Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोरोना भाइरसबारे १० भ्रमः विश्व स्वास्थ्य संगठनको जवाफ

सुख्खा खोकी र सास फेर्न कठिनाईको साथ ज्वरो पनि भएमा कोविड—१९ को शंका



जनस्वास्थ्य सरोकार । यतिखेर कोरोना भाइरस (कोभीड—१९) विश्वव्यापी ज्वलन्त मुद्दा बनेको छ । हाम्रो देश नेपालमा पनि बाहिरी मुलुकबाट संक्रमण भएर आएका ६ जनामा कोरोनाको समस्या देखिसकेको छ । शुरुको एकजना त निको पनि भइसकेका छन् । नेपाल लगायत विश्वका २०४ देशमा फैलिएको कोरोना भाइरसले अहिलेसम्म १० लाख ५० हजार जतिलाई संक्रमित गरिसकेको छ र ५४ हजार २३१ भन्दा बढीले ज्यान गुमाइसकेका छन् । यसैगरी कोरोना संक्रमणपछि निको भएर अस्पतालबाट घर फर्किनेहरुको संख्या २ लाख २० हजार भन्दा बढी भइसकेको छ ।

त्यसैले कोरोना भाइरसदेखि धेरै डराइरहेका छन् । यसबारे धेरैको मनमा त्रास र भ्रम उठिरहेका हुनसक्छन् । प्रसिद्ध अभिनेत्री प्रियंका चोपडा र उनको पति निक जोनसले विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम र डा. मारिया भ्यान केरखोभ (कोविड १९ को टेक्निकल लीड) सँग कोरोना भाइरस सम्बन्धित प्रश्नहरू सोधेका छन् । जसको उत्तर यस्तोे छ । तपाईंलाई पनि यी प्रश्न र उत्तरहरूले दिमागमा उत्पन्न शंकाहरू हटाउन मद्धत गर्नेछ ।

पहिलो प्रश्न—यस समयमा बिरामीहरुले कोरोना भाइरसबाट बच्न के कुरामा ख्याल गर्नुपर्छ ?

(पहिलो प्रश्न प्रियंका चोपडाका पति निक जोनसले सोधे— म टाइप—१ डायबिटिजबाट पीडित छु, प्रियंकालाई दम (अस्थामा) को समस्या छ । हामी दुवै आ—आफ्फ्नो सुरक्षाबारे चिन्तित छौं । )
डब्ल्यूएचओको जवाफ—यस प्रश्नको उत्तर दिँदै डा. मारिया भन्छिन्—मधुमेह, मुटु र धमनीको रोग, श्वसन रोग (श्वास रोग) र क्यान्सरलगायतका दीर्घ रोगहरुबाट पीडित व्यक्ति कोरोनाको जोखिम वर्ग हुन् । यसका साथै ६० बर्ष भन्दा बढी उमेर भएका व्यक्तिहरूलाई कोरोनाको जोखिम धेरै हुने भएकाले यस्ता व्यक्तिले सजग र सचेत हुन जरुरी छ ।
त्यसकारण, यस्ता व्यक्तिहरुलाई अधिकतम समय घरभित्रै रहन सल्लाह दिन्छु । तर जसलाई कुनै रोग छैन, त्यस्ता व्यक्तिले होसियार भएर बिरामीलाई सहयोग गर्नुपर्छ । यो रोगको संक्रमण बालबालिका र युवाहरुमा पनि भइरहेकाले सबै व्यक्ति जोखिममा छन् । डा. टेड्रसले भनेका छन्—‘तपाई अजेय हुनुहुन्न ।’

यस भाइरसबाट मर्ने जोखिम जति उमेर पुगेकाहरुको हुन्छ त्यति नै युवाहरुमा पनि छ । कुनै पनि बेला यो भाइरसले आईसीयूमा पठाउन सक्छ । यद्यपी जुन मानिससँग पहिले नै यो रोग छ, तिनीहरू केवल जोखिममा छन् भन्ने मात्र नसोच्नुहोस् । यो खतरा सबैका लागि हो । त्यसैले यसको शिकार नहुनका लागि तपाईंले अतिरिक्त सावधान हुनु आवश्यक छ । यदि तपाईं बाहिर जाँदै हुनुहुन्छ भने, यी पाँच चीजहरुको ख्याल राख्नुहोस् ।

