Logo
|
Wednesday 24th April 2024
Logo

epaper

कोरोना भाइरसले युरोपेली मुलुक इटाली नराम्ररी प्रभावित



 विश्‍वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड १९) ले युरोप पनि आक्रान्त भएको छ । यसबाट युरोपेली मुलुक इटाली सबैभन्दा नराम्ररी प्रभावित भएको छ । समाचार तयार पार्दासम्म इटालीमा १२ जनाको मृत्यु भइसकेको छ भने ४ सय ७० जनामा संक्रमण देखिएको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट कोरोना फैलिएयता बेलायतमा ७ हजार एक सय ३२ जनाले परीक्षणगराइसकेको जनाइएको छ। तीमध्ये १३ जनामा पाजिटिभ भेटिएको थियो।बेलायतले कोरोना भाइरसविरुद्ध उच्च सतर्कता अपनाएको छ। बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले सरकारले सर्वसाधारणका लागि जनचेतना अभियान सञ्चालन गर्ने बताएका छन्। बेलायती संसद् ‘हाउस अफ कमन्स’मा भाइरसबारे पछिल्लो अपडेट गराउदै मन्त्री ह्यानककले बेलायतले अरु धेरै केस सामना गर्नुपर्ने स्वीकार्दै अहिले नै यसबारे बढी उत्तेजनात्मक प्रतिक्रिया नदिन आग्रह गरेका छन्।

बेलायती अखबार डेली मिररले एउटा सरकारी कागजातलाई उद्धृत गर्दै बेलायतमा कोरोना फैलिए ५ लाखको मृत्यु हुन सक्ने र ८० प्रतिशत बेलायती संक्रमित हुने चेतावनी दिएको उल्लेख गरेको छ।

बेलायतमा दुई सातायता चीन, थाइल्याण्ड, जापान, दक्षिण कोरिया, हङकङ, ताइवान, सिंगापुर, मलेसिया र इटालीबाट फर्किएपछि भाइरसको लक्षण देखिए एनएचएस १११ मा सम्पर्क गर्न भनिएको छ।

ब्रिटिस एयरवेजले २७ फेब्रुअरी देखि ११ मार्चसम्म लन्डन-मिलानका २२ राउण्ड उडान रद्द गरेको छ। तेल कम्पनी चेभरोनले आफ्नो एक कर्मचारीको परीक्षणपछि लन्डनका तीन सय जना कर्मचारीलाई घरबाटै काम गर्न भनेको छ।

इटालीबाट फर्किएका विद्यार्थी पढ्ने ८ विद्यालय बन्द गरिएको छ। बेलायतभरका ८ वटा अस्पताल र १०० वटा जीपी सर्जरीमा कोरोना भाइरस परीक्षण गर्नेहरु बढेका छन्।

लन्डनमा कोरोना भाइरसको बिरामीको उपचारका लागि विशिष्ट अस्पतालहरु छुट्याइएको छ। गाइज, रोयल फ्रि, सेन्ट थोमस आदि अस्पतालमा कोरोना भाइरसको उपचार गर्ने व्यवस्था छ। अरु अस्पतालबाट त्यस्तो अस्पतालमा बिरामी लैजाँदा विशेष खालको एम्बुलेन्स ब्यवस्था गरिएको छ।

बेलायतमा करिब दुई लाख नेपाली रहेको अनुमान छ। अन्य युरोपेली देशहरु आक्रान्त बनिरहेका बेला बेलायतवासी नेपाली पनि कोराना भाइरसबाट त्रसित देखिन्छन्।

‘उच्च सतर्कता हुँदाहुँदै पनि रोग सर्न सक्ने जोखिम देखिएको छ। हामी त अझ हस्पिटलमा कामगर्ने भएकाले निकै डर लागेको छ’, सोनिया गुरुङ त्रसित छिन्।

