Logo
|
Friday 19th April 2024
Logo

epaper

चीनबाट नै ल्याइने भो कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न चीनको सप्लायर्स कम्पनिसँग सम्झौता गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयबाट सूचीकृत कम्पनीमार्फत उक्त सामाग्री ल्याउने तयारी भएको हो । तर सो कम्पनीको नाम भने खुलाइएको छैन ।

परराष्ट्र मन्त्रालयको संयोजनमा बुधबार स्वास्थ्य मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि सम्मिलित टोलीले खरिदको टुंगो लगाएको हो । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र चीनको वाणिज्य मन्त्रालयको संयोजनमा आवश्यक सामग्रीको सूची तय भइसकेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले औषधिबारे लगातार भिडियो कन्फरेन्समार्फत कुराकानी गरिएको जानकारी दिएका थिए । चीनले नेपाललाई सामग्री उपलब्ध गराउने ८१ औं सूचीमा राखेको थियो। तर, छिमेकको नाताले उसले तत्काल आवश्यक सामग्री उपलब्ध गराउन लागेको परराष्ट्र अधिकारीले बताएको समाचार अन्नपूर्णपोष्टमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

चीनका विभिन्न सहरबाट जम्मा गरिएका सामग्री ग्वाङ्जाओबाट नेपाल ल्याउने तयारी रहेको जानकारी मन्त्री ज्ञवालीले दिएका थिए । प्राथमिकता र आवश्यकताका आधारमा सूची चीनमा पुगेको र त्यसबमोजिम सामान आउने परराष्ट्र अधिकारीको भनाइ छ । मन्त्री ज्ञवालीले सामान खरिदबारे दुई दिनअघि चिनियाँ समकक्षी वाङ यीसँग छलफल गरेका थिए।

खरिद टुंगो लगाउनुअघि नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसेको थियो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले औषधि र स्वास्थ्य उपकरण तीन तरिकाबाट खरिद गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए । निजी क्षेत्रले खरिद गर्दा सरकारले सहजीकरण गरिदिने, स्वास्थ्य मन्त्रालय र मन्त्रालयमातहतबाट खरिद गर्ने प्रक्रियालाई पनि निरन्तरता दिने र सरकारबाट सरकार (जीटुजी) मार्फत खरिदको योजना सरकारले बनाएको छ । उनका अनुसार जीटुजीमार्फत खरिदका विषयमा अब करिब टुंगो लागेको छ ।

सरकारले यसअघि ओम्नी बिजनेस कर्पाेरेट इन्टरनेसनल प्रालिसँगको खरिद सम्झौता रद्द गरेको थियो । गत चैत १६ को मन्त्रिपरिषद् बैठकले खरिद प्रक्रिया जीटुजीमार्फत अघि बढाउने र त्यसको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो । सरकारले जिम्मेवारी दिएपछि सेनाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी परराष्ट्रमार्फत स्वास्थ्य सामग्रीको सूची पठाएको थियो ।

‘जीटुजीमार्फत खरिदका विषयमा परराष्ट्र मन्त्रालयमार्फत चीनको सम्बन्धित सप्लाई गर्ने कम्पनीसँग पचात्रार भएर बुधबारै फाइनल भएको छ । तीन चरण भिडियो कन्फरेन्स भएपछि फाइनल भएको हो’, समितिका सदस्यसचिव रहेका बिडारीले भने, ‘हाम्रा आवश्यकता र चाहिएको सामग्रीका विषय, त्यसमा दुई पक्षका जिज्ञासा परराष्ट्र मन्त्रालयको संयोजनमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहित बसेर टुंगो लगाइएको हो ।’

सेनाले जीटुजी प्रक्रियाबाट खरिद गर्न चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई पत्र पठाएको थियो । त्यसमध्ये चीन र भारतले सकारात्मक जवाफ दिएका थिए । जंगीअड्डाले बनाएको खरिद इकाइले तत्काल आवश्यक स्वास्थ्य सामग्रीको सूची बनाएको थियो । त्यसलाई आवश्यकताका आधारमा क्रिटिकल र प्रायोरिटी १, २, ३ गरी ४ तहमा बाँडिएको थियो । त्यस्ता औषधि र स्वास्थ्य सामग्रीलाई ३६ समूहमा विभाजन गरिएको छ । उक्त इकाइमा स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सम्मिलित थिए ।

निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्न ढुवानीलगायत आवश्यक सहजीकरण सरकारले गरिदिने भएको छ । स्वास्थ्य मन्त्रालय वा विभागले गर्ने खरिदलाई निरन्तरता दिने निर्णय पनि सरकारको छ । जीटुजीमार्फत सेनाले ८५ र विभागले १५ प्रतिशतसम्म खरिदको तयारी सरकारको थियो

प्रतिक्रिया दिनुहोस्