Logo
|
Saturday 6th June 2020
NEWS PAPER

‘जित्न सकिन्छ क्यान्सर युद्ध’ क्यान्सर विजेता डली गुरुङ्गको अनुभव



Health News

क्यान्सर भएपछि जीवनलाई नजिकबाट महसुस गरेकी डलीले आफ्नो जीवन यात्रा र क्यान्सरपछिको यात्रालाई समेटेर मेरो क्यान्सर यात्रा (माई क्यान्सर जर्नी) प्रकाशित गर्नुभएको छ । करिब ३ वर्षअघि ठूलो आन्द्रा (कोलोन) को क्यान्सर भएपछि डलीमा जीवन के रहेछ भन्ने आत्मज्ञान पलायो । नेपालकी प्रथम महिला मोडल पनि हुनुहुन्छ–डली गुरुङ्ग। उहाँको परिचय त्यतिमा मात्र सीमित छैन । डली सफल उद्यमी एवं पर्यटन व्यवसायी पनि हुनुहुन्छ । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध गुरूङ समयले भ्याएसम्म कोरियोग्राफी पनि गर्नुहुन्छ । नेपालमै पहिलोपटक आयोजित ‘सुदीप्त क्यान्सर सर्भाइभर ‘याम्प शो’ तथा ‘सुदीप्त सुपर किड्स क्यान्सर सर्भाइभर ¥याम्प वाक’ को सफल कोरियोग्राफी गर्नुभएको थियो–डलीले । शुरुको अवस्थामा रोग पहिचान भई सही उपचार पाएका कारण उहाँ क्यान्सर जित्न सफल हुनुभयो । डलीको क्यान्सर वंशाणुगत हो । उहाँको आमा क्यान्सरबाट बित्नुभयो । क्यान्सर लाग्दैमा मरिँदैन । क्यान्सर लाग्दैमा डराउनु पनि पर्दैन । क्यान्सर रोग लाग्यो भन्दैमा लुकाएर हिड्नु हुँदैन भन्ने मान्यता राख्ने क्यान्सर बिजेता उनै डली गुरुङ्गको क्यान्सर कथा यस अंकमा प्रस्तुत गरेका छौं ।

  सकारात्मक सोंच

जब मलाई क्यान्सर भएको कुरा परिवारलाई थाहा भयो, उनीहरुको पुरै संसार हुरीले उडाएको थियो । म उनीहरूको दुःखको संसारमा साथ दिन चहान्नथेँ । किनभने हामी सबै त्यही दुःखको आँधीसँगै उडे टुट्न सक्थ्यौं । त्यसैले त्यो उदासीनता, निराशा र पीडासँग लडेँ । त्योसँग टक्करपछि टक्कर लिएँ । मेरो विश्वास र सकारात्मक सोचले पीडाका सबै बतासलाई जितें । यो वास्तवमा नै सत्य कुरा हो । मैले माया गर्नुपर्ने मसँग एकमात्र यही जीवन थियो । क्यान्सरयात्राका क्रममा मैले बुझेको कुरा के हो भने मैले ज्ञान लिएँ भने मैले चाहे जति नै जीवन जिउन सक्छु । साँच्चै, जीवन पढ्नको आनन्द अर्कै छ । जब पढाइको कुनै डेडलाईन हुँदैन, कुनै छलफल वा एजेन्डाको विषय हँुदैन, त्यो पढाईको आनन्द बेग्लै हुन्छ । सकारात्मक सोचले मलाई दिनानुदिन पीडा दिने क्यान्सरका कोषिका मारिरहेको थियो । आहा ! कस्ता राम्रा साथी, सकारात्मक सोचाई र आशा । मैले अरुका शब्द र विचारबाट प्रेरणा लिने प्रयास गर्छु ।
आत्मबल
