Logo
|
Saturday 20th April 2024
Logo

epaper

विद्यालय बन्दमा पनि बाहिर ननिस्किन बालबालिकालाई शिक्षामन्त्रीको आग्रह



जापानका शिक्षामन्त्री कोइची हागिउदाले जापान सरकारले आगामी केही दिनमा देशैभरका विद्यालय बन्द गर्न लागेको जानकारी दिँदै त्यस समयमा घरभित्रै बस्न बालबालिकालाई आग्रह गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमणको त्रासमा जापान सरकारले पनि आगामी मार्च २ देखि देशैभरका विद्यालय बन्द गर्न लागेको जनाएको छ । शिक्षामन्त्री कोइची हागिउदाले शुक्रबार सो जानकारी दिनुभएको हो ।
साथै उहाँले त्यस अवधिमा बालबालिकालाई घर बाहिर ननिस्कन भन्नुभएको हो । मार्च २ तारिखदेखि यहाँको सरकारले विद्यालय बन्दको कार्यक्रम राखेको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जापान सरकारले यो नीति अख्तियार गर्न लागेको उहाँले बताउनुभयो । विद्यालयमा बालबालिकाका माध्यमबाट पनि प्राणघातक यस भाइरसको सङ्क्रमण बढ्न सक्ने अनुमान गरेर सरकारले यो नीति लिएको हो ।

शिक्षामन्त्री हागिउदाले भन्नुभयो– विद्यालय बन्द गरिएपनि बालबालिका खेल्न या अरु कारणले बाहिर जाने अवस्था भयो भने उक्त सङ्क्रमणको प्रकोप फैलिने क्रम नरोकिन सक्छ, त्यसैले बालबालिकालाई घरमै राख्नका लागि सबैको सहयोगको आवश्यकता छ ।

यस कार्यका लागि बालबालिकाका आमाबुबाका साथै सबै मन्त्रालय र निकायको पनि सहयोग र समन्वय आवश्यक रहेको धारणा पनि उहाँले राख्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।
कोरोना भाइरसको त्रास रहेको जापानमा पनि समूहगत रुपमा यसको सङ्क्रमण फैलिने काममा विद्यालय पनि पहिलो खतराको सूचीमा रहेको विज्ञहरुले दिएको सुझावका आधारमा यो निर्णय लिइएको पनि उहाँले जानकारी दिनुभयो ।
जापान सरकारले यही मार्च २ तारिखदेखि प्राथमिकदेखि माध्यमिकसम्मका सबै विद्यालय बन्द गर्ने औपचारिक निर्णय गरिसकेको छ ।
जापान सरकारले विद्यालय बन्दको यो कार्यक्रम अकस्मात ल्याएको बताइएको छ । यस विषयको कुनै तयारी यसअघि नगरिएको शिक्षा अधिकारीहरुले जनाएका छन् ।

यसअघि कुनै छलफल नै नभएको यस विषयमा सरकारले बिहीबार अकस्मात निर्णय सुनाएको र त्यसको कुनै पनि तयारी नरहेको विद्यालय तहका शिक्षक र अभिभावकहरुले जानकारी दिएका छन् ।
विद्यालय बन्दको यस कार्यक्रमको सार्वजनिक घोषणा जापानी प्रधानमन्त्री सिन्जो आबेले गर्नुभएको थियो । प्रधानमन्त्री आबेले बिहीबार शिक्षा क्षेत्रका अधिकारीहरुको बैठक बोलाएर विद्यालयहरु बन्द गर्न सार्वजनिक घोषणा गर्नुभएको थियो ।

सरकारको यही घोषणाको कार्यान्वयनका लागि आवश्यक सहयोगको याचना जापानी शिक्षामन्त्री हागिउदाले गर्नुभएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा
–––

प्रतिक्रिया दिनुहोस्