१.राम्रोसँग आफ्नो हात धुनुहोस्
२. हाँछ्यु गर्दा मुखलाई कुहिनोबाट छिर्काउनुहोस् ।
३. आफ्नो अनुहार नछुनुहोस्
४. प्रत्येक व्यक्तिसँग १ मिटरको उचित दूरी कायम राख्नुहोस् ।
५. यदि तपाईंलाई ज्वरो आएको छ, वा आफ्नो हालत ठीक नभएमा घरमै बस्नुहोस् । यदि तपाईंलाई सास फेर्न समस्या भएको छ भने तुरुन्तै डाक्टरसँग सम्पर्क गर्नुहोस् ।

दोस्रो प्रश्न—कोरोना भाइरसको संक्रमण हावामार्फत फैलन्छ ? के यो हावाबाट हुने भाइरस हो ?

डब्ल्यूएचओको जवाफ—यो भाइरस हावामा फैलिँदैन । यो भाइरस कुराकानी गर्दा, खोकी वा हाँछ्यू गर्दा बाहिर निस्कने थुकको छिटाबाट अर्को व्यक्तिमा फैलिन्छ । यी भाइरसहरू जब कसैको आँखा, मुख वा नाकमा पुग्छन्, तब यसको शिकार भइन्छ ।

यो भाइरस तपाई समक्ष विशेष प्रकारले मात्र पुग्नसक्छ । यो हावा, खाना वा जनावरले फैलाउँदैन । डा.मारिया भन्छिन्—यदि यी भाइरस कुनै सतहमा छन् भने तपाईंको हातमार्फत मुखसम्म पुग्न सक्छन् । त्यसैले यो भाइरसबाट बच्न राम्रोसँग साबुन पानीले हात धुनुहोस् वा राम्रो सेनिटाइजरको प्रयोग गर्नुहोस् । यसबाट भाइरस संक्रमणबाट जोगिन सकिन्छ ।

तेस्रो प्रश्न —एक पटक निको भइसकेपछि कोरोना भाइरस फेरि बल्झिन सक्छ ?

डब्ल्यूएचओको जवाफ— डा. मारिया भन्छिन्—हामीलाई यसबारे पूर्ण जानकारी छैन किनकि यो बिल्कुल नयाँ भाइरस हो, जसको बारेमा हामी पत्ता लगाउँदैछौं । विश्वव्यापी रूपमा यस भाइरस संक्रमण भएका ४ लाखमध्ये १ लाख मानिस निको भएका छन् । एउटा कुरा जुन हामीले बुझ्छौं त्यो हो कि यस भाइरसबाट निको भएका मानिसहरुको शरीरको प्रतिरक्षा प्रणाली कति शक्तिशाली वा कमजोर हुन्छ भन्ने हामीले भन्न सक्ने अवस्था छैन ।

चौथो प्रश्न—के कोरोना भाइरस गर्मीमा मर्छ ? यदि मैले घर तातो राखेमा यो भाइरसबाट बच्न सक्छु ?

डब्ल्युएचओ जवाफ— यो भाइरस सबै प्रकारको तापक्रममा फैलिरहेको छ । उत्तरी चीन जस्तो चिसो क्षेत्र र दक्षिण अफ्रिका र सिंगापुर जस्तो न्यानो क्षेत्रमा पनि यो भाइरस फैलिरहेको छ । एउटा प्रश्न धेरैले सोध्ने गरेका छन् कि यदि गर्मी मौसम आयो भने के यो भाइरस निर्मूल हुन्छ ? हामी विश्वास गर्दछौं कि गर्मी आउने बित्तिकै भाइरसको प्रतिक्रिया परिवर्तन हुन्छ, त्यसैले हाम्रो शरीरको प्रतिक्रिया पनि परिवर्तन हुन्छ । तसर्थ यो भाइरस गर्मीले निर्मूल पार्नेछ भन्नु ठीक छैन ।

पाँचौं प्रश्न—के यो भाइरस निर्मूल गर्न खोप तयार भइरहेको छ ?

