Logo
|
Wednesday 24th April 2024
Logo

epaper

धेरैलाई सताउने ‘डण्डिफोर’



डण्डिफोर प्रायः अनुहारलगायत शरीरका अन्य भागमा पनि आउने र यसले अनुहारको रौनक नै बिगार्ने भएकाले हामीलाई डण्डिफोर आएको मन पर्दैन । अझ कतिपय डण्डिफोरले त दाग नै बस्छ । डन्डीफोर सौन्दर्यसँग जोडिएको विषय भएकाले चिन्ता लाग्नु पनि स्वभाविक हो । डन्डीफोर अनुहारमा मात्र नभई ढाड, छाती, तिघ्रा जुनसुकै ठाउँमा पनि आउनसक्छ ।
के हो डन्डीफोर ?
डन्डीफोरलाई अंग्रेजीमा ‘पिम्पल’ र मेडिकल भाषामा ‘एक्ने’ भन्ने गरिन्छ । डण्डिफोर उमेरमा आउने खटिरा भन्ने कुरा सबैलाई थाहा छ । तर यो उमेरमा आउने एउटा कारण मात्र हो । डण्डिफोर बाहिरी प्रदूषण धुलो धुँवा, शरीरमा हर्मोनल परिवर्तन (महिनावारी हुने बेला र महिनावारी सुक्ने बेला), औषधि सेवन गर्ने व्यक्तिहरुलाई कतिपय डण्डिफोर देखिनसक्छ ।
बिवाहपछि डण्डिफोर हराउने कारण के हो ?
बिवाहपछि डण्डिफोर नआउने भन्ने हुँदैन । तर कुनै कुनै महिनावारीसँग सम्बन्धित हर्मोनल डण्डिफोर हुन्छ । यो प्रकारको डण्डिफोर गर्भवती भएको ९ महिनासम्म आउँदैन । तर यो फेरि सुत्केरी भएपछि आउँछ । तर सबै डण्डिफोरमा यो लागू हुँदैन ।
डन्डिफोर किन आउँछ ?
डण्डिफोरबारे भ्रम र यथार्थबारे धेरैलाई थाहा छैन । किशोरकिशोरी उमेरमा अनुहारमा सिबम सिक्रेसन धेरै भएर डण्डिफोर आउँछ । सिबम सिबसियस हर्मोनबाट उत्पादन हुन्छ । यही उमेरमा अनुहारको चिन्ता हुने र डण्डिफोर पनि आउने भएकाले धेरै व्यक्ति भौंतारिने गरेको पाइन्छ ।
कहाँ सल्लाह लिने ?
छाला रोग विशेषज्ञको सल्लाह र सिफारिसमा डण्डिफोरको प्रकार अनुसार उपचार गरेमा लामो समयसम्मका लागि निको हुन्छ । कतिपय अवस्थामा त औषधिको आवश्यकता पनि पर्दैन । रेखदेख गरेपनि डण्डिफोर नियन्त्रणमा राख्न सकिन्छ । साधारण डण्डिफोरमा लेजर उपचार गर्न आवश्यकता पर्दैन । डण्डिफोरका लागि नभई डण्डिफोरको राम्रो उपचार नभएर अनुहारमा परेको खाल्टो र नराम्रो समस्या समाधान गर्नका लागि लेजर प्रयोग गरिन्छ । यो कुरा सम्बन्धित व्यक्तिले बुझ्न जरुरी हुन्छ ।
डण्डिफोर निचोर्न हुन्छ कि हुँदैन ?
डण्डिफोर निचर्नु हुँदैन । यो गलत प्रचलन हो । डण्डिफोर चलाउँदा पाकेर ठूलो हुनसक्छ । कतिपय प्रकारका डण्डिफोरमा ब्लायक हेड्स् हुन्छन् । दक्ष र तालिम प्राप्त व्यक्तिबाट ब्ल्याक हेड्स झिकेको अवस्थामा कुनै समस्या आउँदैन । कतिपय लाउने औषधिहरु छन् जसले डण्डिफोरलाई आफैं बाहिर ल्याउँछ । यसरी सबै प्रकारका डण्डिफोरको लाउने र खाने औषधि उपलब्ध छन् ।

जथाभावी आफैं प्रयोग गर्ने औषधिबारे यहाँको के भनाइ छ ?
स्टेरोइड गु्रपका औषधिहरु डण्डिफोरका लागि अति घातक मानिन्छन् । शुरुमा लगाउँदा अनुहार सफा र चिल्लो हुन्छ । यो धेरैले आफूखुशी प्रयोग गर्छन् । तर यसबाट पछि डण्डिफोर बढ्ने, सामान्य औषधिले निको नहुने अवस्था आउँछ । सिभियर डण्डिफोरमा मात्र सम्बन्धित चिकित्सकको निगरानी र सिफारिसमा स्टेरोइड ग्रुपका औषधिहरु छोटो समयका लागि प्रयोग गर्न दिइन्छ ।
अन्त्यमा यहाँको के सुझाव छ ?
डन्डीफोर र छालाको प्रकार हेरेर मात्र उपचार गर्नुपर्छ । औषधि, मुख धुने साबुन वा फेसवाश, डे क्रिम, नाइट क्रिम, पाउडर वा डाक्टरले दिएको सल्लाह अनुसार प्रयोग गर्नुपर्छ । आवश्यकता अनुसार अनुहार सफा राख्नुपर्छ । अनुहारमा चिल्लो लगाउनु हुँदैन । छालाको प्रकार हेरेर दैनिक घामबाट जोगाउने क्रिम, सनस्क्रिन वा सनब्लक लगाएमा यसले छाला कालो हुन र दाग हुनबाट जोगाउँछ । डण्डिफोरमा खानपान धेरै बार्नुपर्दैन । तर बढी मात्रामा पानी, फलफूल, तरकारीले फाइदा पुर्याउँछ । डन्डीफोरलाई चलाउन, कोट्याउनु वा निचोर्नुहुँदैन । डाक्टरको सल्लाहबिना जथाभावी उपचार गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्