Logo
|
Thursday 25th April 2024
Logo

epaper

डिस्चार्ज भएको दुई दिनमै प्रधानमन्त्री २ घण्टा ‘कन्फरेन्स’ मा



जनस्वास्थ्य सरोकार, काठमाडौँ  ।  दोस्रो पटक मिर्गौला प्रत्यारोपणका क्रममा १२ दिन अस्पताल बसेर निवास फर्केका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सार्क राष्ट्रका सरकार, राष्ट्रप्रमुख र प्रतिनिधिहरूको भिडियो कन्फरेन्समा दुई घण्टा सिंहदरबारमा बसे । केही गलेको अनुहार देखिए पनि उनले उक्त अवधिमा झन्डै पाँच मिनेट लिखित मन्तव्य राखे । मन्तव्यपछिको छलफलमा पनि उनले झन्डै १० मिनेट बोले ।  भर्खरै ठूलो अप्रेसनबाट फर्किएका प्रधानमन्त्रीलाई दुई दिनभित्रै किन यस्तो लामो कन्फरेन्समा ल्याइयो भन्ने प्रश्न सामाजिक सञ्जालमा उठेका छन् । प्रधानमन्त्रीले किन उपप्रधानमन्त्री वा अन्य कसैलाई प्रतिनिधिका रूपमा सहभागी नगराएको भन्ने पनि प्रश्न उठेको छ । जबकि भिडियो कन्फरेन्समा पाकिस्तानका तर्फबाट स्वास्थ्य राज्यमन्त्री सहभागी थिए । बाहिरबाट यी प्रश्न उठे पनि प्रधानमन्त्री ओली चिकित्सकीय मापदण्डहरू पूरा गरेर र निजी चिकित्सकहरूको परामर्श लिएरै कन्फरेन्समा सहभागी भएको उनका सल्लाहकारले जानकारी दिएका छन् । ‘डाक्टरहरूले सबै जाँच गरेर कन्फरेन्समा सहभागी हुन सक्ने परामर्श दिएपछि उहाँ सहभागी हुनुभएको हो,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘उहाँ आफैंले पनि जान सक्छु भनेपछि सिंहदरबार आउनुभएको हो ।’

भिडियो कन्फरेन्सका लागि ओली सिंहदरबार आउने भएपछि कार्यालय वरिपरिको क्षेत्रलाई ‘डिस इन्फेक्टेड स्प्रे’ गरिएको थियो । बगैंचादेखि भवनको भित्री भाग हुँदै कन्फरेन्स कोठासम्म विशेष स्वास्थ्य सावधानी अपनाइएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध सार्क राष्ट्रहरूको संयुक्त सहकार्यको प्रस्ताव गरेपछि गत शुक्रबार अस्पतालबाटै प्रधानमन्त्री ओलीले त्यसको स्वागत गरेका थिए । त्यही साँझ उनी अस्पतालबाट बालुवाटार फर्केका थिए । ओलीलाई संक्रमण हुन नदिन निवासमा पनि विशेष सावधानी अपनाइएको छ । ओलीले भने निवास फर्केको भोलिपल्टैबाट भेटघाट थालिसकेका छन् । शनिबार उनले आफ्नो सचिवालय कर्मचारीलाई भेटे । त्यसपछि नेकपा सचिवालयका केही शीर्ष नेताहरूसँग बालुवाटारमा अनौपचारिक बैठक गरेका थिए ।

प्रधानमन्त्री ओली आइतबार बिहान मिर्गौला प्रत्यारोपणपछि मूत्रनलीमा राखिएको स्टेन्ट निकाल्न शिक्षण अस्पताल गएका थिए । मिर्गौला प्रत्यारोपणपछि नयाँ मिर्गौलाबाट पिसाब सहजै मूत्रथैलीसम्म पुगोस् भनेर स्टेन्ट राखिन्छ । उक्त स्टेन्ट झिकेर बालुवाटारै फर्किएका उनी ५ बजे भिडियो कन्फरेन्समा सहभागी हुन सिंहदरबार आएका थिए ।कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्