Logo
|
Thursday 25th April 2024
Logo

epaper

माक्स लगाएर मात्र सार्वजनिक सवारीसाधन चढौँ



काठमाडौँ — साझा यातायातले दुई दिनयता ग्यारेजबाट यात्रु लिन सडकमा निस्कनुअघि कीटाणु मार्ने झोल छर्किन थालेको छ । कोभिड–१९ को जोखिम कम गर्न बिहान ग्यारेजबाट निस्कनुअघि यातायातका कर्मचारीले सफा गर्ने र झोल छर्कन थालेका हुन् । जसले बस चलाउने र यात्रुसँग भाडा उठाउने हो त्यो सहचालकको पनि तापक्रम नापेर मात्रै बस चलाउन दिने गरेको साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधारले बताए ।  ‘यात्रुबाट यात्रुमा नसर्ने गरी यात्रा गराउने त कुनै उपाय छैन,’ उनले भने, ‘कमसेकम स्टाफबाट यात्रुलाई नसरोस् भनेर ज्वरो आएका स्टाफलाई बस चलाउन रोक लगाएका छौं ।’ झोल छर्किनेबाहेक साझा बसमा कोभिडबारे सचेतनामूलक सूचनासमेत टाँसिएका छन् । बसबाट अन्तिम स्टेसनमा यात्रु ओर्लिएपछि नयाँ यात्रु हाल्नुभन्दा पहिले फेरि सफा गर्ने गरिएको छ । स्वास्थ्य सेवा विभागको सहकार्यका साझा यातायातले यस्तो अभियान सुरु गरेको तुलाधरले बताए । संक्रमणबारे जनचेतना फैलाउनका लागि अडियो र भिडियोसमेत बनाएर ६५ वटै बसमा चलाइने तयारी भइरहेको उनले जानकारी दिए । काठमाडौं र लतिपुरमा चल्ने सुन्दर यातायातले त एक साताअघिदेखि यात्रु चढाउनुअघि तापक्रम नाप्ने गरेको छ । एक सय डिग्रीभन्दा बढी तापक्रम भएका यात्रुलाई मास्क दिने र अस्पताल जान सुझाउने गरेको सुन्दर यातायात प्रालिका सञ्चालक भेषबहादुर थापाले बताए । ‘बसलाई दैनिक डिटोल पानीले धुन्छौं,’ उनले भने, ‘बिहान ग्यारेजबाट निस्कनुअघि स्यानिटाइजर छर्कने गरिरहेका छौं ।’ थर्मल गनको संख्या बढाएर अन्य बस चढ्नका लागि कुर्न बसेका सबै यात्रुको ज्वरो नाप्ने उनले बताए । साझा र सुन्दर यातायातबाहेक अन्य सवारीसाधनमा भने यस्तो अभ्यास छैन । सोमबार बिहान साढे ९ बजे कुपण्डोल चोकमा सार्वजनिक सवारी कुर्नेको लाइन लामो थियो । सवारीको लस्करमा रत्नपार्क जाने माइक्रो, बानेश्वर हुँदै लगनखेल पुग्ने टेम्पो बढी थिए । माइक्रोमा ढोकैसम्म मान्छे झुन्डिएका थिए । ‘अझै भित्रै जानुस् न,’ सहचालकले प्यासेन्जर धकाल्दै भने, ‘अफिस समय हो सबै कोच्चिएर भए पनि जानुपर्छ ।’ साढे नौदेखि एक घण्टा बितिसक्दा पनि चोकमा उत्तिकै भीड थियो, सवारी चढ्ने, चढाउने तरिका पनि उही कोच्याउने नै थियो । कोभिड–१९ बाट बच्नका लागि सकेसम्म भीडमा नजानुस् या जानै परे मास्क लगाउनुस् भन्नेजस्ता सुझाव यहाँ कत्ति पनि लागू भएको थिएन । यात्रु पनि सचेत थिएनन् । विश्व स्वास्थ्य संगठनले भनेजस्तो ‘रुघाखोकीका लागेका व्यक्तिसँग तीन मिटरको दूरी कायम गर्नुपर्ने’ नियम ती यातायातमा लागू हुन सकेको थिएन । बिहान–बेलुका राजधानीका चोकमा सार्वजनिक सवारी चढ्नेको यस्तै हुलमुल हुन्छ । कोभिडको संक्रमणको जोखिमबाट बच्न सरकारले सरकारले अत्यवाश्यक बाहेक सबै सभासमारोह नगर्न निर्देशन दिएको छ । सार्वजनिक यातायातको हुलमुल भने उस्तै छ । यातायात व्यवसायीले पनि सिट क्षमताभन्दा बढी यात्रु चढाउने गरेका छन् । सार्वजनिक यातायातमा यात्रा गर्दा कसरी सुरक्षित रहने तत्काल छलफल गर्न लागेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । ‘सिट क्षमताभन्दा बढी यात्रु नहाल्ने र मास्क नलाएको यात्रु नचढाउने गरी छलफल अघि बढाउँछौं,’ उनले भने । संक्रमित यात्रु चढ्दा ह्यान्डल, सिट, उभिँदा बसको सिलिङको डन्डी छोइन्छ । सिट क्षमताभन्दा यात्रा कोच्ने गरेका छन् । सामान्य सावधानी अपनाउनसमेत सकेको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले मास्कको अभाव र थर्मल गन महँगो भएकोले चाहेर पनि सुरक्षा अपनाउन नसकेको बताए । ‘सरकारले मास्क र थर्मल गन सहजै पाउने व्यवस्था गरे हामी सुरक्षाका उपाय अपनाउन तयार छौं,’ उनले भने ।

