Logo
|
Friday 29th March 2024
Logo

epaper

अधिकांश अस्पतालमा बन्द गरिएका ओपिडी सेवा खुल्लान् ?



जनस्वास्थ्य सरोकार । अधिकांश अस्पतालमा बहिरङ्ग सेवाहरू (ओपिडी) बन्द गरिएको गुनासो आइरहंदा विकसित अवस्था हेरेर अब त्यसो गर्नु आवश्यक नरहेको एक सरकारी नियामक निकायका अधिकारीले बताएका छन्।

आधिकारिक रूपमा सरकारले कहिल्यै बहिरङ्ग सेवा बन्द गर्न समेत नभनेको भन्दै नेपाल मेडिकल काउन्सिल (एनएमसी)का रजिष्ट्रार कृष्णप्रसाद अधिकारीले ‘अहिले लकडाउन सुरु गर्दा सोचिएजसरी कोरोनाभाइरस सङ्क्रमितको चाप समेत अस्पतालमा नपाइएको’ बीबीसीलाई बताए । उनले भने: “सुरुमा सबैजना यस भाइरसका घटनाहरू कसरी बढ्छन् र हामी कसरी तयार रहनुपर्छ भन्नेमा स्पष्ट थिएनौँ। त्यही भएर ओपीडीका बारेमा स्पष्ट भनिएको थिएन। तर अब ओपीडी चलाउँदा हुन्छ।” सोमवारसम्म नेपालमा ५६९१ जनामा पीसिआर विधिबाट परीक्षण भएकोमा १४ जनामा सङ्क्रमण पाइएको छ भने १०३ जना अस्पतालमै निगरानीबिच आइसोलेसनमा छन् ।

बिरामीको चाप ‘एक्कासी बढ्नसक्ने’

अस्पताल सञ्चालकहरू लकडाउनकै कारण मानिसहरूको आवतजावत रोकिएकाले यस्तो बेला बहिरङ्ग सेवाको काम समेत आपत्कालिन सेवामार्फत् गरिराखिएको बताउँदै आएका छन्। तर यसअघि एनएमसी सहित पाँचवटा व्यावसायिक काउन्सिल र स्वास्थ्य मन्त्रालय सहितको एक टोलीले गरेको अनुगमनमा ‘अत्यावश्यक नभएको भन्दै थुप्रै सेवाहरू बन्द गरिएका’ पाइएका थिए। एनएमसीका रजिस्ट्रार अधिकारी भन्छन्: “यसरी लामो समय बहिरङ्ग सेवा रोकिँदा पछि अस्पतालहरूमा लकडाउन खुलेपछि समेत एक्कासी धेरै चाप पर्नसक्छ।”

अस्पताल

अहिले नै पनि नियमित जाँच र निगरानीमा जानुपर्ने रक्तचाप-मघुमेह, मानसिक समस्या वा अन्य रोगका विरामीहरू समस्या खेपिरहेका छन्। थुप्रै अवस्थाका शल्यक्रिया समेत पर सारिएका गुनासो बिरामीहरूबाट आइरहेको छ। अस्पताल एवं चिकित्सकहरूले भने आपत्कालिन सेवाबाटै यतिखेर सामान्य अवस्थाका बिरामीलाई जाँच गरिएको बताउँदै आएका छन्।

चिकित्सकको विदाको ‘चिन्ता’

थुप्रैतिर निजी अस्पतालमा चिकित्सकहरू विदामा रहेको गुनासो यतिखेर आइरहेका छन्। साना निजी अस्पताल एवं क्लिनिकहरू चिकित्सककै अभावमा बन्दप्राय: भएको गुनासो समेत अनुगमनका बेला सरकारी टोलीले गतसाता देखेको थियो । तर नेपाल चिकित्सक सङ्घ (एनएमए)का महासचिव डा बद्री रिजालले भने ‘सावधानीका रूपमा पालैपालो काम गर्दा त्यसो भएको’ प्रष्टिकरण दिन्छन्।

कोरोनाभाइरस: सुदुरपश्चिम

रिजालको भनाइ छ: “भवितव्यको अवस्थामा चिकित्सकहरू कोभिड-१९ का बिरामीबाट सङ्क्रमित भएमा सबै एकैपटक क्वारिन्टिनमा जानुपर्ने र सेवा नै बन्द गर्ने अवस्था नआओस् भनेर रोटेसनको व्यवस्था गरिएको हो।”

तर चिकित्सकहरू स्वयं समेत अहिलेको अवस्थामा अस्पतालमा भिडभाड हुनेगरी सामान्य अवस्थामा जसरी बहिरङ्ग सेवा सञ्चालन गर्न नचाइरहेको महासचिव रिजाल बताउँछन्। अहिले थुप्रै ठूला अस्पतालहरूमा कोरोनाभाइरसको लक्षण पहिचान र जाँच एवं सामान्य अवस्थाका बिरामीका लागि भनेर दुईखाले आपतकालिन सेवाहरू राखिएका छन्। तर चिकित्सकहरू भने ‘कोभिड क्लिनिक’ भनिने त्यस्ता सेवाहरू निश्चित अस्पतालमा मात्र राखिनुपर्ने र त्यसले चिकित्सकहरू समेत सुरक्षित हुने सावधानी अपनाउन सकिने र उनीहरूबाट अन्य बिरामीमा सङ्क्रमण फैलने जोखिम नहुने बताउँछन्। भाइरस जाँच गरिएकाको सङ्ख्या न्यून रहेकोले ‘थोरै सङ्क्रमित भन्दै जोखिममुक्त’ ठान्न नहुने चिकित्सकहरूको भनाइ रहेको उनीहरूको छाता सङ्गठन एनएमएका पदाधिकारीहरू बताउँछन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्