Logo
|
Saturday 20th April 2024
Logo

epaper

राम्री देखिन माइक्रोब्लेडिङ




धेरै महिलाहरुलाई आँखी भौं पातलो हुनुको पीडा थाहा भएकै कुरा हो । आँखी भौं पातलो वा पुरै झरेका व्यक्तिहरुले घरबाट बाहिर निस्किँदैपिच्छे पेन्सिलले कोर्नुपर्छ । पिग्मेन्ट जेल दल्नुपर्छ । रौं बाक्लो देखाउन कोहीले त ट्याटु नै खोपाएका पनि हुन्छन् । तर ट्याटुले आँखी भौं बनाउँदा केही समयपछि रङ बदलिएर कुरूप देखिन सक्छ । थायराइडका कारण पनि पूरै आँखी भौं झर्न सक्छ । कसैको थेग्ला वा पातलो आँखी भौं आएको हुनसक्छ । त्यसैले रौं नभएको अवस्थामा पनि अनुहारमा सुहाउँदो किसिमको आँखी भौं को आकार दिनुपर्छ भने पातलो आँखी भौंको समस्यामा पनि सोही अनुसार आकार दिनुपर्छ । आँखी भौं राम्रो भए सौन्दर्य राम्रो देखिन्छ । यो नजिकैबाट नियाल्दा पनि प्राकृतिक देखिनुपर्छ । यसलाई बीचबीचबाट फिलिङसमेत गर्न मिल्छ । यो एकदमै संवेदनशील कार्य हो । त्यसैले माइक्रोब्लेडिङ दक्ष व्यक्तिबाट मात्र गराउनुपर्छ । माइक्रोब्लेडिङमा अर्गानिक कलर लिएर आँखाी भौंको माथिपटिको भागमा कोरेर रौं को आकारमा डिजाइन गरिन्छ । यस प्रविधिमा उपकरणद्धारा कपालको सेपमा पिगमेन्ट (कोर्ने) गरिन्छ । यसरी कपालको आकारमा बनाउँदा धेरै प्राकृतिकपना आउँछ । यसबाट कसैलाई पनि रौं नभएको भान नै हुँदैन । माइक्रोब्लेडिङ गराउँदा संक्रामक रोग, मधुमेह, प्रेसर, प्रिग्नेन्सी, महिनावारी आदि भएको बेलामा गर्न हुँदैन ।

कति समयको फरकमा गर्ने ?
प्रायः माइक्रोब्लेडिङ ६—८ महिनाको फरकमा गर्नुपर्छ । तर हाम्रो शरीरको मेटाबोलिज्मको आधारमा समय तलमाथि हुनसक्छ ।
यसको साइड इफेक्ट छ कि छैन ?
माइक्रोब्लेडिङ गरेको दिन सम्बन्धित भागको छाला अलि रातो हुनसक्छ । यसका लागि मलम लगाउनुपर्छ । यसबाहेक कुनै साइड इफेक्ट हुँदैन । हामीले धेरै माइक्रो ब्लेडिङ गरिसकेकाले अहिलेसम्म कुनै पनि गुनासो आएको छैन ।
माइक्रोब्लेडिङमा कतिको दुखाई हुन्छ ?
सम्बन्धित भागमा एनेस्थेसिया दिने भएकाले दुखाईको अनुभव हुँदैन ।
यो कतिको खर्चिलो छ ?
पूरै आँखी भौंका रि—कन्स्ट्रक्सन गर्दा एकपटकको करिब १५ देखि १६ हजार रुपियाँ पर्नसक्छ । तर फिलिङ मात्र गर्दा यो भन्दा कम पर्न आउँछ । यसमा व्यक्तिको आवश्यकता र चाहना बुझ्न जरुरी हुन्छ । सोही अनुसार खर्च घडबढ हुन्छ ।
माइक्रोब्लेडिङमा प्रयोग हुने कस्तो रङ्ग हो ?
यो शरीरमा प्रयोग गर्न मिल्ने अर्गानिक रङ्ग हो । यसले शरीरमा कुनै असर गर्दैन । यो अनुहार धुँदा, नुहाउँदा जाँदैन ।
माइक्रोब्लेडिङ पछि अपनाउनुपर्ने सावधानी के छ ?
माइक्रोब्लेडिङ गरेको एक हप्तासम्म माड्न र अन्य चिजहरु लगाउन हुँदैन । एक दुई दिनसम्म अनुहार धुँदा सकेसम्म पानी पार्न हुँदैन । माइक्रोब्लेडिङ गर्दा दक्ष र अनुभवी व्यक्तिको निकै जरुरत पर्छ । यो विशेषज्ञ चिकित्सकको निगरानीमा गर्नुपर्छ ।
स्टेरोइडको बढ्दो दुरुपयोग
छालासम्बन्धि जुनसुकै रोगमा पनि स्टेरोइड ग्रुपका मल्हमहरुको प्रयोग बढ्दो छ । व्यक्तिहरुले सोझै औषधि पसलबाट किनेर प्रयोग गरेको पाइन्छ । लामो समयसम्म यस ग्रुपका औषधि शरीरमा प्रयोग गर्दा छाला पातलो, फंगल इन्फेक्सन, कालो पोतोलगायतका समस्या हुने गरेको छ । छालामा धेरै असर पर्ने भएकाले छालासम्बन्धि विभिन्न समस्या हुनसक्छ ।
शुरुमा स्टेरोइड मिसाइएका औषधिहरु लगाउँदा धेरै राम्रो प्रभाव देखिन्छ । कालोपातोको समस्यामा त २ देखि ३ हप्तामा पूरै अनुहार टल्किन्छ । यसबाट प्रयोगकर्ताहरु ढंग पर्छन् । यसरी ४—५ महिना त राम्रो हुन्छ । त्यसपछि घामको सम्पर्कमा पुग्दा छाला रातो र पातलो हुन थाल्छ । अनुहारमा रौं पलाउन थाल्छ । छालाको रक्तनलीहरु देखिन थाल्छन् । कसैकसैको छुँदा पनि रगत आउने पालतो भएको हुन्छ । हामीकहाँ २० वर्षसम्म निरन्तर स्टेरोइड प्रयोग गरेर छाला छुँदा रगत बग्ने समस्या लिएर आउने व्यक्तिहरु पनि प्रशस्त छन् । त्यसैले जथाभावी स्टेरोइड ग्रुपका औषधिहरु प्रयोग गर्न हुँदैन, गर्नुपरेमा सम्बन्धित चिकित्सकीय परामर्श र निगरानीमा गर्नुपर्छ ।
(छाला तथा सौन्दर्य विशेषज्ञ डा. बस्ताकोटी लभाना स्किन एण्ड हेयर क्लिनिक मा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्