Logo
|
Thursday 28th March 2024
Logo

epaper

अस्वस्थकर खानपान र जीवनशैलीले हुन्छ महिनावारी गडबढी




जनस्वास्थ्य सरोकार, काठमाडौँ । ढल्किदो उमेरका महिला मात्र नभई किशोरीहरुमा पनि पछिल्लो समय महिनावारीमा गडबढी हुने समस्या बढ्दो छ । महिनावारी नियमित किन हुँदैन ? यसका कारण, स्वास्थ्यमा पार्ने असर र महिनावारी गडबढी हुनबाट बच्न के गर्न सकिन्छ भन्ने विषयमा प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा.सिता पोखरेल घिमिरेसँग गरिएको कुराकानीः

डा.सिता पोखरेल घिमिरे/ प्रसुति तथा स्त्री रोग विशेषज्ञ

महिनावारी गडबढी किन हुने गर्छ ?
अहिले अधिकांश महिलाहरुको जीवनशैलीमा परिवर्तन आएको छ । हामीले खाने चामल, दाल, सागसब्जी, फलफुल लगाएतका सबै खाद्यपदार्थमा अत्याधिक मिसावट भेटिन्छन् ।यसका अलावा प्रतिस्प्रधात्मक जीवनशैली, करियरको चिन्ता, बाच्नका लागि गर्नुपर्ने संघर्ष इत्यादी विविध कारणले महिला तथा विशेषगरी किशोरीहरुलाई महिनावारी गडबढीको समस्याले बढी सताउने गरेको पाइन्छ । उनीहरुमध्ये कसैलाई महिनावारी ढिलो हुने, कसैको चाँडै हुने, कहिले धेरै रगत जाने त कहिले थोरै जाने जस्ता समस्याहरु देखिन्छन् ।  महिनावारी गडबढी हुनु पछाडी धेरै कारणहरु छन् । त्यसमध्ये वंशाणुगत कारण एक हो । यही समस्या यदि हजुुरआमा, आमा वा दिदिबहिनीलाई छ भने उक्त महिलालाई पनि सर्न सक्दछ । यसलाई डाक्टरले पनि परिवर्तन गर्न सक्दैन । त्यस्तै वातावरणीय कारणले पनि महिनावारीलाई प्रभाव पार्दछ । पहिले पहिलेका महिलाहरु समयमै सुत्थे । स्वस्थ्य खाना खान्थे । उनीहरुलाई यस्ता समस्याले खासै सताउँदैनथ्यो । अहिलेका महिलाहरु बढी जंग फुड खान रुचाउँछन् । बाहिर खाइने खानाले नियमित महिनावारी गराउने सिस्टमलाई नै प्रभाव पार्दछ । कतिपय महिलाहरु राती अबेरसम्म मोबाइल र इन्टरनेटमा धेरै समय बिताउँछन् । समयमा नसुत्ने र शारीरिक अभ्यास नगर्नाले हर्मोन असन्तुल हुन गई धेरैलाई महिनावारी गडबढीको समस्या देखिएको छ । मष्तिस्कमा महिनावारी नियन्त्रण गर्ने दुई किसिमका ग्रन्थीहरु हुन्छन् । सबैभन्दा माथि हुने ग्रन्थीलाई हाइपोथालामस भनिन्छ । त्यस्तै अर्को ग्रन्थीलाई मास्टर ग्ल्यान्ड अर्थात पिट्युटरी ग्रन्थी भनिन्छ । विशेषगरी हाइपोथालामस, पिट्युटरी ग्रन्थी, ओभरी र पाठेघर यी चार अंगले एकअर्कासँग समन्वयन गरे सहि समयमा महिनावारी हुन्छ । यसका अलावा घाँटीमा हुने थाइराइड ग्रन्थीले पनि महिनावारी गडबढी नियन्त्रण गर्न महत्वपुर्ण भुमिका खेल्दछ ।

महिनावारी गडबढी हुँदा यसको अन्य असर के के हुने गर्दछ ?
महिनावारी ढिला हुँने समस्या भएका महिलाहरुमा पुरुषमा पाइने एन्ड्रोजेन हर्मोनको प्रभाव बढी हुन्छ । जसले गर्दा अनुहारमा डन्डिफोर बढी आउने, पुरुषको जस्तो शरीरमा रौँ आउने, दाह्री जुँगा आउने, कतिपय महिलाहरुको तालु खुइलिदैँ जाने जस्ता समस्या देखिन सक्दछ । स्वभावैले महिलाहरु राम्री देखिन चाहान्छन् । यदि उसको मुखमा रौँ आयो मानसिकतामा गम्भिर असर पर्न सक्छ । यस्ता समस्याले कतिपय किशोरीहरु डिप्रेसनमा समेत गएका पनि भेटिन्छन् । महिनावारी ढिलाहुने समस्याले सन्तान जन्माउने क्षमतामा समेत ह्रास आउन सक्छ । यस्ता महिलाहरुलाइ पोलिसिस्टिक ओभरीयन सिन्ड्रोम हुने हुने जोखिम उच्च रहन्छ । नेपालको सन्दर्भमा प्रत्यक दश जना महिला मध्ये १ जनालाई पोलिसिस्टिक ओभरीयन सिन्ड्रोम देखा परेको तथ्याङ्क पाइएको छ ।
पोलिसिस्टिक ओभरीयन डिजिज भनेको के हो ?
स्वस्थ्य बच्चा जन्मन ओभरीमा अण्डाको बिकास राम्रोसँग हुनुपर्दछ । तर ओभरीमा सामान्य भन्दा बढी स—साना सिस्टहरु देखिन थाल्दछ । यसरी थुपै्र सिस्ट बन्नाले कुनैपनि सिस्टको विकास राम्रोसँग हुन पाउदैन । जसले गर्दा समयमा अण्डा फुट्दैन । महिनावारी पनि ढिलो हुन थाल्दछ । पोलिसिस्टिक ओभरीयन सिन्ड्रोम भएका महिलाले सन्तान जन्माउन डाक्टरको सल्लाह लिनुपर्दछ । यसका अलावा महिलाहरुलाई मधुमेह र मुटु सम्बन्धी समस्या र पाठेघरको मुखको क्यान्सर हुने जोखिम उच्च रहन्छ । समयमै चिकित्सकसँग परामर्श लिनुपर्छ । डाक्टरले दिने ट्याब्लेट होइन स्वस्थ खानपान र जीवनशैली अवलम्बन गरौँ । समयमै सुतौँ र तनावरहित भएर बाचौँ ।

 

प्रतिक्रिया दिनुहोस्