Logo
|
Thursday 18th April 2024
Logo

epaper

कोरोना संक्रमित ६५ बर्षीया आमाको कहानी



बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिला नेपालबाट कान्छी छोरी भेट्न गत फागुन १४ गते बेल्जियम पुगेकी थिइन् ।

ती महिलाको एक महिना जति उतै घुम्ने रहर थियो भने छोरीको पनि धित मरुञ्जेल आमालाई घुमाएर नेपाल फर्काउने चाहना थियो। तर, विदेश पुगेको दुई सातामा नै चीन हुँदै विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण बढ्न थाल्यो। धित मर्ने गरी घुम्ने घुमाउने चाहना थाती राखेर उनले नेपाल फर्किने सोच बनाइन् र तत्कालै नेपाल फर्किइन् पनि। कोरोनाभाइरस सङ्क्रमणको डरले घर त आइन् तर भाइरसले पछ्याउँदै घरसम्मै आइपुगेको उनलाई पत्तो भएन। गत चैत्र २० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आयो अर्थात् आफूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको समाचार आयो।  सुरुमा पत्यार लागेन, तर नपत्याउने आधार पनि बाँकी रहेन।

कसरी सर्‍यो सङ्क्रमण ?

झण्डै २०/२२ वर्षदेखि दमको रोगी समेत रहेकी उनी बेल्जियमबाट दोहा हुँदै कतार एअरवेजको क्यूआर ६५२ नम्बरको फ्लाइटमा नेपाल आएकी थिइन्। उनीसँगै एउटै विमानमा आएकी बागलुङ नगरपालिकाकै १९ वर्षीया किशोरीलाई कोरोनाभाइरस सङ्क्रमण भेटिएपछि ती ६५ वर्षीया महिलाको पनि स्वाब परीक्षण गरिएको थियो। त्यसबेलासम्म उनमा सङ्क्रमणको कुनै लक्षण समेत थिएन। तर, परीक्षणका क्रममा पोजेटिभ देखिएपछि अर्की किशोरीसहित उनी यही चैत २० गतेदेखि धौलागिरी अञ्चल अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छिन्। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्।

सङ्क्रमणको डर

चैत ४ गते काठमाण्डू उत्रिएपछि उनलाई ज्वाईँ लिन एअरपोर्टमा पुगेका थिए। काठमाण्डूबाट यति एअरलाइन्सको उडानबाट पोखरा ओर्लिएपछि जीपमा यसअघि सङ्क्रमित भेटिएकी युवतीसँगै बागलुङसम्म उनीहरू आइपुगेका थिए।आएको दिन उनी छोरीको घरमा बसिन्। अर्को दिन घरमा पुगिन्।घरमा बस्दा गाउँका केही मानिस र बालबालिका पनि उनलाई भेट्न घरमा पुगेका थिए। उनीहरूलाई चकलेट पनि बाँडेको बताईन्। अस्पतालमा उपचाररत उनलाई रुघाखोकी, ज्वरो आउने कुनै पनि समस्या देखिएको थिएन। त्यसैले उनलाई सङ्क्रमण भएको अनुभव नै नभएको बताउँछिन्। उनी भन्छिन्, “मलाई कुनै लक्षण नै देखिएको थिएन, पहिलेदेखि नै दमको रोगी भएकाले यो रोग लागेपछि मर्छु की भन्ने चिन्ता नै छैन।” पहिले दम बढेर बस्न खान नहुने अवस्थामा अहिले बरु ठीक भए जस्तो भएको उनको अनुभव छ। “अस्पतालमा बसेको भएपनि मैले कुनै औषधी खाएकी छैन,” उनी भन्छिन्। “मेरो आत्मबल नै कडा छ, रोग लागेको छ भन्ने विश्वास नै छैन। आत्मबल भएकालाई त यो रोग पनि लाग्दो रहेनछ,” उनले थपिन्।

‘आत्तिएर हुँदैन’

 धौलागिरी अञ्चल अस्पतालमा उपचाररत रहेकी उनी आत्तिएकी छैनन् । अझै पनि उनलाई रुघाखोकी, ज्वरो, झाडापखालाजस्ता कुनै समस्या देखिएको छैन। आफन्तहरूसँग फोनमा धेरै बेर कुरा समेत गर्छिन्। उनी भन्छिन्, “मान्छेहरु बढी डराए, डराउनु पर्दैन, शङ्का लागेमा चेकजाँच गर्नुपर्छ। ठीक हुन्छ।”

