Logo
|
Friday 19th April 2024
Logo

epaper

फराकिलो परीक्षणविधि नै महामारीको ‘आँखा र कान’



कोरोना भाइरस कोभिड—१९ महामारी एकदम बढी गम्भीर अनि जटिल समस्या बन्दै गइरहेको छ ।
कोरोना भाइरस महामारीको सुरु भएदेखि नै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले परीक्षणमा विशेष जोड दिँदैआएको छ । विश्व महामारी कोरोना भाइरसको सामना गर्न र संकटबाट पार पाउन मुख्य भनेको

  • सबै केसलाई ट्र्याक गर्ने
  • घरेलु क्लस्टर पहिचान गर्ने र उनीहरूको सम्पर्कमा भएका व्यक्तिको पहिचान र तिनीहरूलाई अलग राख्ने ।
  • परीक्षण विधिले महामारीलाई निकै हदसम्म कम गर्न मद्धत गर्छ ।

भाइरस कहाँ छ भनेर थाहा नभएसम्म हामी भाइरसँग लड्न सक्दैनौं । जसको एउटा मात्र उपाए भनेको परीक्षण विधि हो । ठूलो मात्रामा गरिने परीक्षणले ठूलो महत्व राख्छ ।

नरेश पोख्रेल क्लिनिकल माइक्रोबायोलोजिष्ट

फराकिलो परीक्षणविधि नै महामारीको ‘आँखा र कान’ हो ।

एसिम्प्टोमेटिक क्यारियरले कुनै लक्षणहरू देखाउँदैन । सबक्लिनिकल क्यारियरहरू ती मानिस हुन् जसलाई हल्का लक्षणहरू हुनसक्छ तर चिकित्सा उपचार पर्याप्त छैन । हामीले यस प्रकारका जनसंख्याको समूहलाई बेवास्ता गरेमा ठूलो मानवीय प्रकोप आमन्त्रित गरिरहेका हुन्छौं ।
एसिम्प्टोमेटिक वा सबक्लिनिकल संक्रमण भएका मानिसहरूले सजिलै रोग सार्न भूमिका खेलिरहेका हुन्छन् । यद्यपी हामीले कती ठुलो दुर्घटनालाई निम्तो दिरहेका छौं भन्ने कुरा अझै हामीलाई थाहा छैन ।

छिमेकी, आफन्त र साथीहरुको परीक्षण गर्न जरुरी छ र सबै शंकास्पद केसहरुलाई अलग गर्नुपर्ने कुरा संक्रामक रोग विशेषज्ञहरुले भन्दै आएका छन् ।

यथासम्भव सबैको जाँच गर्नुपर्छ । लक्षण नभएका व्यक्तिहरूको उच्च संख्या पहिचान गर्नुपर्छ । सम्भावित केसहरू चाँडै पहिचान गर्नुपर्छ र भाइरसलाई जंगली आगो जस्तै फैलनबाट रोक्न उनीहरुलाई अलग राख्नैपर्छ ।

नेपालमा कोरोनाभाइरस रोकथाम उच्चस्तरीय समन्वय समिति छ । सरकारी नियमन आयोगहरु छन् । तर समन्वय छैन । कोरोना परीक्षणका लागि आवश्यक पर्ने किट, स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरणबारे थोरै मात्र चासो दिइएको छ ।

अब धेरै ढिलो नगरौं । समस्याले विकराल रुप दिन अगाडी नै महामारी रोग विशेषज्ञ, उपचारमा संलग्न चिकित्सक, प्रयोगशाला विशेषज्ञ, माइक्रोबायोलोजिस्ट लगायतका व्यक्ति संलग्न विशेषज्ञ टोली बनाएर अत्यावश्यक पूर्वाधार निर्माण गरी तत्काल काम शुरु गर्नुपर्छ ।

यो बेला कमिसन होइन, डब्ल्युएचओले तोकेको मापदण्ड अनुसारको गुणस्तरीय स्वास्थ्य सामग्री आपूर्ति गर्नुपर्छ । कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिमा राजनीतिक नेता भन्दा पनि सम्बन्धित विशेषज्ञको भनाइलाई महत्व दिनुपर्छ । विशेषज्ञ टोली र निजी क्षेत्रबीच सहकार्य गरेर अघि बढेको अवस्थामा हामीले कोरोना भाइरविरुद्धको अभियानमा केही हदसम्म भएपनि विजय प्राप्त गर्न सक्दछौं । (लेखक मोर्डन डायग्नोस्टिक सेन्टर नेपालमा कार्यरत हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्