Logo
|
Thursday 28th March 2024
Logo

epaper

‘नेपालमा चोटपटकबाट दैनिक ४६ को मृत्यु’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा चोटपटकबाट दैनिक ४६ जनाको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्यान्ड र अमेरिकाको वासिङ्टन युनिभर्सिटीका शोधकर्ताहरूले संयुक्त रूपमा प्रकाशित गरेको प्रतिवेदनमा सन् २०१७ मा सबै खालका चोटपटकका कारण नेपालमा १६ हजार ८ सय ३१ जनाको मृत्यु भएको जनाइएको छ ।

उक्त अध्ययनअनुसार नेपालमा एचआईभी एड्स, क्षयरोग र औलोबाट मृत्यु हुने १५ देखि ४९ वर्षका मानिस (३१ सय) भन्दा सडक दुर्घटनाबाट मृत्यु हुने (३४ सय) को संख्या ९ प्रतिशतले बढी छ । अध्ययनको सारांशबारे युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्यान्डका शोधकर्ता डा. पुष्पराज पन्तले भने, ‘यस अध्ययनमार्फत नेपालमा कसैलाई क्षति पुर्‍याउने कुनै मनसाय नभए पनि मनसायपूर्ण घटनाबाट हुने सबै खालका चोटपटकहरूको लेखाजोखा गरेका छौं । यसबाट सबै वर्गका पाठकले चोटपटक वा इन्जुरी विषयले के–के बुझाउँछ र देशमा यसको रोगभार कस्तो रहेछ भन्ने कुरा थाहा पाउने अपेक्षा गरेको छु ।’ विश्व स्वास्थ्य संगठनका अनुसार शरीरको सहन क्षमताभन्दा अधिक बाह्य ऊर्जाको सम्पर्कले गर्दा मानिसको शरीरमा हुने भौतिक क्षति वा ताप र अक्सिजनजस्ता अत्यावश्यक तत्त्वको अकस्मात् हुने कमीबाट शरीरका अंगहरूमा हुने समस्यालाई बुझाउँछ ।

नेपालमा चोटपटकको रोगभार अध्ययन २०१७ ले चोटपटकको कारणले घाइते वा मृत्यु हुने समस्या एक महत्त्वपूर्ण समस्या भएको उजागर गरेको छ । चोटपटकबाट नेपालमा हुने कूल मृत्युको ४५ प्रतिशत यातायातसम्बन्धी दुर्घटनाबाट, १८ प्रतिशत लडेर र १४ प्रतिशत आत्महत्याका कारण हुने गरेको पाइएको छ । तथ्यांकअनुसार एक वर्षमा सबै खालका यातायातसम्बन्धी दुर्घटनाबाट ७,५२४, मनसायबिना हुने चोटपटकका कारण ६,४६५ र आत्महत्या तथा परस्पर हिंसाका घटनाबाट २,८४२ जनाको मृत्यु हुने गरेको छ । नेपालको एक लाख जनसंख्यामा चोटपटकबाट मृत्यु हुने दर ५६.३१ रहेको छ र पुरुषहरूमा त यो दर ७६ छ । अध्ययनमा यातायातसम्बन्धी दुर्घटनाको वर्गलाई ६ उपशीर्षकमा वर्गीकरण गरिएको छ, जसअनुसार सबैभन्दा बढी पैदलयात्री ४८ प्रतिशत, चारपांग्रे साधन प्रयोगकर्ता १८ प्रतिशत, मोटरसाइकल प्रयोगकर्ता १७ प्रतिशत, साइकल प्रयोगकर्ता १० प्रतिशत र अन्य सबै खालका यातायात प्रयोगकर्ताहरू ११ प्रतिशत छन् ।

तर प्रहरीको तथ्यांकमा नेपालमा २०१७ मा अभिलेख भएका १०,९६५ सडक दुर्घटनामा २,५४१ जनाको मृत्यु र १२,३९१ जना घाइते भएको उल्लेख छ । तुलनात्मक रूपमा यस अध्ययनले नेपालमा उपलब्ध तथ्यांकभन्दा निकै बढी अथवा एक वर्षमा ६,७८७ वा दैनिक १८ जनाको कुनै न कुनै किसिमका यातायात दुर्घटनाबाट मृत्यु हुने देखाएको छ । बढ्दो सवारीसाधन, सडकको दयनीय अवस्था, ट्राफिक नियमको फितलो कार्यान्वयन र सडक सुरक्षासम्बन्धी सचेतना अभाव सडक दुर्घटना कारकको रूपमा लिइएको छ ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्