Logo
|
Saturday 20th April 2024
Logo

epaper

कपाल रोप्न चाहनेले जान्नपर्ने कुरा



मानिसको सुन्दरतामा कपालले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । स्वस्थ, सुन्दर कपाल महिला तथा पुरुष दुवैको पहिचान हो । तर दुर्भाग्यवश कपाल झरेर रुप नै फरक भएका धेरै व्यक्तिहरु हामीले देख्ने गरेका छौं । विशेषगरी पुरुषमा कपाल झर्ने समस्या धेरै हुने गर्छ । कपाल उमार्ने तथा झर्नबाट रोक्ने भन्दै भ्रमपूर्ण विज्ञापनहरु छन् । जसको विश्वास गरी पैसा खर्च गरेता पनि नतिजा हाँसिल नभएका धेरै उदाहरण भेटिन्छन् ।
तर, चिकित्सा विज्ञानले विश्वस्तरीय प्रविधिबाट कपाल प्रत्यारोपण गरेर यस्ता समस्याहरुबाट छुट्कारा दिलाइरहेको छ । यसबाट कपाल झरेर समय अगावै बूढो देखिने समस्याबाट छुट्कारा दिलाइरहेको छ । एउटा सामान्य स्वस्थ टाउकोमा लगभग एक लाखवटा कपाल हुन्छन् । जहाँ प्रति १ से.मी को दुरीमा एक सयवटा कपालको घनत्व हुन्छ र पुरुषको कपाल सामान्यतया २० वर्षपछि झर्न थाल्छ । एन्ड्रोजेनेटिक एलोपेसिया, जुन अभिभावकको जिन एन्ड्रोजन (मेल सेक्स हर्मोन ) बच्चामा वंशाणुगत हुँदा हुने संयुक्त असर हो । पुरुषको मुडुलोपन सामान्यतया टाउकाको अघिल्लो भागबाट सुरु हुन्छ जसलाई बाइटेम्पोरल रिसेसन भनिन्छ । जुन बिस्तारै पछाडीतिर बढ्छ । तथापी टाउकाको पछाडीको भाग कपालको स्थायी क्षेत्र हो जहाँ बुढेसकालमा पनि कपाल झर्दैन । कपाल प्रत्यारोपणमा त्यही पछाडिको भागको कपाल झिकेर अगाडि प्रत्यारोपण गरिन्छ । कपाल सँगसँगै आँखी भौँ, दाह«ी लगायत पुराना खतहरुमा पनि कपाल प्रत्यारोपण गर्न सकिन्छ । साथै मेडिकल उपचार (पिआरपी र लेजर थेरापी) पनि गर्न सकिन्छ ।
कसरी गरिन्छ कपाल प्रत्यारोपण ?
कपाल प्रत्यारोपण गर्दा टाउकाको पछाडिपट्टीको भागको कपाल जसलाई ‘एन्ड्रोजेन इन सेन्सेटिभ एरिया’ भनिन्छ । त्यही भागको कपाल निकालेर कपाल झरेको भागमा एक एकवटा ग्राफ्ट प्रत्यारोपण (रोप्ने) गरिन्छ । सर्जरीको माध्यमबाट कपाल प्रत्यारोेपण गर्दा मानिसलाई बेहोस बनाउनु पर्दैन । कपाल निकाल्ने र प्रत्यारोपण गर्ने भागमा लोकल एनेस्थेसिया दिएर प्रत्यारोपण गर्न सकिन्छ र बेहोस गर्नु पर्दैन ।
कपाल प्रत्यारोपण अगाडि आफ्नो सामान्य स्वस्थ्य जाँच गराउनुपर्छ । यसका साथै ब्लड प्रेसर, सुगर, कम्प्लिट ब्लड काउन्ट, हेमोग्लोबिन, एचआईभी लगायत आवश्यक परीक्षण गराउनुपर्दछ । चिकित्सकको सल्लाहमा एस्पिरिनलगायतका औषधि कम्तीमा १ हप्ता बन्द गर्नुपर्छ ।
कपाल प्रत्यारोपण गरिसकेपछि डोनर क्षेत्रलाई ब्यान्डेज पेपरटेप प्रयोग गरिन्छ जुन ४८ देखि ७२ घण्टा भित्र निकालिन्छ । सम्भावित संक्रमण नियन्त्रणका लागि आवश्यक पर्ने औषधिहरु दिइन्छ । प्रत्यारोपण गरिएको कपाल ४८ देखि ७२ घण्टा पछि बढ्न शुरु हुन्छ । तर एक–दुई महिनामा ८०–९०% कपाल झर्छ जसलाई टेलेगेन सेडिंग भनिन्छ । त्यसपछि पलाएको कपाल दीर्घकालीन हुन्छ र ४–६ महिनापछि कपाल कटाउन मिल्ने हुन्छ । करिब एक वर्ष भित्र कपाल बाक्लो भएर आउँछ र मुन्डन गरेपनि पुनः कपाल पलाइरहन्छ ।
प्रत्यारोपणपछि देखिने सामान्य असर
कपाल प्रत्यारोपण गरेका व्यक्तिहरुमा कुनै औषधिप्रति एलर्जी हुने, चिन्ता बढेजस्तो महशुुस हुने, हल्का ब्लिडिङ हुनेलगायतका सामान्य समस्या देखापर्नसक्छ । शल्यक्रियापछि डोनर क्षेत्रमा वा कपाल रोपिएको क्षेत्रमा हल्ला दुखाई महशुस हुनसक्छ जुन व्यक्तिपिच्छे फरक हुनसक्छ । केहीमा आँखा र निधार सुन्निने हुनसक्छ जुन एक हप्ताको समयमा हराएर जान्छ । यस प्रकारको समस्याले दिमाग र सामान्य स्वास्थ्यलाई केहि पनि असर गर्दैन ।

प्रतिक्रिया दिनुहोस्