Logo
|
Friday 19th April 2024
Logo

epaper

प्रधानमन्त्री ओलीको अस्पतालमा अब्जर्भेसन,प्रत्यारोपणमा तीन/चार घण्टा लाग्ने

आफ्नै देशका अनुभवी चिकित्सकद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु -प्रधानमन्त्री



जनस्वास्थ्य सरोकार, काठमाडौं । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि काठमाडौंको त्रि.बि.शिक्षण अस्पतालमा फागुन १९ गते बेलुका भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अब्जर्भेसनमा हुनुहुन्छ । उहाँको बुधबार अर्थात २१ गते दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ ।
उहाँको पहिलो मिर्गौला प्रत्यारोपण २००७ सालको अगष्टतिर भारतको एपोलो अस्पतालमा भएको थियो । त्यो बेला उहाँकी २३ वर्षीया भाइ बुहारी अञ्जान घिमिरेले मिर्गौला दान दिएर सहयोग गर्नुभएको थियो । त्यतिखेर ओली ५७ वर्षको हुनुहुन्थ्यो । पहिलो प्रत्यारोपण गरिएको मिर्गौलाले करिब १२ वर्ष धान्यो । अहिले दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणमा ओलीकी ३२ वर्षीया भान्जी समिक्षा संग्रौलाले मिर्गौला दान गर्दै हुनुहुन्छ । अहिले ओली ६९ वर्षको हुनुभएको छ । त्रि.बि.शिक्षण अस्पतालका युरोलोजी विभागका विभागीय प्रमुखसमेत रहनुभएको वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. उत्तम शर्माको नेतृत्वमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपपण हुँदै छ । प्रत्यारोपणमा वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली पनि संलग्न हुनुहुन्छ । प्रधानमन्त्री ओलीको निजी चिकित्सकसमेत रहेकी नेफ्रोलोजी विभागकी प्रमुख वरिष्ठ मिर्गौला विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाहले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा समन्वय गर्नुभएको छ । शल्यक्रियामा नेफ्रोलोजी विभागका डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल, डा. महेश प्रधान, डा. सुभाष आचार्यलगायतका चिकित्सक संलग्न हुने अस्पतालले जनाएको छ । प्रत्यारोपणमा तीन/चार घण्टा जति लाग्ने सम्बन्धित चिकित्सकको भनाइ रहेको छ ।
‘अहिले सम्म त्रि.बी.शिक्षण अस्पतालमा ६ सय भन्दा बढीको मिर्गौला प्रत्यारोपण भइसकेको छ । तर संवेदनशील व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्दा हामीहरुले व्याकअपमा अन्य सर्जनलाई पनि राख्नुपर्ने हुन्छ । यसका लागि दिल्लीस्थित म्याक्स अस्पतालका मिर्गौला प्रत्यारोपण विभागमा निर्देशक डा.अनन्त कुमारलाई बोलाइएको छ ।’ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. उत्तम शर्माले भन्नुभयो, ‘मिर्गौला लिने र दिनेबीच क्रस म्याचिङ गर्नुपर्छ । अहिले मोटामोटी सबै काम सकिएको छ । प्रत्यारोपण गरेपछि सामान्यत ७ देखि १० दिनसम्म अस्पताल बस्नुपर्ने हुन्छ । यो प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा निर्भर हुनेछ ।’ मिर्गौला दाता संग्रौलालाई भने ३ देखि ४ दिनमा अस्पतालबाट डिस्चार्ज गर्न सकिनेछ ।
२०७६ भदौ तिर मिर्गौलामा समस्या हुन थालेपछि सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उहाँको दुई हप्ताजति प्लाज्मा फेरेसिस गरिएको थियो । शरीरले अर्काको मिर्गौला भन्ने पहिचान गरेपछि एन्टिबडिज बनाउन थाल्ने भएकाले शरीरबाट एन्टिबडिज हटाउन ‘प्लाज्मा फेरेसिस’ गर्ने गरिन्छ । प्लाज्मा फेरेसिसले काम नगरेपछि डायलाइसिस या प्रत्यारोपण गरिन्छ । प्लाज्मा फेरेसिसबाट पनि समस्याको समाधान हुन सकेन । त्यसपछि प्रधानमन्त्री ओलीको मिर्गौलाले विस्तारै काम गर्न छाड्यो । कात्तिकदेखि उहाँ नियमित डायलाईसिसमा हुनुहुन्थ्यो ।
यसैबीच मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जानुअघि प्रधामन्त्री ओलीले दिएको भिडियो सन्देशको पूर्ण पाठ जस्ताको तस्तै प्रस्तुत गरेका छौं ।
सन्देशको पूर्णपाठ
मेरो जीवन कुनै न कुनै रुपको संघर्षमा वित्दैआएको छ । कहिले निरंकुशताबिरुद्ध लोकतन्त्रका लागि संघर्ष । कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि संघर्ष त कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेसँगको संघर्ष । मुलुकमा व्याप्त यस प्रकारका विविध समस्याहरुसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म वाध्य हुन पुगेको यहाँहरु सबैलाई जानकारी नै छ ।
यसै सन्दर्भमा आजभन्दा झण्डै १२ वर्ष अघि मेरा दुवै मिर्गौलाले काम गर्न छाडेपछि ६४ साउनमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ । त्यसबेला नेपालमा मिर्गौला प्रत्यारोपण सेवा थिएन । पर्सी फागुन २१ गते बुधबार फेरि मैले मिर्गौला प्रत्यारोपण गराउँदै छु । त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुँदैछु ।
विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले पहिलेजस्तो जटिल मानिदैन । यसपटकको मिर्गौला प्रत्यारोपण तुलनात्मक रुपमा सजिलो हुने मैले विश्वास लिएको छु । त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु ।
भनिन्छ नि, आशाको दीगो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुद तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं । त्यसलाई ब्यूँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्व वरिपरी तपाई सबैले आफूलाई उभ्याउनुभयो । यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौं, जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छाड्दैन त्यसैगरी हाम्रा भर्खर जागृत हुँदैगरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न ।
संसारमा कोही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन । हाम्रा जागृत हुँदै गरेका सपना साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नुनै भएको छ । म पुन एक पटक आग्रह गर्दछु । मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क हुनुस् । हामीले देखेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाई र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर म काममा फर्कने छु । यस बीचमा सरकारका तर्फबाट गर्नुपर्ने सबै काम नियमित रुपमा अघि बढ्ने छ ।
विश्वलाई नै पिरोली रहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस् वा भइपरिआउने कुनै पनि विषयलाई प्रभावकारी ढंगले कार्यान्वयन गरेर परेको समयमा आवश्यक निर्णय लिन सक्ने आवश्यक संयन्त्र र अन्य व्यवस्था मिलाएको छु ।
मेरो अस्पताल बसाईको समयमा पार्टी र संसद दुवैतिर आवश्यक कार्य सम्पादन गर्न जिम्मेवार नेता, कार्यकर्ता, सांसदहरु र लाखौं पार्टी सदस्यहरु निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु । मेरो शीघ्र स्वास्थ्यलाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण मित्रहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्