Logo
|
Friday 29th March 2024
Logo

epaper

चीनको ग्वान्जाओबाट पिपिईसहित १९ स्वास्थ्य सामग्री आउँदै



जनस्वास्थ्य सरोकार, काठमाडौं  ।  चीनको व्यापारिक सहर ग्वान्जाओबाट स्वास्थ्य उपकरण, पिपिई, औषधि, कोरोना भाइरस जाँच्ने किट्स, मास्कसहितका सामान लिन नेपाल एयरलाइन्सको विशेष विमान आरए ४१७१ आज (शनिबार) दिउँसो १२:३१ मा त्यसतर्फ प्रस्थान गरेको छ ।

नेपाली जहाजले औषधि, भेन्टिलेटर, किट्ससहित १९ प्रकारका स्वास्थ्य सामग्री ल्याउँदै छ । तर, बेइजिङबाट ल्हासा हुँदै आज (शनिबार) नेपाल आइपुग्नुपर्ने टेस्टिङ किट्ससहितका सामान चीनको केन्द्र सरकारले रोकेको छ ।

ग्वान्जाओस्थित नेपाली महावाणिज्य दूतावासका उपप्रमुख कुञ्जन शाहका अनुसार चीनको स्थानीय समयअनुसार साँझ ६:५५ (नेपाली समयअनुसार ४:४०)मा विमान ग्वान्जाओ विमानस्थलमा अवतरण हुनेछ भने सामान राखेर जहाज नेपाली समयअनुसार आज साँझ ६:४० (चिनियाँ समयअनुसार ८:५५) मा काठमाडौंतर्फ प्रस्थान गर्ने कार्यतालिका छ ।

जहाज पूर्वनिर्धारित समयमै उड्यो भने नेपाली समयअनुसार राति ११ बजे काठमाडौं आइपुग्नेछ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राति १ बजेसम्म नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइसक्ने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको सूचीअनुसारका सामान आउन लागेको हो । यसको समन्वय नेपालतर्फ स्वास्थ्य सेवा विभागले गरेको छ भने ग्वान्जाओमा सिंगापुरको एक लजिस्टिक कम्पनीले समन्वय गरेको छ ।

चीनका विभिन्न सहरबाट सामान शनिबार ग्वान्जाओ ल्याइएको छ । र, ती सामान लोड गर्ने तयारी अवस्थामा राखिएको नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।

नेपाल सरकारले अर्डर गरेका सामान मात्रै यसपटक ल्याउन लागिएको र दोस्रो चरणमा गैरआवासीय नेपाली संघलगायतले दिएका सामान लिन २ अप्रिलमा पुन: नेपाल एयरलाइन्सको जहाज पठाउने सरकारी स्रोतले जनाएको छ ।

चीनले अचानक रोक्यो दुई हजार किट्स

चीनको बेइजिङ साभन्त बायोटेक्नोलोजीले नेपाललाई दिएका दुई हजार थान कोरोना भाइरस जाँच्ने उपकरण (किट्स) आज अर्थात् शनिबार ल्हासाबाट तातोपानी हुँदै काठमाडौं ल्याउने तयारी थियो ।

तर, शनिबार चीनको केन्द्र सरकारले सामान पठाउन रोक लगाएको छ । चारवटा कार्टुनमा प्याक गरिएका सामानमध्ये एक कार्टुन मात्रै ल्हासा आएको छ भने तीन कार्टुन सिचुआन प्रान्तको छेन्दुमा छ ।

तिब्बतको ल्हासास्थित महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले दुई हजार थान किट्स चीनले निर्यात गर्न नसक्ने जानकारी शनिबार मात्रै गराएको टेलिफोनमा बताए ।

उनले ल्हासाबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने– ल्हासामा एउटा कार्टुन आइसकेको थियो, छेन्दुबाट थप सामान शनिबार बिहान ल्हासा आउने र शनिबारै सबै सामान तातोपानी पठाउने तयारी थियो । हामीले गाडीको पनि बन्दोबस्त गरिसकेका थियौँ । तर, ती सामान अहिले चीनबाहिर पठाउन रोक लगाइएको भन्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । अब सामान आउँदैनन् ।

बुधबार चिनियाँ कम्पनीले कोरोना भाइरस एन्टिजिन डिटेक्सन रिएजेन्ट टेष्टिङ किट्स बेइजिङस्थित नेपाली दूतावासलाई हस्तान्तरणको प्रक्रिया पूरा गरेको थियो ।

सरकारले तातोपानी भन्सार कार्यालयलाई सामान ल्याउन निर्देशन दिइसकेको थियो । किट्स उत्पादक कम्पनीका महाप्रबन्धक वाङ गुओपिङले बुधबार उक्त सामग्री बेइजिङस्थित नेपाली दूतावासमा कार्यवाहक नेपाली राजदूत सुशीलकुमार लम्साललाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण समारोहमा बेइजिङस्थित नगरपालिकाका प्रतिनिधिसहित सरकारी अधिकारीको पनि उपस्थिति थियो । ती सामान तीस हजार अमेरिकी डलर (करिब ३६ लाख नेपाली रुपैयाँ) बराबरका थिए ।

चीनका कम्पनीहरूले स्पेनमा पठाएका सामान नक्कली भेटिएपछि आलोचना भएको छ । त्यही अवस्थालाई ध्यान दिँदै नेपाल पठाउने सामग्री रोकिएको हुन सक्ने नेपाली अधिकारीहरूले अनुमान गरेका छन् ।नयाँपत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्