Logo
|
Thursday 28th March 2024
Logo

epaper

सफा हात, भीडभन्दा पर



जनस्वास्थ्य सरोकार, काठमाडौँ । ‘हात धुने बानी बसालौं’ भन्दै चेतनामूलक सन्देश रेडियो, टीभीमा बज्दाताका ‘केही काम नपाएर हात धुन पनि सिकाउनुपर्छ ?’ भन्दै हाँस्ने जमात पनि थिए । यतिबेला फेरि त्यस्तै सन्देश सञ्चारमाध्यममा छन् । केही वर्षअघि झाडापखाला लगायतका रोगव्याधीबाट जोगिन सचेतनाको सन्दर्भ थियो, यो बेला कोभिड–१९ को छ ।

‘हात सफा राख्न सकेमात्रै पनि धेरै प्रकारका संक्रामक रोगबाट जोगिन सकिन्छ, अर्को सुरक्षित रहने तरिका हो भीडभाडबाट जोगिने,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, ‘हात सफा नहुँदा फैलिने रोगमा कोरोना भाइरस रोग मात्रै होइन मौसमी रुघाखोकी, झाडापखाला, हैजा, जुका–चुर्ना, निमोनिया, टाइफाइड, क्षयरोग, छाला र आँखासम्बन्धी पनि थुप्रै प्रकारका छन् ।’

आँखाले हेर्दा सफा लागे पनि हातमा करोडौं सूक्ष्मजीव हुन्छन् । उनी भन्छन्, ‘श्वासप्रश्वासबाट हुने रोगभन्दा छिटो मान्छेलाई आफ्नै हात सफा नहुँदा लाग्न सक्ने रोगका जोखिम धेरै हुन्छन्,’ उनी भन्छन्, ‘केही खानुअघि र शौचालय गएपछि मात्र हात धुने बानीले मात्रै पुग्दैन । जुनसुकै बेला हात सफा राख्नैपर्छ ।’ अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीस) का अनुसार हात धुनु आफैंले लिन सकिने एक प्रकारको खोप जस्तै हो । यसले झाडापखाला र श्वासप्रश्वाससम्बन्धी संक्रमण फैलिनबाट जोगाएर स्वस्थ रहन सघाउँछ ।

केही खास गतिविधिपछि नियमित रूपमा हात धोए आफूलाई बिरामी हुनबाट जोगाउनुका साथै अरू व्यक्तिमा कीटाणुको प्रसारलाई रोक्न सकिन्छ । संक्रामक रोगबाट सुरक्षाका लागि यो पहिलो पंक्तिको कवच हो ।कोलोराडो विश्वविद्यालयमा गरिएको एउटा अनुसन्धानअनुसार औसत रूपमा हाम्रो हातमा १ सय ५० विभिन्न प्रजातिका ३२ सय ब्याक्टेरिया हुन्छन् । हातलाई राम्ररी सफा नगरिएको स्थितिमा हात मिलाउँदा, अर्कालाई छुँदा ब्याक्टेरिया अन्य व्यक्तिमा स्थानान्तरित हुन्छ ।

हातमा मानव मलमा पाइने रोगका कीटाणुहरूसमेत आइपुगेका हुन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार मात्र साबुन पानीले हात धुने कार्यले कोरोना संक्रमणको सम्भावना कम गर्नुका साथै ‘सिंगेला’ र अन्य कारणले हुने झाडापखालालाई ३५ प्रतिशतसम्म कम गर्न सक्छ ।

तर हात भने साबुन पानीले धुनुपर्छ । युनिसेफका अनुसार साबुन पानीले हात धुने प्रक्रिया धेरै फाइदाकारी छ । हातमा आउने कीटाणुको संख्यामा कमी ल्याउन साबुन नभए अल्कोहलमा आधारितह्यान्ड सेनिटाइजर उपयोग गर्न सकिन्छ ।

सफा हात, भीडभन्दा पर

कोरोना भाइरसको संक्रमणबाट बच्न साबुन पानीले हात धुनु र भीडभाडबाट जोगिनु सबैभन्दा प्रभावकारी उपाय हुने विशेषज्ञहरूको निष्कर्ष छ । यतिबेला विश्वका अधिकांश मुलुकमा महामारीका रूपमा फैलेको कोरोनाको संक्रमण हालसम्म नेपालमा नदेखिए पनि सम्भावित जोखिमबाट बच्न सबैले उच्च सतर्कता अपनाउनुपर्ने उनीहरूले बताएका छन् ।

कोरोनाविरुद्ध हालसम्म कुनै खोप वा औषधि नबनिसकेको हुँदा उच्च सतर्कता नै यसबाट जोगिने प्रभावकारी उपाय हो । ‘साबुन पानीले हात धुने, भीडभाडमा नजाने र अरूसँग कम्तीमा एक मिटरको दूरी कायम राख्ने गरेमा धेरै हदसम्म संक्रमणको जोखिम कम गर्न सकिन्छ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.अनुप बाँस्तोला भन्छन्, ‘दुवै हातमा पर्याप्त साबुन लगाएर हातको दुवैतिर, औंलाका काप र नङमा समेत कम्तीमा २० सेकेन्डसम्म मिचेर पानीले राम्ररी पखाल्नुपर्छ । यति गरेपछि मात्र हातमा रहेका भाइरस, कीटाणु समाप्त हुन्छन् ।’ संक्रमणबाट बच्न थोरै साबुन लगाएर हतारहतार हात पखालेर मात्रै हुँदैन ।

‘विभिन्न वस्तु वा सामान छुँदा, सार्वजनिक यातायातमा चढ्दा, कसैसँग हात मिलाउँदा वा कुनै पनि वस्तुसँग हातको सम्पर्क हुँदा हातमा कीटाणु सर्न सक्छन्,’ पाटन अस्पताल माइक्रोबायोलजी विभागका डा.पीयूष राजभण्डारी भन्छन्, ‘कुनै काम गरिसकेपछि, बाहिर कुनै वस्तु छोएपछि र बाहिरबाट घर फर्केपछि नबिर्सीकन हात धुनुपर्छ । कोरोनाको संक्रमणबाट बच्न अहिलेसम्म सबैभन्दा राम्रो उपाय यही हो ।’

संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउँ गर्दा मुख वा नाकबाट निस्किने, पानीका ज्यादै मसिना कणबाट कोरोना फैलिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार भीडभाडमा नजाने र अरूसँग सामान्यतया एक मिटरको दूरी कायम गर्ने गरेमा यस्ता कणबाट जोगिन सहज हुन्छ । कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्