Logo
|
Saturday 20th April 2024
Logo

epaper

स्टार हस्पिटलमा कोभिड-१९ बाट श्रृजित असामान्य परिस्थितिमा अनलाइन टेलिमेडिसिन सेवा



जनस्वास्थ्य सरोकार ललितपुर । ललितपुरको सानेपा स्थित स्टार हस्पिटल लि. ले विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ बाट श्रृजित असामान्य परिस्थितिमा अनलाइन टेलिमेडिसिन सेवाको शुभारम्भ गरेको छ ।
आफ्ना नियमित सेवाग्राही तथा अन्य देश विदेशमा रहनुभएका र लकडाउनका कारणले नियमित स्वास्थ्य सेवा लिनबाट वञ्चीत समुदायलाई लक्षित गर्दै सो सेवा शुरु गरेको हो ।
डिजिटल प्रविधिको प्रयोग गर्दै उद्घाटन गरिएको कार्यक्रम, ई–कन्फरेन्स मार्फत नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, संस्थाका अध्यक्ष किसोर कुमार महर्जन, संचालक समिति सदस्य वसन्त चन्द्र मरहट्टा र ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले संयुक्त रुपमा गरेका थिए ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतिले, टेलिमेडिसिन सेवा लिन चाहने बिरामीहरुले गर्नुपर्ने रजिस्ट्रेसन प्रकृया, चिकित्सकिय परामर्श तथा अन्य परिक्षण गर्नुपरेको खण्डमा अवलम्बन गर्नुपर्ने प्रकृयाहरुका सम्बन्धमा डेमोनस्ट्रेशन देखाएर प्रकाश पार्नुभएको थियो । साथै सम्पूर्ण बिरामीहरुको अभिलेख डिजिटल रुपमा राखिने हुनाले भविष्यमा पनि बिरामीहरुको पहिलाको अवस्थाको बारेमा जानकारी प्राप्त गर्न सकिने गरि सेवा संचालन भएको जानकारी गराउनु भएको थियो ।

अस्पतालका अध्यक्ष किसोर कुमार महर्जनले अस्पतालले समय सापेक्ष डिजिटल प्रविधिको उपयोग गर्दै गएको र टेलिमेडिसिनका अलावा कोभिड १९ असाइनमेन्ट टुल पनि यसै साताबाट संचालनमा ल्याएको र  टुलले देश तथा विदेशबाट पनि राम्रो प्रतिकृया पाइरहेको बताउनु भएको थियो । कार्यक्रममा विशेष अतिथिको रुपमा मन्तव्य व्यक्त गर्नुहुँदै डा. कोइरालाले विशम परिस्थितीमा पनि अस्पतालले यस किसिमको सेवा प्रदान गर्ने उद्देश्य लिई सेवा प्रदान गर्नु गौरवको विषय भएको र यस कार्यले नितिगत निर्णय गर्न सहयोग पुग्ने बताउनु भएको थियो ।

अस्पतालबाट टेलिमेडिसिन सेवा लिन चाहने महानुभावहरुले अस्पतालमा सम्पर्क गरेर अस्पतालको वेवसाइट www.starhospital.com.np   मा गई रजिष्ट्रेशन गर्न सक्नेछन् । स्वस्थ्य उपचार परामर्शका लागि टेलिमेडिसिन सेवा नेपालमा लामो समयदेखि सुरु भएपनि अस्पतालको रेकर्ड प्रणाली इएमआर एकीकृत गरेर सेवा सुरु गर्न पाएकोमा अस्पतालले गौरव गरेको छ ।
सेवा लिन सुरुमा अस्पतलको टेलिफोनमा सम्पर्क गरेर अनलाईनमा रेकर्ड गरी, प्राप्त पासवर्ड र कन्फरमेसनका आधारमा वेवसाईट मार्फत आफै समय बुक गर्न र अन्य सम्बन्धीत रिर्पोट समेत हेर्न सकिन्छ । चिकित्सकीय परामर्शपछि प्रयोगशालाजन्य जाँचका लागि घरमै गएर नमुना संकलनको सेवा समेत सुरु गरिएको अस्पतालले जानएको छ ।
प्रयोगशालाका रिपोर्ट बिरामी आफैँले र्हेन सक्ने र सो आधारमा पछि पुनः समय लिएर चिकित्सक सँग परामर्श समेत गर्न सकिन्छ । साथै औषधी सिफारीस समेत सिधै सम्बन्धीत विभागबाट हेर्न सकिन्छ ।
अस्पतालले सुरु गरेको टेलिमेडिसिन सेवा जुम एपमा आधारित र अनलाइन मार्फत नै भुक्तानी गर्न सकिन्छ । यस किसिमको सेवाबाट बिरामीहरुले घरमै बसी आफ्ना समस्याहरु चिकित्सक समक्ष राखी सहज तरिकाले उपचार प्राप्त गर्न सकनेछन् । विभिन्न विधाका पूर्णकालीन चिकित्सकीय सेवा रहेको सय शैयाको यस अस्पतालले टेलिमेडिसिन सेवाबाट अहिलेको अवस्थामा उपचार सेवाबाट वञ्चित रहनुभएका थुप्रै महानुभावहरु लाभान्वित हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्