डब्ल्यूएचओको जवाफ—डा. टेड्रस भन्छन्— विश्व स्वास्थ्य संगठनले ८ हप्ता पहिलेदेखि यस भाइरसको खोपको सम्बन्धमा धेरै बैठकहरू गरिसकेको छ । विश्वका धेरै ठूला वैज्ञानिकहरू यसमा काम गरिरहेका छन् । तर खोप आउन कमसेकम १२ देखि १८ महिना (एक डेढ वर्ष) लाग्नसक्छ ।

छैठो प्रश्न—ज्वरो नभएको व्यक्ति पनि कोरोना भाइरसको शिकार हुने सम्भावना हुन्छ ?

डब्ल्यूएचओको जवाफ— ज्वरो नहुने व्यक्तिमा पनि कोरोना हुनसक्ने सम्भावना हुन्छ । हामीलाई थाहा छ कि कोरोना भाइरसबाट पीडित व्यक्तिलाई सुख्खा खोकी, चिसो, श्वासप्रश्वासमा कठिन, शरीरमा दुखाइ र ज्वरोको समस्या हुन्छ । केही व्यक्तिहरुमा रुघा लाग्ने र हाछ्ँयु आउने समस्या हुन्छ । तर चीनमा ९० प्रतिशत भन्दा बढी मानिसहरूलाई ज्वरो एउटा प्रमुख लक्षण देखिएको छ ।

यद्यपी सामान्य ज्वरो र चिसोको शिकार जो पनि हुनसक्छ । तर यदि तपाईंलाई सुख्खा खोकी र सास फेर्न कठिनाईको साथ ज्वरो पनि भएमा कोविड—१९ को शंका गर्नुपर्छ ।

सातौं प्रश्न—एकै साथ कुनै पनि व्यक्ति २ भाइरसहरूको शिकार हुन सक्छ ? सह—संक्रमण के हो ?

डब्ल्यूएचओको जवाफ— हो, यो सम्भव छ । केहि मानिसहरुमा इन्फ्लुएन्जा र कोभिड १९ एकैसाथ हुनसक्छ । केहि व्यक्तिहरूमा ब्याक्टेरियल निमोनिया र कोभिड १९ एक साथ हुनसक्छ । यसको मतलब त्यहाँ एकै साथ दुई संक्रमण हुन सक्छ ।

आठौं प्रश्न—कुन सतहमा यो भाइरस बाँच्न सक्छ ?

डब्ल्यूएचओको जवाफ—भाइरस शरीरको बाहिर बाँच्दैन । यो शरीरभित्र प्रवेश गरेपछि सक्रिय हुन्छ । तर यो भाइरस बिभिन्न ठोस सतहहरूमा सक्रिय रहन सक्छ । प्रारम्भिक अध्ययनहरूले देखाए कि यी भाइरसहरू ठोस सतहमा घण्टौंसम्म सक्रिय रहन सक्दछन् । यसैले हामी बारम्बार भन्दै आएका छौं कि कुनै कुरा छोएपछि साबुनपानीले हात राम्रोसँग हात धुनुपर्छ । यसका साथै हातहरु पुग्ने घरका ठाउँहरुमा किटनाशक औषधिहरु छर्कनुपर्छ ।

नवौं प्रश्न —हात सफा गर्न साबुन राम्रो हो वा सेनिटाइजर ?

डब्ल्यूएचओको जवाफ— तपाईसँग जे उपलब्ध हुनसक्छ, त्यसैबाट हात सफा गर्नुहोस् । मुख्य कुरा हात सफा राख्नु नै हो ।

दशौं प्रश्न— गरिब एवं विकासोन्मुख देशका गरिब र अशिक्षित मानिसहरूलाई यस भाइरसको डरबाट बचाउन सरकारहरूले के गर्नुपर्छ ?

डब्ल्यूएचओको जवाफ—मानिसहरूले सजिलैसँग साबुन पानीले हात सफा गर्ने सुविधा उपलब्ध गराउन सरकारले ‘ह्यान्ड वासिङ्ग स्टेशन’ बनाउन सक्छ । (यो जानकारी हामीले ओन्ली माई हेल्थबाट लिएका हौं ।)

प्रतिक्रिया दिनुहोस्