क्यान्सर पीडित मानिसले आफूलाई मनपर्ने कामकुरा गर्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसैकारण म उदास भएर बस्न चहान्नथें । जीवनमा उदासीन भएर फाइदा हुने कुनै कुरा नै थिएन । क्यान्सर भएपछि मैले पीडालाई पूर्ण रुपमा आत्मसात गरें । मैले आफूलाई सुपर मोडल ठानेर आत्मविश्वास नगुमाई हिंडिरहें । आशा नै मेरो शिरमा लगाउने ताज थियो । क्यान्सर नै मेरो आध्यात्मिक ज्ञानको स्रोत थियो, जसले मलाई आत्मबल लिने अभ्यास सिकाइरहेको थियो । यिनै सोचाइको परिणामले मलाई पहिलेभन्दा दुई गुणा बढी सुन्दर लाग्न थालिसकेको थियो ।
जब मेरा आफन्तहरू आँत्तिरहेका हुन्थे, जब म हार मान्न थाल्थें । तैपनि म लडी नै रहें । तर, यो लडाईं मेरो लागि थिएन । मलाई हेरिरहेकाहरूको अनुहारमा मुस्कान ल्याउनका लागि थियो । क्यान्सर प्रतिको मेरो सकारात्मक धारणा र यसविरुद्धको लडाईं नै मेरा लागि सबैभन्दा दरिलो हतियार बन्यो । त्यसैले सकारात्मक आशामा नै म झुन्डिइरहन सकें । एक आपसमा हाम्रो सम्बन्ध राम्रो बन्दै गयो । म आफ्ना लागि भन्दा पनि उनीहरूका लागि बाँच्न चाहन्थें । उनीहरू, जो कहिल्यै पनि मेरो मृत्यु देख्न चाहँदैनथें ।  खुसी भनेको दैनिक जीवनमा गरिने आनन्दनुभूति हो, चाहे जेसुकै नै किन नहोस् । उनीहरूले मलाई १२ पटक किमोथेरापी चलाउनुपर्ने बताएका थिए । तर मलाई भने यसको सर्जरी गर्न सहमत भएका दिन निकै दिक्दारी महसुस भएको थियो । फरक फरक दिनमा मेरा पीडा पनि फरक फरक हुने गर्दथे, भिन्न भिन्न प्रकृतिका, किनकी मलाई क्यान्सर भएको थियो । ब्रह्माण्डमा जस्तै जीवनमा पनि जहाँ प्रकाश हुन्थ्यो त्यहाँ अँध्यारो पनि हुन्थ्यो र जहाँ अँध्यारो हुन्थ्यो त्यहाँ त्यहाँ उज्यालो पनि । र यी दुबैपक्षबीच सन्तुलन कायम रहिरहन्थ्यो ।
जीवनले तपाईंलाई सँधै चुनौती दिने गर्छ । सबै चुनौती सँधै अँध्यारोपन र सप्तरङ्गी भएर नै आएका हुन्छन् । तर प्रकाशले सँधै अँध्यारोलाई जित्छ । क्यान्सरले मलाई यही पाठ सिकायो । अँध्यारोपनलाई पराजित गर्न सकिन्छ भन्ने कुरा । प्रकाश पत्ता लगाउने कुरा हामी आफैंमा निर्भर हुन्छ । अँध्यारोले सँधै अध्यारो नै देखाउँछ । अँध्यारो वा नकारात्मक सोच परास्त गर्न आशा र प्रकाश सुन्दर हतियार हुन् । भोलिको सुन्दर भविष्यका लागि यिनीहरुलाई आत्मसात गरे पुग्छ ।
विश्वासको दबाई यति धेरै ख्वाउनु कि रोगलाई अनिकालमा राख्न सकियोस् ।
म जीवित व्यक्ति हुँ । अब यस विषयमा चिन्ता लिन बन्द गर्नुपर्छ भन्ने मैले सोचें । जसरी मेरो परिवारका अन्य सदस्यले पनि लडेर जितेका थिए, त्यसैगरी म पनि त्यो राक्षसरुपी क्यान्सरसँग जसरी पनि लड्ने निधो गरिसकेकी थिएँ । मैले स्वस्थ खाना खान र स्वच्छ पानी पिउन थालें । तिमी चाँडै मर्दैछौ भनेर जब आफ्नै दिमागले भन्छ भने त्यो भन्दा खराब अरु केही हुँदैन । मेरो दिमाग यस्तै विचारले भरियो । तर, हरेक बिहान मैले आफूलाई यही भन्थें कि, ‘मैले हार मान्ने छैन ।’
