Logo
|
Friday 29th March 2024
Logo

epaper

चिकित्सकहरुको लाइसेन्स खारेज र थुनामा राख्न दिइएको आदेशप्रति घोर बिरोध



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल चिकित्सक संघले प्रदेश नम्बर २ का मुख्य मन्त्री मोहमद लालबाबु राउत एवं डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले कोरोना भाइरसको संक्रमण रोक्न अहोरात्र खटिरहेका चिकित्सकहरुलाई बैठक बसिरहेकै अवस्थामा चिकित्सकहरुको लाइसेन्स खारेज गर्ने र चिकित्सकहरुलाई थुनामा राख्न दिइएको आदेशप्रति घोर भत्र्सना र निन्दा गरेको छ ।

कोरोना भाइरसबाट संक्रमित बिरामीहरुको उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले लगाउनुपर्ने एन —९५ मास्क जस्ता सुरक्षाका सामाग्रीहरु नपाइरहेको अवस्थामा गैर स्वास्थ्यकर्मीहरुले यस प्रकारको दुरुपयोग गरेकोमा संघले विरोध गरेको छ ।

सारा विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको वर्तमान अवस्थामा नेपाललाई उपचारका लागि आवश्यक पर्ने अत्यावश्यक सामाग्रीहरुको उपलब्धता बिना नै निरन्तर स्वास्थ्य सेवा प्रवाहमा खटिइरहेका चिकित्सकहरुको मनोबल उच्च पार्नुको सट्टा बैठक बसिरहेकै अवस्थामा चिकित्सकलाई थुन्ने, लाइसेन्स नै खारेज गर्छु भन्ने अभिव्यक्तिले नेपालको स्वास्थ्य सेवा प्रवाहमा चिकित्सकहरुले निर्वाह गरेको भूमिका प्रति गम्भीर आँच आएको नेपाल चिकित्सक संघको ठहर छ ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुका लागि जारी गरेको निर्देशिका, नेपाल मेडिकल काउन्सिलले हालै जारी गरेको प्राफेसनल इथिक्स ड्युरिङ कोभिड—१९ लाई सिरोधार्य गर्दै आफ्नो ज्यानको बाजी लगाएर संक्रमण रोकथामका लागि अतुलनीय योगदान पुर्याउँदै आएका छन् । उनीहरुलाई यस्तो प्रकारको अमानवीय क्रियाकलाप गर्न न्यायोचित नभएको र यसले डरलाग्दो महामारीसँग जुध्न कुनै पनि स्वास्थ्यकर्मी र चिकित्सकहरुको मनोबललाई गिराउने भएकाले आपत्तिजनक अभिव्यक्ति दिनु अत्यन्तै निन्दनीय भएको संघका महासचिव डा. बद्री रिजालद्धारा हस्तक्षरित विज्ञप्तिमा उल्लेख छ ।

संघर्षका लागि आवश्यकपर्ने सुरक्षाका सामाग्रीहरुको सहज उपलब्धता बिना पनि नेपालका स्वास्थ्यकर्मी र चिकित्सकहरु यस महामारीसँग शुरुदेखि नै निरन्तर संघर्ष गरिरहेका छन् ।

उपचार प्रक्रियामा प्रयोग हुने सुरक्षा सामाग्रीहरुको उपलब्धता बिना स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई स्वास्थ्य सेवा प्रवाह गर भन्नु उनीहरुको स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउनु एवं स्वास्थ्य सेवाग्राहीलाई समेत सक्रमण हुन जाने भएकाले सरोकारवाहरुले कोरोना भाइरस संक्रमणको गाम्भिर्यतालाई सुक्ष्म रुपमा मनन गरी सोही बमोजिमको निर्देशन गर्न अनुरोध गरिएको छ ।

देशभरका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरु विषमपूर्ण परिस्थितिका बावजुत पनि स्वास्थ्य सेवा प्रवाहमा जुटिरहनुभएको र योगदानको उच्च मूल्यांकन गर्दै भावी दिनमा पनि चिकित्सकीय धर्मलाई निरन्तरता दिनहुन समेत संघले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्