Logo
|
Thursday 25th April 2024
Logo

epaper

इरानका स्वास्थ्य उपमन्त्रीलाई कोरोनाभाइरस सङ्क्रमण



सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएका बेला विभिन्न देशहरूमा थप सङ्क्रमितहरू फेला पर्ने क्रम जारी छ। चीनपछि इटली, दक्षिण कोरिया र इरान नयाँ कोरोनाभाइरससँग जुधिरहेका छन् भने स्पेनमा एउटा होटलमा सयौँ मानिसहरूलाई कोठाभित्रै बस्न निर्देशन दिइएको छ। सोमवार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बाहरेनमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण फेला परेको बताइएको थियो। ती सबै देशमा सङ्क्रमण भएका पाइएकाहरू इरानबाट आएको बताइएको छ।

मन्त्रीलाई सङ्क्रमण

कोरोनाभाइरस सङ्क्रमण लगातार बढिरहेका बेला इरानका स्वास्थ्य उपमन्त्रीलाई पनि उक्त भाइरस सङ्क्रमण देखिएको खबर छ। इरानमा कोरोनाभाइरसका कारण हालसम्म पन्ध्र जनाको ज्यान गइसकेको आधिकारिक तथ्याङ्क आएको छ। तर मृतकको सङ्ख्या त्यसभन्दा निकै बढी हुनसक्ने बताइएको छ। इरानको एउटा पवित्र धार्मिक स्थलहरू रहेको सहरमा उक्त भाइरसको सङ्क्रमण केन्द्रित छ। त्यस सहरमा विश्वभरका सिया मुस्लिमहरू तिर्थयात्राका लागि जाने गर्छन्।

तयार रहन चेतावनी

कोरोनाभाइरसको प्रकोपलाई अहिले नै विश्वव्यापी महामारी भन्न सकिने अवस्था नरहेको भए पनि सबै देशहरू “तयारीको चरणमा” रहनुपर्ने विश्व स्वास्थ्य सङ्गठन डब्लू एच ओले जनाएका बेला विभिन्न देशहरूमा थप सङ्क्रमणका घटना बाहिर आएका छन्। स्वासप्रस्वासको समस्या उत्पन्न गराउने कोभिड-१९ को प्रकोप दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरूमा फैलिने क्रम जारी छ, जसले चिन्ता बढाएको छ। कोरोनाभाइरस फैलिरहँदा दक्षिण कोरियाले एउटा धार्मिक सम्प्रदायका दुई लाखभन्दा बढी सदस्यहरूमा उक्त भाइरस सङ्क्रमण भए नभएकोबारे परीक्षण गर्ने योजना बनाएको छ। त्यहाँ हालसम्म एघारजना मानिसहरूको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ भने करिब एक हजार मानिसहरू सङ्क्रमित भएको पुष्टि भएको छ। सङ्क्रमितहरूमध्ये एउटा धार्मिक सम्प्रदायकै करिब दुई तिहाई सदस्यहरू रहेका छन्।

स्पेनको होटलमा सङ्क्रमण पाइयो

एकजना इटालीका पाहुनामा कोरोनाभाइरस सङ्क्रमण पाइएपछि स्पेनको क्यानरी टापुस्थित एउटा होटलमा रहेका सयौँ मानिसहरूलाई आफ्नै कोठामा बस्न आदेश दिइएको छ। बिदा मनाउन उक्त स्थानमा आएका एकजना चिकित्सकमा सङ्क्रमण पाइएको हो। उनलाई अस्पताल भर्ना गरिएको छ। उनी कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावित उत्तरी इटलीबाट आएको बताइएको छ। युरोपमा सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भएको इटलीले देशको दक्षिणी भेगमा पनि पहिलो कोरोनाभाइरस सङ्क्रमणको पुष्टि गरेको छ। बिदा मनाउन उत्तरी सहर बेर्गमोबाट दक्षिणी सहर पलेमो पुगेकी एक महिलामा सङ्क्रमणको पुष्टि भएको हो। इटलीमा कोरोनाभाइरस सङ्क्रमण भएका मानिसहरूको सङ्ख्या २६० पुगेको बताइएको छ। इटलीका अधिकारीहरूसँग कुराकानी गर्न डब्लू एच ओको एउटा टोली रोम पुगेको छ।बीबीसी

प्रतिक्रिया दिनुहोस्