आमाको सम्मान

क्यान्सरको मायाले गर्दा आमा उसकै साथमा जानुभएको कुरा विगतको थियो । तर यही बाटोमा म पनि भविष्यमा जाने नै छु । क्यान्सररुपी उनको खत मेरा लागि रहरमा खोपाइने ट्याटु भएको छ । यही ट्याटुले मेरो जितको गाथा गाउने छ । आमाले हामीलाई जीवन दिएकी हुन्छिन् । यो जीवन राम्ररी जिएर उनको सम्मान गरौं ।
त्यो रातभर किमो चलाइएको भोलिपल्ट बिहानै म ब्युझिएँ । मैले नजिकबाट ऐना हेरेँ, आफूलाई निहालें । मेरो भविष्य पूरै उनको अबोधपनमा अडिएको पाएँ । उनको पूरै उज्वलतामा थियो । म भित्र आफ्नै आमाको संकेत वा इशारा चलिरहे जस्तो लाग्यो । मैले मेरो भविष्यलाई आत्मासात गर्ने र बाँच्ने इच्छाको वकालत गर्ने पक्ष बलियो थिएन । मैले आफू चार वर्षको भएको र तीन फिट अग्लो भएको कुरा सम्झिएँ । उनी (त्यसबेलाकी म) आकाशका तारा र कुकी जार छुन प्रयास गरिरहन्थिन् । तर यी दुबै कुरा उनको पहुँच बाहिएरका थिए । उपचार चलिरहेकै थियो । म भित्रको साहस कमजोर हुन थालेको जस्तो लाग्न थालिसकेको थियो । मसँग जीवनले दिएको सम्मानको सम्राज्य भएको कुरा मलाई थाहा भयो ।
सन्तुलित जीवन
जीवनमा आउने सबै उतारचढाको पूर्वानुमान गर्न सकिन्न । किमोथेरापी चलाएका दिनहरुमा जीवनमा आउने आँधीबेहरी र बिजुली चम्काइ त मेरा साथीजस्तै हुन्, उनीहरु एकछिन आवेगमा आउँछन् तर छिनभरमा नै शान्त भइहाल्छन् भन्ने लाग्थ्यो । पीडाहरुलाई आफनो नजिकको मिल्ने साथीकोरुपमा हेरेको थिएँ, किनकि अब यी पीडाहरु मेरो जीवनको हिस्सा भएका थिए, सुस्तारै यो सत्य मैले आत्माबाट स्वीकार्ने प्रयास गर्दै थिएँ । मलाई लाग्थ्यो, किमोथेरापी पछिका दिन पक्कै पनि आनन्दमय र चम्किला हुनेछन् । मेरा मित्रबाट मैले कहिल्यै पनि विश्वासको स्पर्श गुमाइनँ । सकारात्मक सोचाई र आशा क्यान्सरयात्राका क्रममा मेरा सहयात्री थिए । यो यात्रामा आएका जतिसुकै अँध्यारा पक्ष भएपनि यिनको साथ मैले कहिल्यै त्यागिनँ । के मैले तिनलाई गलत दिशामा जान दिनुहुन्थ्यो त ? कहिलेकाँही जीवनका अँध्यारा पक्ष सोचियो भने मात्रै पनि यसले विपत्ति निम्त्याउन सक्छ । जीवनमा आइपर्ने सुख र दुःखबीच सन्तुलन कायम गर्न सक्नु मुख्य कुरा हो, खुसीको चाबी हो । जबजब जीवन एउटा युद्धजस्तो देखिन्थ्यो, म मेरो आधार लिएर लड्ने साहस जम्मा हुन्थ्यो ।
अनुभूति