नेपलिज नर्सिङ एसोसिएसन यूकेका अध्यक्ष विनोदविकास सिम्खडा सेन्ट्रल लन्डन कम्युनिटी एनएचएस ट्रष्टमा काम गर्छन्। उक्त ट्रष्टका लन्डनका धेरै ठाउंमा कम्युनिटी क्लिनिक छन्। ‘ती सबै क्लिनिकमा आउने बिरामीहरुका लागि छुट्टै प्रोटोकल छ’, सिम्खडाले भने, ‘यदि कुनै बिरामीलाई शंकास्पद लक्षण देखिएमा क्लिनिकमा नआउन बरु घरबाटै फोनमा सम्पर्क गर्न सल्लाह दिइएको छ।’ उक्त ट्रष्टले कुनै कर्मचारी संक्रमित क्षेत्रबाट फर्किएको छ भने १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको छ।

‘हाम्रो ट्रष्टको क्लिनिकमध्ये निकै व्यस्त हुने लन्डन चाइना टाउन नजिकको सोहो हेल्थ सेन्टर अहिले एकदम सुनसान छ,’ सिम्खडा भन्छन्, ‘चाइनिज नेसनल हेल्थी लिभिङ सेन्टर पनि एउटै भवनमा भएर होला, क्लिनिक सुनसान देखिन्छ।’

लन्डन हयाम्सटेडस्थित रोयल फ्रि अस्पतालमा कार्यरत युरोलोजिष्ट डा. पारस सिंह कोरोना भाइरस संक्रमित बिरामी उपचार गरिनेमध्ये आफ्नो एउटा अस्पताल भएको बताउँछन्। ‘इंग्ल्याण्डको जनस्वास्थ्य विभागले दिएको निर्देशिकाअनुसार नै हामी चल्नुपर्छ’, सिंहले कान्तिपुरसँग भने, ‘उक्त विभागको उपचार विधि, शंकास्पद बिरामी पहिचान र व्यवस्थापन, ट्राभल एड्भाइस आदि अनुशरण गर्न भनिएको छ।’ डा. सिंह उच्च ज्वरो, सुख्खा खोकी र सास फेर्न गार्हो हुनु कोरोना भाइरसको लक्षण भएको बताउँछन्।

नेसनल हेल्थ सर्भिस (एनएचएस) इंग्ल्याण्डले हरेक अस्पतालमा गर्नुपर्ने तयारी र उपचार विधिका लागि निर्देशिका जारी गरेको क्वीन एलिजावेथ अस्पतालका वरिष्ठ व्यवस्थापक डा. बच्चुकैलाश कैनी बताउंछन्।

‘हरेक अस्पतालमा शंकास्पद बिरामी आउन साथ कसले कसरी जाँच गर्ने, कस्तो किसिमको सतर्कता अपनाउने, अस्पतालको कुन ठाउँमा लगेर राख्ने समेतको ब्यवस्था गरिएको छ’, कैनीले जनाए।अस्पतालमा काम गर्ने कर्मचारीहरुबीचमा समेत कोरोना भाइरसबारे व्यापक सचेतना बढाउने कार्यक्रम गरिएको छ।

फ्रान्समा कोेराेना भाइरसका कारण चीनको वुहानबाट आएका एकजना चिनियाँ पर्यटकसहित २ जनाको मृत्यु भएको छ।

हालसम्म विश्‍वका ४७ देशमा ८२ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन्। त्यस्तै कोरोनाका कारण चीनमा दुई हजार ७ सय ४४ सहित दुई हजार ८ सय जनाको मृत्यु भएको छ। चीनबाहिर इरानमा १९, इटाली र दक्षिण कोरियामा १२-१२, जापानमा ७, हङकङ र फ्रान्समा २-२ तथा ताइवान र फिलिपिन्समा १-१ जनाको मृत्यु भएको छ।

विश्व स्वास्थ्य संगठनले चीनमा भन्दा चीनबाहिर धेरै केस भेटिएको जनाएको छ। मंगलबार चीनमा ४११ जनामा कोरोना भाइरस देखिँदा चीनबाहिर ४२७ जना संक्रमित भएका छन्।

अष्ट्रिया, क्रोएसिया, ग्रीस र स्विजरल्याण्डले पहिलोपटक संक्रमण भेटिएको जनाएका छन्। इटालीबाट फर्किएकाबाट ती देशमा संक्रमण भएको हो। अफ्रिकी मुलुक अल्जेरिया र ल्याटिन अमेरिकी मुलुक ब्राजिलमा पनि पहिलोपटक संक्रमण देखिएको समाचारमा जनाइएको छ।कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्