Logo
|
Saturday 6th June 2020
NEWS PAPER

पित्तथैलीमा पत्थरी भए क्यान्सरको जोखिमः कसरी गरिन्छ उपचार ?



Health News

पित्तथैली हाम्रो पेटको दायाँपट्टी भागमा कलेजोको ठिक मुनी अवस्थित हुन्छ । यसको आकार नास्पातीको जस्तै हुन्छ । पित्तथैलीको लम्बाई ७ देखी १० सेन्टिमिटर सम्म हुन्छ । पित्तथैलीले हामीले खाएको चिल्लो खाना पचाउने काम गर्छ । यसले ३० देखि ५० मिलिलिटर सम्म पित्त भण्डारण गरेर राखेको हुन्छ । जब हामीले चिल्लो खानेकुरा खान्छौँ, पित्तथैलीबाट पित्त बगेर आन्द्रामा जाने गर्दछ र यसले चिल्लो खानेकुरालाई पचाउन मद्धत पुर्याउछ । पित्तथैलीमा विभिन्न किसिमका समस्या देखिन सक्छन् । जस्तै, पित्तथैली पाक्ने, पित्तथैलीमा पत्थरी हुने, पित्तथैलीको क्यान्सर, ट्युमर र ग्यास्ट्रिकजन्य रोगहरु आदि ।
किन हुन्छ पित्तथैलीमा पत्थरी ?
सामान्यतया ४० वर्ष कटिसकेपछि मानिसहरुलाई पित्तथैलीको पत्थरी हुन सक्छ । जसलाई फोर्टी फ्याटी फिमेल पनि भनिन्छ । कम उमेरकालाई पत्थरी नहुने भन्ने होइन । ७–८ वर्षको बच्चामा पनि पित्तथैलीको पत्थरी भएर आउने गरेका छन् । पुरुषको तुलनामा महिलाहरुलाई बढी पित्तथैलीको पत्थरी हुन सक्छ । खानपान र जीवनशैली लगायतका विभिन्न कारक तत्वहरुले पित्तथैलीमा ढुङ्गा बनाउन मद्धत पुर्याउँछ । बढी विलासि जीवन बिताउने, शारीरिक व्यायाम नगर्ने, मोटोपना बढी भएको, लामो समय खाना नखाई बस्ने, चिल्लो र कोलेस्टोर भएका खाना बढी खाने मानिसहरुलाई पित्तथैलीको पत्थरी हुन सक्छ ।
त्यसैगरी सिकलसेल एनिमिया र कलेजो सम्बन्धी रोग भएका मानिसलाई पनि पत्थरी हुन सक्ने सम्भावना रहन्छ । यसका अलावा पित्तथैली र पित्तनलीको संक्रमण भएमा र गर्भनिरोधक चक्की सेवन बढी गर्ने महिलालाई बढी पित्तथैली पत्थरी हुन सक्छ ।
कोलिसिस्टोकाइनिन् (सीसीके), थाइरोक्सिन र मोटिलिन जस्ता विभिन्न किसिमका हम्रोनहरुले पित्तथैलीको कामलाई मद्धत पुर्याईरहेको हुन्छ । यदि हर्मोनको मात्रा कमी भयो भने पनि पत्थरी बन्ने सम्भावना रहन्छ । पित्तथैलीमा २ मिलिमिटर देखि ४ सेन्टिमिटरसम्मको ढुङ्गा बन्न सक्छ ।
कस्ता कस्ता लक्षणहरु देखिन्छन् ?
विश्वका लगभग १० देखि १५ प्रतिशत जनसंख्यालाई पित्तथैलीमा पत्थरी भएको अनुमान गरिन्छ । लिट्रेचरले भने अनुसार ५० देखि ८० प्रतिशतलाई बिना कुनै लक्षण पत्थरी भइसकेको हुन्छ । पित्तथैलीमा पत्थरी हुँदा केही लक्षणहरु देखा पर्न सक्छन् । विशेषगरी चिल्लो खानेकुरा खाइसकेपछि पेटको दायाँ पट्टी र करङमुनी बेस्सरी दुखाई महशुस हुन्छ । यसका अलावा पेट फुल्ने, अपच हुने, अमिलो पानी र डकार धेरै आउने जस्ता लक्षणहरु पनि देखिन सक्छन् ।
जटिलता
पित्तथैलीमा बनेको पत्थरी हेर्दा सामान्य ढुङ्गा जस्तो मात्र लागेपनि यसको जटिलता सामान्य देखि ज्यान समेत उच्च जोखिममा पर्न सक्ने खालका हुन्छन् । पित्तथैलीमा संक्रमण भएर पाक्न सक्छ । जसले गर्दा पित्तथैली सुन्निएर ज्वरो आउने, वाकवाक लाग्ने, खान मन नलाग्ने जस्ता समस्या देखिन सक्छन् । यदी पित्तथैलीको ढुङ्गा बगेर नलीमा गएर अड्किएको खण्डमा जन्डिसका लक्षण देखिन सक्छन् । यदी ढुङ्गा पाचनग्रन्थीको नलीमा अड्किएको खण्डमा एक्युट प्यान्क्रियाटाइटिस् (पाचनग्रन्थी अचानक सुन्निने) हुन सक्छ । यसले जटिल रुप लिएको अवस्थामा १० जना मध्ये २–३ जनाको ज्यान समेत जान सक्छ । पित्तथैलीमा पत्थरी भएमा १ देखि ३ प्रतिशत जनसंख्यालाई क्यान्सर समेत हुन सक्छ ।