हो, मेरो क्यान्सरले मलाई पीडा दिएको थियो । तर यसले पीडाका साथसाथै मलाई तागत, गौरव र आत्मबल पनि दिएको थियो । यो सबैभन्दा ठूलो कुरा हो । हरेक अप्ठ्यारालाई पन्छाउँदै जीवनमा सपना देखिरहन सिकाएको थियो यही क्यान्सरले । जीवनलाई नजिकबाट बुझने मैका दिएको छ, हरेक पल पलको महत्व बुझाएको छ, हेरेक सासको महत्व बुझाएको छ । त्यो भन्दा पनि महत्वपूर्ण यसले मलाई मुत्युको मुखमा पुग्दा पनि सपना देख्ने बनाएको थियो । सायद मलाई कहिल्यै थाहा हुने थिएन होला, म भित्र के छ भनेर । तर म भित्र भएका कुरा क्यान्सरको निदान भएका दिन मैले अनुभव गरेको थिएँ । भित्री सुन्दरता के हो भन्ने मैले बुझ्ने मौका पाएको थिएँ, म भित्रको साहस, माया र सुन्दरता चिन्ने मौका पाएको थिएँ । तर, यी सबै कुरा मलाई लागेको क्यान्सरको आँधीसँगै छिन्नभिन्न भएका थिए । क्यान्सरले पीडाबाट भाग्न होईन, पीडालाई जित्ने सहास सिकाएको थियो । पीडा सहेर कसरी अघि बढ्ने भन्ने कुरा क्यान्सरले नै सिकाएको थियो । यदि जिन्दगीको आँधीले मानिसलाई हुर्यायो भने के होलारु मैले आँधिबेरीसँग नै माया बसाल्न सिकिसकेको थिएँ । म क्यान्सररुपी आँधीबेरीकै मायाजालमा परिसकेको थिएँ । अनि मैले सोही क्यान्सरको आँधीसँगै नाच्न पनि सिकिसकेको थिएँ । मैले कहिल्यै पनि पानी पर्ला अनि नाँचौला भनेर पर्खेर बसिनँ । यदि यसरी पर्खने नै हो भने सायद निकै समय कुर्नुपर्ने हुन सक्थ्यो । जहाँ भएपनि जहिले भएपनि, यदि कहिल्यै जीवनमा ठेस लाग्यो भने त्यहीँबाट उठ्ने प्रयास गर्नुपर्छ, उति नै बेला । हो, यस्तै अनुभव गरेँ मैले ।  जसरी पृथ्वी जस्तोसुकै परिस्थितिमा पनि एकनासले घुमिरहेको हुन्छ, त्यसैगरी, म पनि आफूमा भएको ऊर्जा प्रयोग गरिरहनुपर्ने कुरा महसुस भयो ।
जसरी पुतली पूर्ण हुन लार्भाबाट निस्कन उपयुक्त समय पर्खिरहेकी हुन्छिन्, म पनि त्यही दिनको प्रतीक्षामा थिएँ । म लार्भाबाट निस्कने, र आनन्दको मेरो घरको यात्रामा उड्न चाहन्थें । म कति कुरूप भइसकेकी थिएँ भन्ने कुरा कसैलाई पनि थाहा थिएन । मेरो खुन नै सेतो भइसकेजस्तो लाग्थ्यो मलाई । तर जे पनि मैले जितें, त्यो मेरो मुहारको चमकले प्रतिबिम्बित गराउँछ । यो यहाँहरूलाई म विश्वस्त बनाउन चाहन्छु । मैले कैयौं युद्ध लडें । प्रायजसो सबै युद्धहरूअन्धकार रातका थिए । अझ पनि छन् । तर अहँ मैले हार मानेको छैन । त्यो दिन जीवन निकै पिडादायक हुन्छ, नयाँ सोचाइहरु आउन छाड्छन्, केही गर्ने ईच्छा, आकांक्षा रहन्न, भबिष्य नै देख्न छाड्छौें, मेडिकली भन्दा डिप्रेसनको संकेत हो । जब आत्माको ढोकामा सदाका लागि बन्द भए जस्तो भन्ने सोचाइ आउन थाल्दछ, त्यो दिन त्रासदी हुन्छ । तसर्थ आफ्नो सबै ऊर्जा लगाएर साहस बटुल्नुपर्छ । हो, मैले गरेको पनि ठ्याक्कै यही हो । मैले कुनै एउटा कुरा पनि गर्न छोडिनँ । मैले मेरो जीवनमा गर्नुपर्ने कार्यहरुको वा भनौं ईच्छाहरुको लिष्ट बनाएको थिएँ जुन मेरो खल्तीमा थियो त्यो लिष्टबाट केही कार्यहरु घटाएन, बरु मैले गर्ने