तरुलजस्ता कन्दमूलको निर्यात गरेर अर्थतन्त्रमा पनि योगदान पुर्‍याउने मात्राको डलर भित्र्याइरहेको छ।

सखरखण्ड

सखरखण्ड अर्थात सुठुनी। उति बेला सुठुनी फल्ने बारी अहिले बाँझै छ, सुठुनीका लहरा लहरिने कान्लाहरूमा बनमारा झार मात्र छ। सखरखण्ड सारै स्वादिलो र पोसिलो कन्दमूल हो। शरीरलाई ऊर्जा दिने कार्बोहाइड्रेटदेखि विभिन्न खनिज र भिटामिन पाइने सखरखण्ड भाते बानीको राम्रो विकल्प पनि हो। भिटामिन ‘ए’ को राम्रो स्रोत सुठुनी खाँदा आँखा स्वस्थ हुने, रोग प्रतिरोधी क्षमता मजबुत हुनेदेखि यसमा भएको पोटासियम र म्याग्नेसियमले रक्तसञ्चारलाई सन्तुलनमा राखी मुटु स्वस्थ बनाउने, घुलनशील फाइबरले शरीरमा खराब कोलेस्टेरोल नियन्त्रण गर्न र पाचन प्रणाली स्वस्थ राख्नसम्म सहयोग गर्छ। सुन्तला रंगको सखरखण्ड पोषणका हिसाबले झनै फाइदाजनक मानिन्छ।

आधुनिकताका नाममा पछिल्लो पुस्ता तरुल, भ्याकुर, गिठ्ठा र सखरखण्ड खान चाउँदैनन्। कहिलेकाहिँ भोकमरीले गर्दा तरुल, गिठ्ठा खाइरहेको समाचार आउँछ। पोषणका दृष्टिले तरुल, गिठ्ठा खान पाउनु भोकमरी हैन झन् फाइदाजनक हो। पछिल्लो समय सखरखण्डलाई व्यावसायिक रूपमा उत्पादन गर्ने चलन पनि सुरु भएको छ। पहाडमा मात्र फल्छ भनिने सखरखण्ड सिन्धुपाल्चोकमा एउटा पोषण कार्यक्रमको नेतृत्व गरिरहेका मनोज मि श्रले सप्तरीमा समेत व्यावसायिक रूपमा फलाउनु भएको छ। थोरै मेहेनतमा उब्जाउन सकिने सुठुनीको व्यावसायिक उत्पादनले अर्थतन्त्र र कुपोषण न्यूनीकरण दुवैमा टेवा पुग्न सक्छ।

खिचडी

वीरबलको खिचडीको कथा र हाम्रा किंवदन्ती हेर्दा पहिले पहिले खिचडी खुवै खाने चलन भएको बुझिन्छ। शरीरलाई शक्ति दिने र पोसिलो खिचडी हाम्रा पुर्खाहरूले बुझेरै खाएका हुन्। तर अहिलेको पुस्तालाई कतिलाई खिचडी भनेकै थाहा छैन, थाहा हुनेलाई पनि खान मन पर्दैन वा माघे संक्रान्तिमा खाने खानाका रूपमा मात्र चिनिन्छ। माघे संक्रान्तिका दिन खिचडी खाने चलन भएकैले तराईमा एउटा भनाइ नै छ ‘खिचडी के चार यारदही, पापड, घी, अचार ।’ यसरी मिलाएर पकाइने खिचडी पोषणका दृष्टिले पनि फाइदाजनक मानिन्छ। तर आजकल खिचडी उखान वा कथामै सीमित हुन थालेको छ। खिचडी वा खिर्चो बनाउनका लागि अनिवार्य चाहिने कालो मासको उब्जनी नै हुन छोडेको देखिन्छ। धेरैलाई यसको स्वाद र महत्त्व थाहै छैन।

ऊर्जा दिने चामल र प्रोटिनको भण्डार कालो दाललाई घिउमा मिलाएर पकाइने खिचडी स्वादिलो पनि हुन्छ। त्यसमा अझै हरिया सागपात वा उसिनेको अण्डा राखेर झनै पोसिलो बनाउन सकिन्छ। विशेष गरी लिटो, जाउलो खाने उमेरका बच्चालाई दाल, चामल, अण्डा, सागपात मिलाएर बनाइएको पोसिलो खिचडी खुवाउँदा उनीहरूको शारीरिक तथा मानसिक वृद्धि विकासमा फाइदा पुग्छ। हाम्रा रेस्टुराँहरूमा पिजावर्गरको ठाउँमा फापर, कोदोको ढिडो, रोटी, पोसिलो खिचडी पनि खान पाए, पाहुनालाई चखाउन पाए कति गज्जब हुने थियो।

तिलको लड्डु

तिल धार्मिक, सांस्कृतिक रूपले समेत महत्त्वपूर्ण मानिने पोसिलो खानेकुरा हो। हेर्दा सानो देखिने तिलको गेडो खाँदा सारै स्वादिलो र पोसिलो हुन्छ। तिलमा फाइदाजनक भिटामिन ए र भिटामिन बी कम्प्लेक्स, फोलेट, क्याल्सियम, आइरन, पोटासियम जस्ता केही सूक्ष्म पोषण तत्त्व पनि पाइन्छ। तिलमा पाइने फाइबर, सेसामिन र सेसामोलिन नामक तत्त्वले रगतमा नराम्रो कोलेस्टेरोल नियन्त्रणमा सहयोग गर्छ। तिलकपर, म्यागनिज, जिंकजस्ता शरीरलाई अत्यावश्यक खनिजको राम्रो स्रोत हो। केही अध्ययनहरूले तिललाई ठूलो आन्द्राको क्यान्सर, हड्डी खिइने समस्या, मुटु रोग आदिमा फाइदाजनक हुने प्रमाणित गरेका छन्। हामीले माघीमा लड्डुका रूपमा होस वा अन्य समयमा अचारमा हालेर खाने तिल पोसिलो र फाइदाजनक छ।

चाकु

विशेष गरी नेवार समुदायको परम्परासँग गाँसिएको चाकु अहिले माघे संक्रान्तिमा सबैको प्रिय खानेकुरा हो। खुदो वा सख्खरबाट बनाइने चाकु गुलियो हुन्छ। चिनीजन्य पदार्थको मात्रा बढी हुने सख्खरले प्रतिग्राम करिब २ क्यालोरी शक्ति, ९ मिलिग्राम क्याल्सियम, १ मिलिग्राम आइरन र २५ मिलिग्राम जति पोटासियम दिन्छ। आजकल चाकुमा नरिबल, खुवा, बदाम, किसमिस जस्ता खानेकुरा पनि मिसाएर बनाउने गरेको पाइन्छ जसले चाकुको पौष्टिकतालाई बढाउँछ। सामान्य मानिसहरूका लागि थोरै मात्रामा खाँदा चाकु पोसिलै भए पनि मधुमेह जस्ता रोग भएकाका लागि भने हानिकारक छ। गुलियोका लागि रिफाइन्ड गरिएको चिनी खानुभन्दा खुदो वा सख्खर खाँदा केही हदसम्म फाइदा लिन सकिन्छ। यो लेख आजको अन्नपुर्णपोष्टमा केपी लम्सालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्