Logo
|
Thursday 25th April 2024
Logo

epaper

चिकित्सकहरुको चेतावनीः नेपालमा कोरोना महामारी नै फैलियो भने कसैले थेग्न सक्दैन



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोनाको लोकल ट्रान्समिसन शुरु भएपछि चिकित्सकहरु चिन्तित भएका छन् ।
यो कोरोनाको दोस्रो चरण हो ।
शुरुमा बाहिरबाट आएका व्यक्तिहरुमा संक्रमण पहिचान हुँदै आएकोमा अहिले तिनै व्यक्तिहरुबाट स्थानीय व्यक्तिहरुमा संक्रमण देखिन थालेपछि चिकित्सकहरुले थप सजग र सचेतना अपनाउन आग्रह गरेका छन् ।
कञ्चरपुरकी ३४ बर्षीया एक महिलामा भारतको उत्तराखण्डबाट आएका उनका देवरबाट कोराना संक्रमण भएपछि सर्वत्र चिन्ता र चासो बढ्दै गएको हो ।
किष्ट मेडिकल कलेजका कन्सल्टेन्ट सर्जन प्रा.डा.कमल कोइराला भन्नुहुन्छ—‘अब कोरोनाको संक्रमण दोस्रोबाट तेस्रो चरणमा जान नदिऔं ।’

‘सामान्य अवस्थामा नै आईसियू र भेन्टिलेटर अपुग छ । महामारि नै फैलियो भने कसैले थेग्न सक्दैन ।’—प्रा.डा. कोइरालाको भनाइ छ ।

प्रा.डा. कोइराला भन्नुहुन्छ—‘आफू सुरक्षित भएर मात्र स्वास्थकर्मी जोखिम मोल्न तयार छन् । यो बाहेक पत्रकारले पनि स्वास्थ संस्थाबाट अरु केही जवाफ पाउनु हुन्न । तपाईंहरु पनि घरमै बस्नु होला । हामी सबै रोकथाम मै लागौं ।’

सरकारको आग्रह
सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ । कैलाली र कञ्चनपुरमा देखिएको ३ जनामध्ये ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका थिए भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै थिइन् ।

भारतको मुम्बईबाट फर्केका कैलालीका २१ वर्षे पुरुष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षे अर्का पुरुष र कैलालीकै अर्की ३४ वर्षे महिलामा कोरोना पोजेटिभ देखिएको हो । ३४ वर्षे महिला यसअघि कैलालीमा भेटिएका संक्रमितका आफन्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास डा. देवकोटाले जानकारी दिनुभएको छ ।
उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनै जनामा संक्रमण देखिएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

बाहिरबाट संक्रमित भएर आएका व्यक्तिबाट स्थानीय व्यक्तिमा संक्रमित हुनु लोक ट्रान्समिसन अर्थात दोस्रो चरण हो
नेपालको सन्दर्भमा यो एउटा व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने लोकल ट्रान्समिसन र एउटा समाजबाट अर्को समाजमा फैलिने कम्युनिटी ट्रान्समिसन हो । कम्युनिटी ट्रान्समिसन भनेको भयावह स्थिति हो ।

अब नेपालमा कुल संक्रमितको संख्या ९ पुगेको छ ।

यसअघि कोरोना देखिएका बागलुङका २ जनाको धौलागिरी अञ्चल अस्पताल र ३ जनाको काठमाडौंस्थित शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । शुरुमा कोरोना देखिएका एकजना उपचारपछि घर फर्किसकेका छन् ।
लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन डा. देवकोटाले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्