Logo
|
Friday 29th March 2024
Logo

epaper

प्रधानमन्त्री ओलीलाई कसले देला मिर्गौला दान ?

प्रत्यारोपण गरेको मिर्गौलाले १२ वर्षभन्दा बढी धानेन



जनस्वास्थ्य सरोकार । २०७२ सालको अन्तिमतिर प्रधानमन्त्री केपी शर्माओलीले भक्तपुरको सल्लाघारीस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अत्याधुनिक ग्याँस्ट्रोइन्टरोलोजी आईसियू र प्याथोलाजी सेवाको उद्घाटनका क्रममा भन्नुभएको थियो—‘म मिर्गौला प्रत्यारोपण गरेको मान्छे हुँ । तर आज मुलुकको प्रधानमन्त्री भएको छु । त्यसैले मिर्गौला फेल भयो भनेर दुःखी नहुनुस् । अब स्वदेशमै अति सस्तो मुल्यमा डायलाईसिस र मिर्गौला प्रत्यारोपण भइरहेको छ । ।’

अहिले प्रधानमन्त्री ६८ वर्षको हुनुभयो । प्रधानमन्त्री र प्रधानमन्त्रीले प्रत्यारोपण गरेको मिर्गौला (हाल पुन फेल) को उमेर ३५ वर्षको फरक छ । आफ्नो उमेर भन्दा मिर्गौलाको उमेर कम भएकाले आफूलाई जोस आउनु स्वभाविक भएको ठट्यौली गर्ने प्रधानमन्त्री वलीलाई २३ वर्षकी आफ्नो भाइबुहारी अञ्जान घिमिरेले मिर्गौला दान गर्नुभएको थियो ।

२०६४ साल साउनको अन्तिम हप्ता भारतको एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाले करिब १२ वर्ष जति धान्यो । गत २०७६ भदौ तिर मिर्गौलामा समस्या हुन थालेपछि सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उहाँको दुई हप्ताजति प्लाज्मा फेरेसिस गरिएको थियो । शरीरले अर्काको मिर्गौला भन्ने पहिचान गरेपछि एन्टिबडिज बनाउन थाल्ने भएकाले शरीरबाट एन्टिबडिज हटाउन ‘प्लाज्मा फेरेसिस’ गर्ने गरिन्छ । प्लाज्मा फेरेसिसले काम नगरेपछि डायलाइसिस या प्रत्यारोपण गरिन्छ । प्लाज्मा फेरेसिसबाट पनि समस्याको समाधान हुन सकेन । त्यसपछि प्रधानमन्त्री ओलीको मिर्गौलाले विस्तारै काम गर्न छाड्यो र अहिले उहाँ कात्तिकदेखि नियमित डायलाईसिसमा हुनुहुन्छ । अहिलेसम्म त प्रधानमन्त्री वली सक्रिय हुनुहुन्छ ।

एपोलोमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा पनि प्रधानमन्त्री वलीले भन्नुभएको थियो—‘म सक्रिय भएर काम गर्ने मान्छे हुँ । चाँडै अपरेसन गर्नुस् र चाँडै मैदानमा पुग्छु । बाँचुञ्जेलसम्म सक्रिय बाँच्छु । मलाई लामो जिन्दगी होइन, सक्रिय जीवन चाहिएको छ ।’

त्यो बेला केपी शर्मा ओली बैंककबाट स्वास्थ्य परीक्षण गरेर फर्किएको बेला परिवारका सदस्यको नाताले भाइ ताराप्रसाद ओलीर बुहारी अञ्जान घिमिरे बालकोट पुग्नुभएको थियो । भाइ र बुहारीको अगाडि प्रधानमन्त्री वली मुसुक्क हाँस्नुभयो । दिनको समय भएकाले बाहिर घाम पनि लागिरहेको थियो । तर वलीले दुवै मिर्गौला फेल भएको अन्धकार कथा सुनाउनुभएको थियो । त्यो सन्नाटालाई भाइबुहारी अञ्जानले त्यतिखेर चिरिदिनुभएको थियो ।

अब प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला फेलका कारण भएको अन्धकार जीवनलाई कसले मिर्गौला दान दिएर उज्यालोतर्फ लैजाने हो त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्