Logo
|
Wednesday 24th April 2024
Logo

epaper

के तपाईलाई पनि कब्जियत छ ? कब्जियत भएका व्यक्तिले कस्तो खाना खाने ?



प्रायः मानिसहरु समयमा दिसा भएन या दिसा साह्रो भयो भने कब्जियत भएछ भनेर बुझ्छन् । वास्तवमा, हप्तामा तिनपटक भन्दा कम दिसा भएमा, दिसा साह्रो भएमा र चर्पी बस्दा गाह्रो महशुस भएमा कब्जियत भएको मानिन्छ ।
कब्जियत विभिन्न कारणले हुने गर्दछ । यो विशेषगरी खानपानसँग सम्बन्धित समस्या हो । हामीले खाने खानामा रेशादार र फाइबरयुक्त खाना मात्रा कम भएमा, पानी तथा झोलिलो पदार्थ कम सेवन गरेमा साथै शरीरलाई आवश्यक पर्ने खानाको मात्रा भन्दा कम खाना सेवन गरेमा कब्जियतको समस्या हुन सक्दछ ।
गर्भवती महिला, मधुमेह रोगी र विशेषगरी मोटोपना भएको व्यक्तिलाई बढी कब्जियत हुने गर्दछ । यसका अलावा हर्मोनको गडबढी र अन्य कुनै रोगको औषधि सेवन गरिरहेको व्यक्तिहरुलाई पनि कब्जियत हुन सक्छ । यदि लामो समयसम्म कब्जियत भएमा यसले पायल्सको समस्या निम्त्याउन सक्छ ।
कब्जियत भएका व्यक्तिले कस्तो खाना खाने ?

हामीले दैनिक खाने खानामा हरियो सागपात, तरकारी, सलाद र फलफुल जस्ता रेशादार खानेकुराको मात्रा बढाउनुपर्छ । पाइलेस नगरिएका चामल र आँटाको पिठोबाट बनेका खानेकुरा बढि खानुपर्दछ । मैदाको पिठोबाट बनेका खानेकुरा सकेसम्म नखाँदा नै उत्तम हुन्छ । त्यसैगरी बोक्रा सहितको दाल र गेडागुडी सेवन गरेमा यसले कब्जियत हुनबाट बचाउँछ ।
हामीले पर्याप्त मात्रामा पानी पिउनुपर्दछ । वयस्क मानिसले एकदिनमा २.५ लिटर सम्म पानी पिउनुपर्दछ । पानीको सट्टामा पेप्सी, कोक र जुस जस्ता पेय पदार्थ पिउनु हुँदैन । यसले शरीरमा भएको पानीलाई झन बाहिर निकालिदिन्छ । जसले गर्दा शरीरलाई नकारात्मक असर पुर्याउन सक्छ । फलफुलको जुस भन्दा फलफुल नै सेवन गर्नुपर्दछ ।
यदि गर्भवती महिलालाई कब्जियत छ भने उसले पर्याप्त मात्रामा पानी पिउनुपर्दछ । त्यसैगरी थोरै मात्रामा पटक पटक खानेकुरा खाइरहनुपर्दछ । हरियोसागपात बढी खानुपर्दछ । खानामा सम्भव भएसम्म सिन्कि र गुन्द्रुक समावेश गर्नुपर्दछ । चाउचाउ, बिस्कुट लगायतका मैदाजन्य खानेकुरा खानुहुँदैन ।
यदि तपाइको दैनिक जस्तो माछा मासु खाने बानी छ भने यसले कब्जियतको समस्या ल्याउन सक्दछ । किनकी मासु बढी खाइसकेपछि रेशादार खानेकुरा कम खाइन्छ । जसले गर्दा कब्जियत बढाउछ । दिनमा चारपाँच पिस भन्दा बढी मासु सेवन गर्नुहुँदैन । मासु खाँदा काँक्रा, गाँजर र मुला लगायतका सलादलाई पनि समाबेश गर्नुपर्दछ ।
शारीरिक रुपमा निष्कृय हुने ब्यक्तिलाई बढी कब्जियतले सताउने गर्दछ । त्यसकारण नियमित शरीरिक व्यायाम गर्ने बानी बसाल्नुपर्दछ । दिसालाई लामो समयसम्म रोकेर राख्नु हुँदैन । यसो गरेमा दिसामा भएको पानीलाई आन्द्राले झनै सोसिदिन्छ । जसले गर्दा दिसा झन् कडा हुन्छ । शरीरलाई आवश्यक पर्ने खाना भोल्युम मिलाएर सेवन गरेमा दिसा सहि समयमा हुन्छ । हामीले खाने खाना सन्तुलित हुनुपर्दछ । रोग लागिसकेका ब्यक्तिले रेशादार खाना थप गर्नुपर्दछ । यसरी कब्जियतबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्