उपचार कसरी गरिन्छ ?
सामान्यतया पित्तथैलीमा पत्थरी भइसकेपछि शल्यक्रिया विधिबाट उपचार गरिन्छ । यसमा पित्तथैली निकालेर फाल्नुपर्ने हुन्छ । शल्यक्रिया दुई किसिमले गर्न सकिन्छ । पुरानो विधिबाट शल्यक्रिया गर्दा ५–७ सेन्टिमिटर चिरेर घाउ बनाइ पित्तथैली निकाल्नुपर्ने हुन्छ । यसरी चिरेर शल्यक्रिया गर्दा जटिलता धेरै आउनसक्ने भएकाले आजकल दुरविनबाट शल्यक्रिया गर्ने प्रविधि लोकप्रिय बन्दै गइरहेको छ । यसलाई मेडिकल भाषामा ल्याप्रोस्कोपिक कोलिक्सिस्टेक्टोमी भनिन्छ । शल्यक्रिया गर्नका लागि सर्वप्रथम पेटमा ३–४ वटा स–साना प्वालहरु पारिन्छन् । सोही प्वालबाट दुरविनलाई भित्र छिराई पित्तथैली निकालिन्छ ।
यस प्रविधिबाट शल्यक्रिया गर्दा घाउ सानो हुने भएकाले घाउ चाँडै निको हुन्छ । खत पनि ठुलो बन्दैन । साथै संक्रमण हुने सम्भावना न्युन हुन्छ । बिरामीलाई धेरै दिन अस्पताल राख्नुपर्दैन । चाँडै काममा फर्किन सकिन्छ । विकसित मुलुकमा आजकल यसलाई डे केयर सर्जरीको रुपमा लिइन्छ । बिरामी बिहान आउछन् शल्यक्रिया सकाएर बेलुका घरै फर्किन्छन् । तर हाम्रो मुलुकमा सबै सेवा सुविधा नभएकाले बिरामीलाई अस्पतालमै राख्ने चलन छ ।
शल्यक्रिया गरिसकेपछि कस्ता कस्ता जटिलता आउन सक्छ ?
पित्तथैलीको काम पित्त भण्डारण गरेर राख्ने मात्र हो । यसले पित्त बनाउदैन् । पित्तथैली निकालिसकेपछि केहि मानिसहरुलाई अप्ठेरो पर्न सक्छ । कसैलाई चिल्लो खाना नपच्ने हुन्छ । कसैलाई पोष्ट कोलेसिस्टेक्टोमी सिन्ड्रोम जस्ता समस्या देखिन सक्छ । शल्यक्रिया गरेको १५ देखि २० प्रतिशत मानिसहरुलाई क्रोनिक डाइरिया अर्थात दिनमा २ देखि ३ पटक सम्म दिसा जानुपर्ने हुन सक्छ ।
शल्यक्रिया गरिसकेपछि कसरी सावधानी अपनाउने ?
सर्वप्रथम शल्यक्रिया गरिसकेपछि घाउको स्याहार राम्रोसँग गर्नुपर्छ । गहु्रगो सामान उचाल्नुहँदैन् । चिल्लो, भुटेको र तारेको खानेकुरा बढी सेवन गर्नुहुँदैन । साथै नियमित फलोअपका लागि अस्पताल आउनुपर्छ ।

(जनरल सर्जन डा.पराजुली त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्