Logo
|
Thursday 18th April 2024
Logo

epaper

नाकामा एक्ला स्वास्थ्यकर्मी: भ्याएसम्म यात्रुको तापक्रम जाँच



जनस्वास्थ्य सरोकार, वीरगन्ज । वीरगन्ज महानगरपालिका–११ रानीघाटकी सरिता चौधरी बिहीबार रक्सौल बजारबाट घरायसी सामान किनेर टेम्पोमा फर्किइरहेकी थिइन् । स्वास्थ्यकर्मीले नाकामा रहेको शंकराचार्य गेटअगाडि टेम्पो रोकी उनको तापक्रम जाँच गरे ।

इन्फ्रारेड थर्मोमिटरमा सामान्यभन्दा बढी तापक्रम देखिएपछि स्वास्थ्यकर्मीले उनलाई टेम्पोबाट ओर्लेर एकछिन आराम गर्न भने । स्वास्थ्यकर्मीले ओर्लिन निर्देशन दिएपछि चौधरी भयभीत देखिन्थिन् । ७ मिनेटपछि पुनः गरिएको परीक्षणमा तापक्रम सामान्य देखिएपछि भने उनले ठूलो राहत महसुस गरिन् । त्यसबेलासम्म अन्य सवारीसाधनको जाम लागिसकेको थियो ।

व्यस्त नाकामा हाल एक मात्र स्वास्थ्यकर्मी भ्याएसम्म यात्रुको तापक्रम जाँच गरिरहेका छन् । वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले नाकामा स्थापना गरेको हेल्प डेस्कमा बुधबार स्वास्थ्यकर्मी मिथलेश यादव मात्र खटिएका थिए । दैनिक सयौं सवारीसाधनमार्फत् यात्रु वीरगन्ज–रक्सौल नाका भएर आवतजावत गर्छन् । ‘यस्तो व्यस्त नाकामा जम्मा एक जना स्वास्थ्यकर्मी छन्,’ नाकामा खटिएका सशस्त्र प्रहरीका हवल्दार मुकुन्द दर्जीले भने, ‘कम्तीमा पाँच स्वास्थ्यकर्मीको आवश्यकता छ ।’

भ्याइनभ्याइ यात्रुको तापक्रम परीक्षण गरिरहेका यादवले अर्का सहकर्मी नास्ता खान गएको बताए । ‘उनी बिहान ८ बजे नै आएकाले अहिले नास्ता खान गएका छन्,’ उनले भने, ‘सबै यात्रुको परीक्षण गर्न सकिएको छैन ।’ एउटा टेम्पोका यात्रुको जाँच नहुँदै अर्को गाडीका चालक र यात्रु ‘हाम्रो पनि चेक गरिदिनुस्, ढिलो भइसक्यो’ भन्दै यादवलाई दबाब दिइरहेका थिए । कतिपय चेक नै नगराई वीरगन्जतर्फ हुइँकिइरहेका पनि थिए ।

सुरुमा तेस्रो मुलुकका व्यक्तिको मात्र परीक्षण गरेको डेस्कले पछिल्लो समय भारतमा समेत कोरोनाको प्रकोप देखिएपछि भारतीय नागरिकको पनि परीक्षण सुरु गरेको हो । कम जनशक्ति र साधनस्रोत अभावले अधिकांश यात्रु बिनाजाँच नै भित्रिने गरेका छन् ।

पीपीई, इन्फ्रारेड थर्मोमिटर, मास्कजस्ता सामग्रीको अभाव छ । स्वास्थ्य कार्यालय पर्साले दुई साताअगाडि नै स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पत्राचार गरी मास्क, टेस्ट किट, सेनिटाइजर, लेजर थर्मोमिटर, पोस्टर पम्प्लेट, स्वास्थ्यकर्मी र सुक्षाकर्मीका लागि गाउन उपलब्ध गराइदिन आग्रह गरेको थियो । पत्र पठाएको दुई साता बित्नै लाग्दा पनि सामान आएको छैन । ‘नाकामा तैनाथ स्वास्थ्यकर्मीलाई सुरक्षा कबच आवश्यक छ,’ स्वास्थ्य प्रमुख कामेश्वर चौरसियाले भने, ‘नेपाल प्रवेश गर्ने यात्रुलाई पहिलोपटक जाँच गर्ने उहाँहरूले नै हो ।’

वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोले अत्यावश्यक कामबिना सीमावर्ती रक्सौल बजार नजान सुझाव दिए । नाकामा थप स्वास्थ्यकर्मी थपिने र डेस्कलाई अझ व्यवस्थित बनाउने उनको भनाइ छ ।

रक्सौल रेल्वे स्टेसनमा भारतको विभिन्न सहरबाट रेलसमेत आउने गरेका छन् ।

यसका अलावा दिल्ली, कोलकाता, मुम्बईलगायतका सहरबाट ट्रकमा सामान लिएर वीरगन्ज आउने भारतीय चालक र सहचालकको पनि स्वास्थ्य जाँच गरिएको छैन । मुख्य नाकाबाट मात्र नभई ग्रामीण नाकाबाट पनि दुवै देशमा आवतजावत हुने गरेको छ । खुला नाका रहेको भारतमा बिहीबार साँझसम्म कोरोना भाइरसबाट १ सय ९७ जना संक्रमित भइसकेका छन् ।

४ जनाको मृत्यु भएको छ । भिस्वा प्रहरी चौकीका सई मुक्तिनारायण यादवले हालसम्म नाकामा यात्रुको तापक्रम जाँच गर्ने डेस्क स्थापना नभएको बताए । वीरगन्जको पश्चिममा रहेको सिर्सिया छोटी भन्सारमा हेल्थ डेस्क स्थापना भए पनि स्वास्थ्यकर्मी बस्ने गरेका छैनन् । कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्