Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

पाथिभरा हस्पिटलको के हो पारा ?

विज्ञापनमा भनेजस्तो नभएपछि थप उपचारका लागि जानुपर्‍यो तराईका अस्पताल



जनस्वास्थ्य सरोकार, फिदिम । ‘फिदिम बजारकै चिरपरिचित पाथिभरा हेल्थकेयर हस्पिटल प्रालिमा विशेषज्ञ डाक्टरद्धारा हाडजोर्नी, टुटेको, फुटेको, नशाहरू च्यापिएको, हातखुट्टा पोल्ने, झम्झमाउने, दुख्ने, शरीरमा गाँठागुठी आएकोलगायत हाडजोर्नी, नशा तथा बाथरोगसँग सम्बन्धित सबै रोगको उपचार गरिन्छ’, पाँचथरको स्थानीय एफएममा दैनिक बज्ने फिदिमस्थित पाथीभरा अस्पतालको विज्ञापनले भन्छ, ‘यस्ता सबै रोगको उपचार यहीँ गरिन्छ । टाढाका बिरामीले फोनबाट पनि नाम टिपाउन सक्नुहुन्छ ।’

पाँचथर सदरमुकाम फिदिममा सञ्चालित समर्पित अस्पतालले पनि यस्तै प्रकृतिका विज्ञापनमार्फत सबै प्रकारका रोगको उपचार अस्पतालबाट हुने भनिरहेको छ । यहाँ करिब एक दर्जन औषधि पसल र अस्पताल छन् । अधिकांश स्वास्थ्य संस्था र औषधि पसलले स्वास्थ्य र चिकित्सकसँग सम्बन्धित यस्ता भ्रामक विज्ञापन स्थानीय रेडियो र पत्रपत्रिकामा प्रसारण, प्रकाशन गर्नुका साथै बजार क्षेत्रमा दैनिक रूपमा माइकिङ गरेर प्रचारसमेत हुने गरेको छ । कतिपय विज्ञापनमा विशेषज्ञ चिकित्सकको नामसमेत उल्लेख गरिएको छैन ।

औषधि पसलहरूले विशेषज्ञ चिकित्सक झिकाएर उपचार गर्ने भन्दै विज्ञापन गरेका छन् । मानिसको स्वास्थ्योपचारसँग सम्बन्धित विषयमा विज्ञापन गर्न नपाउने कानुनी व्यवस्था छ । कानुन कार्यान्वयन गर्ने अधिकार स्थानीय सरकारलाई छ । स्थानीय सरकार कानुन कार्यान्वयनमा निरीह बन्दा स्वास्थ्यजस्तो क्षेत्रमा लापरबाही बढिरहेको स्थानीयको गुनासो छ । स्वास्थ्यजस्तो क्षेत्रमा स्थानीय सरकारले चासो नदिँदा औषधि पसल र निजी अस्पतालहरूले भ्रामक विज्ञापन गरेर बिरामी तान्ने गरेका हुन् । त्यस्ता विज्ञापनकै कारण बिरामी अस्पताल र औषधि पसलका ग्राहक बन्न पुगेका छन् । विज्ञापन सुनेर उपचारका लागि आएका बिरामीको घुमाउरो शैलीमा बिक्रीसमेत हुने गरेको छ ।

‘पाथिभरा हस्पिटलमा नशा र हड्डीसम्बन्धीका सबै उपचार हुन्छ भन्ने विज्ञापन सुनेर उपचारमा आएको थिएँ’, नांगिनका पुष्प अधिकारीले भने, ‘विज्ञापनमा भनेजस्तो नभएपछि थप उपचारका लागि तराईका अस्पतालमा जानुपर्‍यो । यहाँका अस्पतालले विज्ञापन बजाएर ग्राहक मात्रै बनाउने रहेछन् ।’ यसरी उपचारमा आएका बिरामीको उपचार सम्भव नभएपछि औषधि पसल र स्वास्थ्य संस्थाले सेटिङमा रहेका झापा, मोरङ, सुनसरी लगायतका अस्पतालमा सिफारिस गर्ने गरेका छन् । बिरामी पठाएबाट सम्बन्धित अस्पतालबाट उनीहरूले कमिसन लिने गरेका हुन् ।

औषधि पसल र अस्पतालहरूको अनुगमन गर्ने अधिकार स्थानीय सरकारलाई छ । स्थानीय सरकारले अहिलेसम्म औषधि पसल र अस्पतालको अनुगमन गरेको छैन । अनुगमन नभएपछि अस्पतालहरूले भ्रामक विज्ञापन बजाएर बिरामी तान्ने गरेका हुन् । ‘नगरपालिकाले अहिलेसम्म अनुगमन गरेको छैन’, फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद दाहालले भने, ‘कार्ययोजना बनाएर अनुगमन गर्ने तयारीमा छौं ।’ नगरपालिकाले सरकारी तवरबाट सञ्चालित स्वास्थ्य संस्थाहरूको निगरानी गरे पनि निजी स्वास्थ्य संस्थाको अनुगमन नगरेको समाचार अन्नपूर्णपोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्