एम्बुलेन्स चालक भाग्दा

काठमाण्डूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले आधिकारिक रूपमा उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेपछि गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मी घरमै क्वारन्टीनमा बस्दै आएकी सङ्क्रमितलाई अस्पताल ल्याउने तयारीमा जुटे। तयारी अवस्थामा रहेको नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्सलाई धौलागिरी अञ्चल अस्पतालमा बोलाइयो । एम्बुलेन्स तत्कालै अस्पताल परिसरमा आयो । तर, चिकित्सकहरुले कोरोनाभाइरस सङ्क्रमित बिरामी ल्याउन जानुपर्ने बताएपछि एम्बुलेन्स चालक सुरक्षा नभएको भन्दै अस्पताल परिसरबाट भागे। एम्बुलेन्स छोडेर चालक भागेपछि स्वास्थ्य कार्यालयका चालकमार्फत सङ्क्रमितलाई अस्पताल ल्याइएको थियो। यसबारेमा पनि सङ्क्रमित वृद्धाले थाहा पाइन्। उनले बीबीसीलाई भनिन्, “मलाई कोरोनाभाइरस लागेको थाहा नै थिएन। न यो रोग लाग्नुमा मेरो कुनै गल्ती छ।” “गाउँभरि मान्छेहरू पनि सर्छ कि भनेर डराएका छन्,” उनले भनिन्। “यस्तो बेलामा सबैको साथ सहयोग चाहिने हो, यस्तो खबरले दु:खी भने बनायो।” सँगै बसेका मानिसहरूलाई पनि परीक्षण गर्दा नसरेको रिपोर्ट आएकाले पनि त्यति आत्तिनु पर्ने अवस्था नरहेको अनुभव भएको उनले सुनाइन्।

सचेत बनौँ, त्रसित होइन

सङ्क्रमित वृद्धाका परिवारजन पनि सुरुमा आत्तिएका थिए । तर, अहिले उनको स्वास्थ्य अवस्था देखेपछि भने कोही नआत्तिएको परिवारले जनाएको छ। उनका छोराले भने, “परिवारको सदस्यलाई नै सङ्क्रमण देखिँदा सुरुमा सबै आत्तिएका थियौँ, अब के हुने हो ?” “लक्षण नै नदेखिएर कसरी यस्तो भयो भनेर। तर अहिले हामी सबै ठीक छौँ, घरमै क्वारन्टीनमा बसेका छौँ ।”अस्पतालबाट सुरुमा आफूलाई जानकारी आएपछि आमालाई सम्झाएको उनले बताए । आमासँगको त्यस क्षणको कुराकानीबारे उनले भने, “आफुलाई रोग लागेको भन्दा पनि हामीलाई र गाउँका मानिसहरूलाई पनि सर्छ कि भन्ने चिन्ता गर्नुभएको थियो।” सङ्क्रमित भएको व्यक्तिलाई नै केही नभएको बेला कोही आतंकित हुन जरुरी नरहेको तर सचेत हुनुपर्ने उनी बताउँछन्। सरकारले गरेको लकडाउन, सामाजिक दूरी कायम राख्ने बिषयलाई भने सबैले पालना गर्नुपर्नेमा उनको जोड छ।

बागलुङका दुवै सङ्क्रमितको अवस्था सामान्य

यसभन्दा अघि सोही उडानमा आएका दुई जनामा पनि कोरोनाभाइरसको सङ्क्रमण भेटिएको थियो । सोही उडानमा आएकी बागलुङकी अर्की किशोरीमा सङ्क्रमण भेटिएको थियो । उपचाररत दुवै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र बि पोखरेलले बताए। “हामी सुरक्षित तरिकाले उपचारमा खटिरहेका छौं, तपाईँहरु घरमै बस्नुहोस्, समस्या भए तुरुन्तै अस्तपालमा सम्पर्क राख्नुहोस्,” पोखरेलले भने। रबिना बोहोरा,बीबीसी 

प्रतिक्रिया दिनुहोस्