Logo
|
Saturday 6th June 2020
NEWS PAPER

स्थानीय तहमा कोरोना जोखिम उच्चः ६५ देशबाट निर्बाध नेपाल भित्रिएका २० हजार ५४ जना कहाँ छन् ?



Health News

जनस्वास्थ्य सरोकार, काठमाडौं । संसारभरि महामारी फैलिरहँदा चैत १–१० मा मात्रै ६५ देशबाट निर्बाध नेपाल आएका २० हजार ५४ जनालाई सरकारले क्वारेन्टाइनमा समेत नराखी घर पठाएको थियो, तिनै व्यक्तिहरूबाट अहिले स्थानीय स्तरमा कोभिड–१९ संक्रमणको जोखिम बढेको छ ।

कोभिड–१९ (कोरोना) संक्रमण विश्वव्यापी फैलिइसक्दा हवाईमार्गबाट नेपालमा करिब २० हजार नेपाली भित्रिए । सरकारले समयमै निर्णय लिन नसक्दा विदेशबाट आएका विदेशी र नेपालीबाट स्थानीयस्तरमा संक्रमण फैलिने जोखिम बढेको छ ।

अध्यागमन विभागबाट प्राप्त तथ्यांकअनुसार लकडाउनअघिका दस दिन (चैत १–१०) को अवधिमा मात्रै ६५ देशबाट २० हजार ५४ नेपाल भित्रिएका थिए । तीमध्ये १९ हजार ५ सय ५३ जना नेपाली संसारका विभिन्न देशबाट स्वदेश फर्किएका थिए ।

यो अवधिमा खुला सिमाना हुँदै भारतबाट कति नेपाली भित्रिए भन्ने यकिन तथ्यांक सरकारसँग छैन । विश्व स्वास्थ्य संगठनले कोरोनो संक्रमणलाई महामहारी घोषणा गरेको १३ दिनपछि अर्थात् चैत ११ बाट मात्रै नेपाल सरकारले लकडाउन घोषणा गरेको थियो । चीन, युरोप, अमेरिका र भारतमा संक्रमण फैलिसक्दा विश्वका कैयन् देशबाट विदेशी र नेपाली नागरिकले नेपालमा सहजै प्रवेश पाइरहेका थिए । कतिसम्म भने संक्रमण फैलिसकेका देशमा पनि अन्य देशका नागरिक सहजै आउजाउ गरिरहेका थिए ।

कोरोनो संक्रमणको पहिलोपटक पुष्टि भएको दुई महिनापछि मात्रै चैत ११ मा दोस्रो संक्रमण पुष्टि भएको थियो । यो अवधिमा सरकारले विदेशबाट भित्रिनेलाई क्वारेन्टाइनमा राख्ने वा अन्य प्रबन्ध गर्ने काम गरेन । हाल संक्रमित देखिएकाहरूको ट्राभल हिस्ट्री हेर्ने हो भने लकडाउनको निर्णय एक साताअघि मात्रै भएको भए पनि अहिलेको संक्रमणबाट नेपालले पार पाउने सम्भावना रहन्थ्यो । किनकि लकडाउनको ६ दिनअघि अर्थात् चैत ४ मा कतार हुँदै काठमाडौं आएको विमानमा सवार तीन यात्रुमा संक्रमणको पुष्टि भइसकेको छ । संक्रमणका अन्य ६ घटनामध्ये एकमा स्थानीय संक्रमण पुष्टि भए पनि अन्य पाँचै जना लकडाउनको केही दिनअघि मात्रै नेपाल प्रवेश गरेका हुन् । तेस्रो संक्रमित चैत ६ गते यूएईबाट काठमाडौं आएका थिए भने चौथो संक्रमित चैत ७ गते दुबईबाट आएका थिए । २२ गते संक्रमण पुष्टि भएका कैलाली र कञ्चनपुरका दुई युवा भने क्रमशः १२ र १४ गते स्थलमार्गबाट नेपाल छिरेका हुन् ।

संक्रमित नौ जनामध्ये चार जना वैदेशिक रोजगारीबाट फर्केका कामदार हुन् । जसमा दुई जना भारतबाट फर्केका कामदार भए पनि दुई जना खाडीबाट फर्केका हुन् । लकडाउन अघिका दस दिनमा कति कामदार खाडी र मलेसियाजस्ता प्रमुख श्रम गन्तव्य मुलुकबाट फर्के भन्ने हिसाब सरकारसँग छैन । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार सामान्य अवस्थामा वैदेशिक रोजगारीबाट औसतमा दैनिक सातदेखि आठ सय कामदार स्वदेश फर्किन्छन् । उनले चैत १ देखि १० गतेसम्म कति कामदार फर्किए भन्ने यकिन तथ्यांक नरहेको बताए । लकडाउनअघिका दस दिनमा स्वदेश आएका १९ हजार ५ सय ५३ नेपालीमध्ये आधा वैदेशिक रोजगारीबाट फर्किएका कामदार हुनसक्ने अनुमान विभागका अधिकारीहरू गर्छन् ।

सरकारले समयमै गम्भीर निर्णय नलिँदा वैदेशिक रोजगारीबाट फर्किएकाहरू र अन्य काममा प्रवासमा रहेका नेपालीहरू सामान्य ज्वरो जाँचका भरमा स्वदेश भित्रिए । सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न गरेको आग्रह बाध्यकारी बन्न नसक्दा र त्यसको नियमनमा चुक्दा विदेशबाट फर्किएकाहरू ठूलो समुदायसँग सजिलै घुलमिल हुन पुगे । स्वदेशीलाई क्वारेन्टाइनमा राख्न नसकेपछि सरकारले समयमै विदेशी नागरिकको हकमा कडा कदम चाल्न सक्थ्यो तर महामारीको प्रकोप विश्वव्यापी बनिसक्दा पनि यो निर्णयसमेत सरकारले लिएन ।