कामको सूची थप गर्दै लैजान थालें । एकएक गरेर डर विरुद्ध लड्न थालें । अनि ती डरका चितामा सुन्दर भविष्यका फूलहरु रोप्दै पनि थिएँ । त्यसैले दुःखका भावना आइहाले पनि टाढै राख्न थालें । दुःखको संवेदनाहरुलाई हेर्दै, महसुस गर्दै र यो क्षणीक हो भन्ने बुझ्दै जाँदा, हो दुःख थियो, फेरि सुख हुनेछ यो सबै संवेदना आउने र जाने रहेछन्, जब मैले दुखाईलाई पूर्ण रुपले स्वीकारें यसबाट भागेन, फरक शान्ति अनुभव भयो । सुकेका इनारबाट मुखभित्र पस्न खोजेका धुलाका कणका कारण मलाई कफले पनि सताउन थालेको थियो । तर मलाई योभन्दा पनि बढी सताउने ठाउँ थिएन । क्यान्सर नै मेरो साथमा थियो । म प्रकृति र यसले दिएका उपहारको तागतमा विश्वास गर्छु ।
अद्भूत खुशी
कसले भन्यो, मैले फेरि सूर्यलाई कहिल्यै पनि आफ्ना हात÷साथमा राख्न सक्दिन भनेर ? आज बिहानीमा जब आकाशले सास फेरिरहेको थियो, र सूर्यको त्यो पहिलो किरण मलाई हेरेर मुस्कुराईरहेको थियो, त्यसको स्पर्श मलाई नौलो थियो, सायद यसरी सूर्यले मलाई चुम्बन गरेको पहिले पक्कै पनि थिएन तर आज मैले यसको पूर्ण स्पर्श, त्यो न्यानोपन महसुस गरेँ, उसले मलाई फेरि ताजा र थप ऊर्जा, नयाँ उमंग थपि दिएको थियो । जीवनको भागदौडमा कहिलेपनि मलाई समय थिएन । प्रकृतिले बर्षाएको यो निस्वार्थ प्रेम महसुस गर्न तर मैले महसुस गरे यो खुशी अद्भूत थियो, खुशी सायद साना साना कुरामा नै रहेका हुँदारहेछन् । म खाली खुट्टा हिडिरहेको थिएँ । त्यही बेला हात माथि उठाएँ, मेरा हातका औंलामा सूर्यका किरण परेका थिए । मैले सोचेँ, मलाई मर्ने अनुमति छैन । यो सम्भव हुन पनि सक्थ्यो । अन्धकारमय हुरीले ल्याएको विस्फोट चलिरहेकै थियो । तर म यी सबै समस्यालाई जित्न चाहन्थें, क्यान्सरका कारण ममा आएका मेरा सबै अप्ठ्यारा हराउन चाहन्थें । यो सबैभन्दा डरलाग्दो लडाईँ थियो । हो, यो लडाई एकदमै कहाली लाग्दो थियो, कयांै पटक म नहारेको होइन, मन बिचलित नभएको होइन, मैले यो लडाईं जसरी पनि जित्नु थियो, किनकी म स्वस्थ्य नै भएर शरीर छाड्न चाहन्थेँ । तर मैले जितें । यो लडाईँमा प्राप्त गरेको विजय मेरा लागि जीवनभरकै सबभन्दा ठूलो थियो । फ्रेडा कल्होले भनेजस्तै मेरा केशराशीमा फूल फुलेको थियो । म चाहन्थें पनि यस्तै ।
मैले जितेको थिएँ । चाहे जेसुकै किन नहोस् जीवनले जे हामीलाई दिएपनि, सहनैपर्छ, असम्भव कुनै पनि कुरा छैन । हो, क्यान्सरले मेरो शरीरलाई छोएको थियो तर आत्मालाई थिएन । मैले साहस गुम्न दिएकी थिइनँ र हठी स्वभावले क्यान्सरलाई हेरेकी थिएँ । अँ ! हो, साँच्चै क्यान्सरले बाहिरी स्वरुपलाई पक्कै पनि नाश गर्दो रहेछ । मैले मेरो क्यान्सरलाई भनेकी थिएँ, ‘ए ! सुन क्यान्सर ! यहाँ यस्ता धेरै दबाई छन् जसले तँैलेभन्दा धेरै मलाई माया गर्छन् । सबैभन्दा राम्रो औषधि त ‘आशा’ र एकदमै गहीरो मित्र ‘भोलि’ हो । यी दुवैको वासनाले मेरो प्रत्येक पाइलामा साथ दिइरहेका छन् । हिमालयको त्यो चिसो अँध्यारो जाडोमा, मैलो ताजा गर्मीको अनुभव गरेकी छु । मैले कहिल्यै पनि जिन्दगीका खुसीहरू बुझ्ने नै थिइनँ, यदि मलाई क्यान्सर रोग नलागेको भए । अँध्यारो र उज्यालो बीचको त्यो दृश्य त्यतिकै रहने थियो । म थाकिसेककी थिएँ तर मैले युद्ध लड्न कहिल्यै छाडिनँ । सकरात्मक सोचाइ मसँगै थियो र म बाचें । मैले भगवानलाई पनि धन्यवाद दिन सकेको छैन । खुसी सन्तुष्ट दैनिकीको आनन्द हो ।
हातेमालो
क्यान्सरसँग लड्दै गर्दा मैले एउटा फरक अनुभव गरें । पीडाको समयमा लिइएका प्रत्येक दिनका प्रेरणाले बाहिरी जीवनप्रतिको दृष्टिकोणमा ठूलो परिवर्तन गरिदियो । हो, क्यान्सर निको हुने रोग हो । क्यान्सर रोग लागिसकेपछि पनि जिउन सकिन्छ । यो सन्देश फैलाउन हामी सबै हातेमालो गरौं । क्यान्सरसँग युद्ध गरेर जित्ने सबैलाई म सलाम गर्छु । हाम्रो सन्देश एकदमै ठूलो र स्पष्ट छ, ‘क्यान्सरपछि पनि जीवन छ र क्यान्सर युद्ध जित्न सकिन्छ ।
क्यान्सरमुक्त । आहा ! त्यो क्षण मेरा लागि धान्नै नसक्ने गरी खुसीको क्षण थियो । अहिले पनि स्मरण गर्दा आनन्द महसुस हुन्छ । किमो गरिसकिएको थियो । सर्जरी गर्दा बनेका गहिरो दाग बिस्तारै सञ्चो हुने क्रमसँगै, म घर फर्किएँ । मेरा लागि कुनै जादु भन्दा कम थिएन । आज मात्र बल्ल मैले आफ्नै (आत्मा) फोक्सोबाट सास फेरेको अनुभव गरेको छु । त्यही दिनबाट सुरु भएको बाँच्नुको खुसी अहिलेसम्म पनि मैले अनुभुति गरिरहेकी छु । अनि मलाई दिइएको यो अमूल्य उपहारप्रति कृतज्ञ छु । भगवान्ले मलाई जीवन दिएर खुशीका पल पल अनुभव गर्ने समय थपिदिएका छन् । पक्कै पनि, क्यान्सरबाट पीडित भएर पनि बाँच्न सफल भएका र यो रोगसँग लडिरहेकाहरुको माझमा आफ्ना अनुभव बाँड्न म यहाँ आएकी हुँ । यो लडाईंमा तपाई एक्लै हुनुहुन्न भन्ने कुरा पनि सेयर गर्न आएकी हुँ । क्यान्सरसँगको हाम्रो लडार्इंमा जसरी हामीले उपचार गर्ने योजना बनाएका हुन्छौँ, त्यसैगरी जीवन जिउने योजना पनि महत्वपूर्ण हुन्छ । म कुनै मनोवैज्ञानिक होइन, न त मनोपरामर्शदाता, न त विशेषज्ञ नै । तर मैले जे अनुभव गरेँ र जे काम गरेँ, जे अपनाएँ, त्यसैका आधारमा मैले यी कुराहरु बताइरहेकी छु । यो नै मेरो क्यान्सरमुक्त जीवनको यात्रा हो । मसगँ सम्पर्क गर्न संकोच मान्नुपर्दैन, सम्पर्क गर्न चाहनुहुन्छ भने आउनुहोस्, अनुभव बाडौँ । बाँड्नु नै माया गर्नु हो । सेयरिङ इज केयरिङ ।

 

प्रतिक्रिया दिनुहोस्