Logo
|
Saturday 4th April 2020
NEWS PAPER

स्वास्थ्य मन्त्रालयद्धारा कोभिड–१९ रोकथाम तथा उपचारका लागि सबै जनशक्तिलाई तयारी अवस्थामा रहन निर्देशन



Health News

जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  स्वास्थ्य मन्त्रालयले कोभिड–१९ रोकथाम तथा उपचारका लागि सबै जनशक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । अस्पतालका शय्या, आईसीयू, भेन्टिलेटर, व्यक्तिगत सुरक्षा उपकरण तयारी अवस्थामा राख्न मन्त्रालयले भनेको छ । स्वास्थ्य संस्थामा कार्यरत सबै स्वास्थ्यकर्मीलाई अर्को आदेश नभएसम्म प्रसूति बिदा, किरिया बिदाबाहेक अन्य बिदा नलिन मन्त्रालयले परिपत्र जारीगरिसकेको छ ।‘मन्त्रालयअन्तर्गत करिब ३० हजार स्वास्थ्यकर्मी छन्,’ मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘संघ, प्रदेश, स्थानीयका कर्मचारीलाई परिआएमा जुनसुकै ठाउँमा खटाइनेछ ।’

उपत्यकामा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन र क्वारेन्टाइनका लागि एक हजार शय्या छुट्याइएको उनले बताए । त्यस्तै भेन्टिलेटरसहितको १२० शय्या आईसीयूको समेत व्यवस्था गर्न लागिएको छ । यस्तै सातै प्रदेशमा ११५ शय्याको आईसीयू निर्माण गर्न लागिएको छ ।

कोरोना संक्रमण रोकथामका लागि अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीका लागि मन्त्रालयसँग ६ सय सेट व्यक्तिगत सुरक्षा उपकरण मन्त्रालयसँग तयारी अवस्थामा रहेको उनले जानकारी दिए । स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउने ३० हजार सेट सुरक्षा कवच खरिद गर्न शुक्रबार टेन्डर आह्वान गर्ने मन्त्रालयले जनाएको छ ।

‘यसमा संक्रमण हुन नदिन टाउकादेखि खुट्टासम्म लगाइने सुरक्षा कबच छन्,’ स्वास्थ्य मन्त्रालय, व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्रराज डोटेलले भने, ‘टोपी, चस्मा, फेस शिल्ड, गाउन, ‘एन ९५ मास्क’, पन्जा, सु–कभर र गम बुट यसभित्र पर्छन् ।’ मुलुकमा विद्यमान कानुनले आकस्मिक समयमा अत्यावश्यक सामग्री किन्नसहज नहुने भए पनि जसरी पनि आपूर्तिको व्यवस्था मिलाइनेउनले बताए ।

उपत्यकाका ३५ अस्पतालबाट प्राप्त तथ्यांकअनुसार हाल ४ हजार ८५ शय्या, १७० आईसीयू र १११ भेन्टिलेटर तयारी अवस्थामा छन् । कोरोना संक्रमितको उपचारका लागि एनेस्थेसियाका १२९ चिकित्सक, क्रिटिकल केयर आईसीयू तालिम प्राप्त चिकित्साकर्मी १८३ जना तयारी अवस्थामा छन् । उपचारका लागि १४ वटा अक्सिजन प्लान्ट छन् ।

हाल शंकास्पद कोभिड–१९ परीक्षण गर्ने किट १२ सयदेखि १५ सयसम्म रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिइन् । यस्ता २ हजार अतिरिक्त किट आयात गर्न टेन्डर भइसकेको र एक साताभित्र आपूर्ति हुने उनको दाबी छ । यसबाहेक थप ८ हजार किट खरिदका लागि फाइल स्वीकृतिका क्रममा रहेको उनले जानकारी दिइन् । हालसम्म मुलुकमा ५२९ जना शंकास्पदको परीक्षण गरिएकामा एक जनामा मात्र संक्रमण देखिएको छ । कान्तिपुरदैनिकबाट
प्रतिक्रिया दिनुहोस्