Logo
|
Thursday 28th March 2024
Logo

epaper

वाग्मती प्रदेश सरकारले मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम विस्तार गर्दै



जनस्वास्थ्य सरोकार, हेटौँडा । वाग्मती प्रदेश सरकारले मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई विस्तार गर्ने भएको छ । जनतालाई नसर्ने तर प्राणघातक रोगका बारेमा बेलैमा जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रमलाई प्रदेशका सम्पूर्ण नागरिकको पहुँचसम्म पु¥याउने तयारी थालिएको हो । कार्यक्रमअनुसार आगामी एक वर्षभित्र प्रदेशका २५ हजार विपन्न परिवारका सदस्यले निःशुल्क सेवा प्राप्त गर्नेछन् भने प्रदेशका अन्य ७५ हजार नागरिकले न्यून शुल्कमा आफ्नो स्वास्थ्य परीक्षण गराउन पाउनेछन् । कतिपय अस्पतालले आजभोलिबाटै र केहीले एक हप्ताभित्रमा कार्यक्रम शुरु गरिसक्ने र आगामी चैतको पहिलो हप्ताबाट सबै नागरिकलाई सेवा दिनेगरी कार्यक्रम शुरु गर्ने तयारी गरिएको प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो । अघिल्लो आर्थिक वर्षदेखि परीक्षणका रूपमा प्रदेशका पाँच जिल्लाका पाँच अस्पतालबाट शुरु गरिएको कार्यक्रम अब चैतबाट भने प्रदेशका १३ जिल्लाका १५ अस्पतालबाट एकैसाथ शुरु गर्न लागिएको हो । कार्यक्रमको शुरुआती चरणमा जेष्ठ नागरिक, दलित, महिला, विपन्न तथा अल्पसङ्ख्यकका लागि सेवा दिइएको भए पनि आगामी दिनमा कार्यक्रमको दायरा फराकिलो बनाएर कार्यक्रम शुरु गर्न लागिएको हो । विशेषगरी प्रदेशका नागरिकलाई नसर्ने रोगको सहज परीक्षण गरी समयमै उपचार गर्नका लागि सहजता होस् भन्ने उद्देश्यले प्रदेशका सम्पूर्ण नागरिकको पहुँच पुग्ने गरी कार्यक्रमलाई व्यापकरूपमा विस्तार गर्न लागिएको मन्त्री दुलाल बताउनुहुन्छ । नसर्ने रोगका बारेमा सम्पूर्ण शरीरको स्वास्थ्य परीक्षण गरेर आफूमा भएका स्वास्थ्य समस्याका बारेमा समयमै जानकारी होस् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको उहाँको भनाइ छ । प्रदेशको हेटौँडा अस्पतालसहितका १५ अस्पतालबाट लक्षित वर्गका नागरिकलाई स्थानीय तहको सिफारिसमा निःशुल्क परीक्षण गर्ने र अन्य नागरिकलाई न्यून शुल्कमा स्वास्थ्य परीक्षण गर्नेगरी कार्यक्रम ल्याइएको मन्त्री दुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्