Logo
|
Saturday 20th April 2024
Logo

epaper

जीवनशैलीमा परिवर्तन ल्याउँदा ८० प्रतिशत क्यान्सर टार्न सकिने

विश्वमा क्यान्सरबाट हुने ८० प्रतिशत मृत्युको कारक चुरोट, बिँडी, खैनीलगायत सूर्तिजन्य पदार्थ



पछिल्लो समय मानिसको खानपान, जीवनशैली तथा जलवायु परिवर्तनका कारण क्यान्सरका विरामीको संख्या बढी देखिन थालेको छ । ग्लोबोक्यान २०१८ को तथ्यांकले विश्वमा हरेक वर्ष १ करोड ८१ लाख क्यान्सरका नयाँ बिरामी थपिने र ९६ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको देखाएको छ ।

५ जना पुरुषमध्ये एकजना र ६जना महिलामध्ये एकजनालाई जीवनमा कुनै न कुनै किसिमको एकपटक क्यान्सर विकास हुने र ८ जना पुरुषमध्ये एक र ११ जना महिलामध्ये १ जनाको यसका कारण मृत्यु हुने गरेको छ । ग्लोबोक्यानले चार चार वर्षमा यस्तो तथ्यांक सार्वजनिक गर्ने गरेको छ । अहिले सबैभन्दा धेरै मान्छेलाई लाग्ने र मृत्यु हुने कारण फोक्सोको क्यान्सर देखिएको छ । यसको मुख्य कारण अत्यधिक चुरोटको सेवन हो । यद्दपी विश्वमा क्यान्सरबाट हुने ८० प्रतिशत मृत्यु चुरोट, बिँडी, खैनीलगायत सूर्तिजन्य पदार्थ मानिएको छ । क्यान्सर हुनमा कुनै बंशाणुगत कारण पनि हो । वंशाणुगत भनेको पाँच–दश प्रतिशत मात्र हो । ८०—९० प्रतिशत खानपान (खाना, चुरोट, रक्सी) मा भर पर्छ । चुरोट मात्रले ३० प्रतिशत क्यान्सर हुन्छ । जीवनशैलीमा परिवर्तन ल्याउँदा ८० प्रतिशत क्यान्सर हुने सम्भावना टार्न सकिने वरिष्ठ क्यान्सर विशेषज्ञ डा. मदनकुमार पीया बताउनुहुन्छ । जंकफूड, प्रदूषण, बाहिरी खाना खाने चलनले पनि क्यान्सर बढेर गएको छ । रोग लागेपछि एक लाख दिनुको सट्टा रोग लाग्न नदिन सरकारले जनचेतना फैलाएको भए ८० प्रतिशत क्यान्सर नै नहुने उहाँको भनाई छ । अहिले ९५ प्रतिशत क्यान्सर उपचार नेपालमा हुन्छ ।

कसरी नियन्त्रण गर्ने ?

शुरुको चरणमा अनियन्त्रित बढेका क्यान्सर कोषिकाहरुको नियन्त्रण र उपचारका लागि सर्जरी र रेडियोथेरापी प्रभावकारी मानिन्छ । यो क्यान्सर भएको भागमा केन्द्रित भएर गरिन्छ । शरीरभरी फैलिएको क्यान्सर उपचारका लागि किमो थेरापी दिने गरिन्छ ।

शुरुको अवस्थामा उपचार गरेमा सर्जरी र रेडियोथेरापीबाट निको पार्न सकिन्छ । रगत सम्बन्धि क्यान्सरको किमोथेरापीको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले धुमपान, मद्यपान जस्ता अस्वस्थ्यकर जीवनशैलीले सबैभन्दा धेरै क्यान्सर गराउँछ । त्यसैले क्यान्सरप्रति सजग र सचेत हुनु नै आजको आवश्यकता रहेको क्यान्सर विशेषज्ञ डा. सीमित सापकोटा बताउनुहुन्छ ।

उपचार नेपालमा सम्भव
क्यान्सर उपचारका लागि अव विदेश जानुपर्दैन । प्रायजसो सबै उपचार नेपालमा सम्भव भइसकेका छन् । कुनै पनि क्यान्सरको उपचारमा सही निदानको आवश्यकता पर्ने भएकाले विश्वस्तरीय अत्याधुनिक प्रविधि मुलुकमा भित्रिसकेको नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार नेपालमा नहुने कतिपय स्पेशल वायोप्सी जाँच गर्न बिरामी विदेश गएर नमूना दिनुनपर्ने र नमूना संकलन गरी विदेशका कुनै पनि ठाउँमा पठाएर बिरामीलाई भपरर्दो रिपोर्ट अस्पतालले उपलव्ध गराउने गरेका छन् । अहिले अत्याधुनिक रेडियोथेरापी प्रविधिबाट विभिन्न क्यान्सरको उपचार नेपालमै भइरहेको छ । क्यान्सर बिरामीहरुमध्ये अधिकांशको डरका कारण मृत्यु भइरहेको छ । त्यसैले क्यान्सर भन्नेबित्तिकै डराउने र आत्तिनु नपर्ने डा. श्रेष्ठको सुझाव छ ।

दोस्रो चरण पुगेको क्यान्सरको उपचार करिब ५०—६० प्रतिशतसम्म र सम्बन्धित अंगबाट बाहिर निस्किसकेको तेस्रो चरणको क्यान्सर करिब ३०—४० प्रतिशतसम्म निको पार्न सकिने उहाँको भनाई छ ।

त्यसैले क्यान्सरको उपचारमा लक्षण पर्खेर बस्न नहुने र उमेर पुगेका जोखिम वर्गका व्यक्तिले वर्षमा एकपटक क्यान्सर डायग्नोसिस गर्ने वातावरण सृजना गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ । 

 

प्रतिक्रिया दिनुहोस्