Logo
|
Saturday 20th April 2024
Logo

epaper

कोरोना भाइरसको उच्च जोखिम : सरकारको छैन पूर्वतयारी



शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले चीन र नेपालबीचमा मानिसको आवतजावत बाक्लिँदै गएकाले नेपाल पनि कोराना भाइरसको उच्च जोखिममा रहेको बताए। कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले बेलैमा सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ। उक्त भाइरस चीनबाट थाइल्यान्ड, जापान, अमेरिकालगायत मुलुकमा फैलिएको देखिएकाले नेपालमा पनि फैलिने उच्च सम्भावना रहेको पुनले बताए। ‘कोरोना भाइरस संक्रमणबाट जोगिन हामीले नेपाल–चीन सीमानाकामा विशेष ध्यान दिनुपर्छ’, सरुवा रोग विशेषज्ञ पुनले भने, ‘मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि विशेषज्ञ चिकित्सकसहितको हेल्थ डेस्क तत्काल खडा गर्न आवश्यक छ।’ उनका अनुसार चीनबाट नेपाल भित्रिने स्थल नाकाभन्दा त्रिभुवन विमानस्थलबाट आउने यात्रीको संख्या बढी हुने भएकाले सरकारले विमानस्थलमा हेल्थ डेस्क स्थापनालाई प्राथमितामा राख्नुपर्छ। उक्त भाइरस जनावरबाट पनि मानिसमा सर्ने उच्च सम्भावना भएकाले सतर्क रहनुपर्ने उनले बताए।

चीनमा फैलिएको कोराना भाइरस कुनै पनि बेला नेपालमा भित्रिन सक्ने चेतावनी विज्ञले दिए पनि सरकारले अहिलेसम्म कुनै पूर्वतयारी गरेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको हेल्प डेस्कसमेत एचएको भरमा चलिरहेको छ। हेल्प डेक्स हेर्नेगरी एचएको नेतृत्वमा खटिएका कर्मचारीसमेत नियमित बस्दैनन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकै अर्का विशेषज्ञ डा. अनुप बाँस्तोलाले कोरोनाको सम्भावित जोखिन रोक्न इबोला भाइरस फैलिएका बेला जस्तै हेल्थ डेस्क स्थापना गर्नुपर्ने बताए। सरकारले कोरोना भाइरसबाट जोगिन अहिलेदेखि नै तयारी थाल्नुपर्ने उनको सुझाव छ।

यसैबीच चीनको हुवेई प्रान्तस्थित विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको लक्षण देखिएपछि त्यसको परीक्षणका लागि बाहिर पठाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पालका चिकित्सकले जानकारी दिए। जनकपुरस्थित घर आएका २५ वर्षीय ती विद्यार्थी रुघाखोकी र श्वासप्रश्वासको समस्या देखिएपछि पुस २८ गते शुक्रराजमा भर्ना भएका थिए। चीनमा पढ्दै गरेका ती विद्यार्थीमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भेटिएको डा. बाँस्तोलाले बताए। ‘लक्षण हेर्दा कोरोना भाइरस नै हो भन्ने हाम्रो अनुमान छ’, उनले भने, ‘त्यसलाई यकिन गर्नका लागि महामारी तथा रोग नियन्त्रण महाशाखामार्फत हङकङ पठाइएको छ। उताबाट परीक्षण भएर आएपछि कोरोना भाइरस हो कि होइन भनेर प्रस्ट हुन्छ।’ अस्पतालमा भर्ना भएका ती बिरामी भने डिस्चार्ज भइसकेको बाँस्तोलाले बताए। महाशाखाले उक्त नमुना परीक्षणका लागि मंगलबार हङकङ पठाएको हो।

सरकारको तयारी छैन
चीनमा फैलिएको कोराना भाइरस कुनै पनि बेला नेपालमा भित्रिन सक्ने चेतावनी विज्ञले दिए पनि सरकारले अहिलेसम्म कुनै पूर्वतयारी गरेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको हेल्प डेस्कसमेत एचएको भरमा चलिरहेको छ। हेल्प डेक्स हेर्नेगरी एचएको नेतृत्वमा खटिएका कर्मचारीसमेत नियमित बस्दैनन्। समायोजनले गर्दा त्यो हेल्प डेस्कमा खटिएका प्राविधिक र कर्मचारी पनि अन्य ठाउँमा गएकाले नाम मात्रको हेल्प डेस्क रहेको स्वास्थ्य मन्त्रालयकै कर्मचारीको टिप्पणी छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेक्सलाई सक्रिय बनाउने तयारी थालिएको दाबी गरे। महामारी तथा रोग नियन्त्रण महाशाखा अधिकारीले हेल्थ डेक्स सक्रिय बनाउनेदेखि सचेतना फैलाउने तयारीमा लागेको बताए।
नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्