कतिसम्म भने विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरिसक्दा पनि सबैभन्दा धेरै संक्रमणको क्षति व्यहोरेको चीनबाट चिनियाँ नागरिकहरू सजिलै नेपाल आइरहेका थिए । अध्यागमन विभागका अनुसार लकडाउनअघिका दस दिनमा मात्रै ५० चिनियाँ नेपाल आएको रेकर्ड छ । त्यसअघि माघ १८ देखि फागुन १५ को अवधिमा ३ हजार एक सय १० चिनियाँ भित्रिएको अध्यागमनको रेकर्ड छ ।

बेलायत/उत्तरी आयरल्यान्डबाट मात्रै लकडाउनअघिका दस दिनमा १ सय ४६ जना आएका थिए । जबकि फागुन १५ मै उत्तरी आयरल्यान्डमा कोभिड–१९ को पहिलो संक्रमण पुष्टि भएको थियो । अध्यागमन विभागको रेकर्डमा चैत १ यताका दस दिनमा एक सय आठ अमेरिकी नेपाल आएको तथ्यांक छ । जबकि माघ ६ मै अमेरिकामा ३५ वर्षीय नागरिकमा संक्रमण पुष्टि भएको थियो भने फागुन १७ मा संक्रमणबाट एक अमेरिकीको मृत्यु भइसकेको थियो । अमेरिकी सरकारले फागुन २८ मा २६ युरोपेली देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो । जबकि यस्तो प्रतिबन्धपछिका १२ दिनसम्म पनि नेपालले भने अमेरिकी नागरिकलाई सहज प्रवेश दिइरह्यो ।

माघ १६ मा भारतको केरलामा कोरोना संक्रमणको पहिलो पुष्टि भएको थियो । त्यसपछिका दिनमा पनि नेपाल सरकारले कुनै गम्भीर कदम चालेन । भारतमा संक्रमणको संख्या बढ्दै जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै भारतीयहरूले नेपालमा सहज प्रवेश पाइरहेका थिए । चैत १ गतेपछिका दस दिनमा मात्रै विमानस्थल हुँदै एक हजार एक सय ९७ भारतीय नेपाल प्रवेश गरेको देखिन्छ ।

हामीले हिँडेको उल्टो बाटो

माघ १६ मा विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्य संकटकाल घोषणा गरेको थियो । फागुन २८ मा महामारी घोषणा गर्‍यो । संकटकाल घोषणाको ५३ दिनपछि र महामारी घोषणाको आठ दिनपछि चैत ५ गते नेपालले कोरोना संक्रमणविरुद्ध लड्न पहिलो औपचारिक कदम चालेको थियो । उक्त दिन रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिले सिनेमा हल, सांस्कृतिक केन्द्रलगायतका भीड जम्मा हुने स्थानहरू बन्द गर्ने निर्णय गरेको थियो ।

फागुन १५ मै विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमण ५० देशमा फैलिएको भन्दै उच्च सतर्कता अपनाउन भनिरहेको थियो । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा संगठनका महासचिव ट्रेडोस एडानो गेहब्रेयसले भनेका थिए, ‘कुनै पनि मुलुकले कोभिड–१९ आफ्नो देशमा भित्रिन्नँ भनेर सोचे गम्भीर गल्ती हुन्छ ।’ यस्तो सूचनालाई बेवास्ता गर्दै फागुन २९ गते स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारले विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न नसक्ने भन्दै आफैं क्वारेन्टाइनमा बस्नुपर्ने अभिव्यक्ति दिएका थिए । महासचिव ट्रेगोसको भनाइ सार्वजनिक भएको तीन दिनपछि मात्रै मन्त्रिपरिषद्ले रक्षामन्त्री पोखरेलको संयोजकत्वमा नौ मन्त्री सम्मिलित ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ बनाएको थियो ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीबाट बच्न तयारी रहन विश्वव्यापी सन्देश दिइरहँदा फागुन ६ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भने नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको सन्देशमूलक श्रव्यदृश्य सामग्री अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा तीन दिनभित्र तयार गरी व्यापक रूपमा सम्प्रेषित गर्ने व्यवस्था मिलाउनेबारे नीतिगत निर्णय गरिरहेको थियो । जबकि मन्त्रालयले यस्तो निर्णय गरेको भोलिपल्टै इरानमा कोरोना संक्रमण समुदाय तहसम्मै फैलिएको थियो । आउटब्रेक पनि भनिने संक्रमणको महामारीबाट इरान गुज्रिसक्दा पनि नेपालमा भने सोही देशका नागरिक निर्बाध आइरहेका थिए । अध्यागमन विभागका अनुसार माघ १८ देखि फागुन १५ को बीचमा मात्रै १७ इरानी नेपाल आएका थिए ।

चीनबाहिर थाइल्यान्डमा पहिलोपटक पुस २८ मा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको झन्डै साढे दुई महिनापछि फागुन १० मा थाइल्यान्डस्थित नेपाली राजदूत गणेशप्रसाद ढकालले स्थानीय ट्राभल एजेन्सीलाई नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको बताइरहेका थिए । अनि पर्यटनमन्त्री योगेश भट्टराई नेपाल कोरोनामुक्त देश रहेको भनेकै भरमा पर्यटन ल्याउन सकिन्छ भनेर सार्वजनिक अभिव्यक्ति दिँदै हिँडिरहेका हिँडीरहेको समाचार कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्