विशेषज्ञका अनुसार यस्तो हुलमुलमा मास्कबिनै एक जना पनि व्यक्ति कोभिड या अन्य संक्रामक रोगका भएमा सबैलाई सार्ने जोखिम हुन्छ । जनस्वास्थ्य विज्ञ डा. समीर दीक्षितका अनुसार अहिले नेपालमा कोभिडको महामारी नदेखिसकेकाले कोचाकोच गरी सवारी चढ्नै नहुने अवस्था नभएको बताए । ‘संक्रमण फैलिएको मुलुकमा जस्तो बाहिर हिँड्ने या कामै बन्द गरेर घर बस्नुपर्ने अवस्था त छैन,’ उनले भने, ‘तर यस्ता सवारी साधनमा खोक्दा हाच्छिउँ गर्दा मुखबाट बाहिर निस्कने थुकका छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै पर्छ । यसबाट सहज भने हुनुपर्छ ।’ अहिलेको अवस्थामा लक्षण भएका व्यक्तिबाट यात्रा गर्ने सबै जोखिममा रहेको उनले बताए । कोभिड या मौसमी रुघाखोकीको लक्षण देखिएका या संक्रमण फैलिएका मुलुकबाट फर्किएका व्यक्तिले इमानदार भएर घरमै १४ दिने ‘सेल्फ क्वारेन्टाइन’ गरेमा धेरै हदसम्म भीडलाई जोगाउन सकिने उनले बताए ।

‘विदेशबाट आएका व्यक्ति क्वारेन्टाइनमा बस्दैनन्,’ उनले भने, ‘संक्रमणको आशंकामा अस्पताल भर्ना बिरामी भाग्ने भइरहेको छ, यसले गर्दा भीडमा जानु जोखिम भएको हो ।’ लक्षण भएका व्यक्तिले सार्वजनिक यातायात चढ्नैपरे मास्न अनिवार्य रूपमा लगाउनुपर्ने उनको सुझाव छ । मास्क प्रयोग गर्दा आफ्नो थुक अरूलाई पर्दैन र अरूका थुकका छिटा आफूलाई पर्दैन जसले धेरै हदसम्म भाइरस सर्नबाट जोगाउने उनले बताए । सार्वजनिक यातायातमा चढ्दा सर्जिकल मास्क नभए कपडाको मास्क भए पनि लगाउनुपर्ने उनले बताए ।

यातायात व्यवसायीले आफ्ना सवारीमा चढ्ने यात्रुको सुरक्षामा ध्यान दिन ‘स्यानिटाइजेसन’ को व्यवस्था गर्नुपर्ने विज्ञहरूको सुझाव छ । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार भाइरस सर्ने पहिलो माध्यम नै खोक्दा र हाच्छिउँको छिटा हो । संक्रमित व्यक्तिबाट ६ फिटभन्दा कम दूरी अपनाइएन भने भाइरस सजिलै सर्ने भएकाले मास्क नभए सार्वजनिक यातायात नै नचढ्न उनको सुझाव छ । ‘माइक्रोमा व्यक्तिहरू टाँसिएरै बस्ने हुँदा दूरी कायम हुँदैन । भाइरस सर्ने उच्च जोखिम हुन्छ,’ उनले भने, ‘मास्क छैन भने हिँडेरै यात्रा गर्नुस् ।’कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्