Logo
|
Friday 19th April 2024
Logo

epaper

विश्व हिमोफिलिया दिवस २०२०: कोरोनाको डर र त्रासमा हिमोफिलियायुक्त व्यक्ति

आकस्मिक अवस्था आइपरेमा के गर्ने ?



आज विश्वभर नै कोरोना भाइरस (कोभिड—१९) ले आक्रान्त बनाएको छ । विश्वका शक्तिशाली एवं सम्पन्न राष्ट्रहरु नै कोरोनासँग लडिरहेका छन् । औषधि पत्ता लगाउनको लागि देशका सम्पूर्ण शक्तिहरु एवं खर्चहरु कोरोनामैं समर्पण गरिरहेका छन् । लाखौं मानिसहरुको ज्यान गइसकेको छ । सारा विश्व नै तरंगित एवं त्रसित भइरहँदा नेपाल पनि उक्त त्रसितबाट अछुतो रहन सकेको छैन ।

उक्त समस्यालाई भयाभह हुन नदिन विश्वका धेरै मुलुकले गरेझैं नेपालले पनि लककडाउन गरेको झण्डै महिना दिन हुन लागिसक्यो । आफ्ना जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै गरेको उक्त कार्य सराहनिय रहेको छ । यस बीचमा बिभिन्न समस्या भएका व्यक्तिहरुको लागि जीवन कष्टकर भइरहेको छ ।जनजीवन कष्टकर भइरहेको समस्याहरु मध्ये हिमोफिलियायुक्त व्यक्तिहरुको समस्या पनि अग्रपंक्तिमा रहेको छ ।

हिमोफिलिया के हो ?
रगत जमाउन आवश्यक तत्व (Cloting Factor) को कमीका कारण लामो समय सम्म रक्तश्राव भइरहने अवस्था हिमोफिलिया हो । वंशाणुगत वा उत्परिवर्तनका कारण सिर्जना हुने हिमोफिलियालाई रक्त विचलन सम्बन्धि अपाङ्गता पनि भनिन्छ । प्रायः पुरुषहरु पिडित हुन्छन् भने महिलाहरु वाहक हुने गर्दछन् । बेलायतका महारानी भिक्टोरियाका छोरा लियोपोल्डबाट शुरुवात् भएको हिमोफिलिया आज विश्वभर नै फैलिएको छ । उनको ३१ बर्षको उमेरमा मस्तिष्कघातका कारण अकालमैं मृत्यु भएको थियो ।

राज्यको पूर्ण साथ र सहयोग नहुदाको पीडा
आज नेपालमा करिव ७०० जना हिमोफिलियायुक्त व्यक्तिहरु हिमोफिलिया सोसाइटी नेपालमा आवद्ध भई उपचार लिइरहेका छन् । राज्यको पूर्ण सहयोग नभएकाले विदेशी दाताहरुको औषधि सहयोगमा जीवनदान पाइरहेका हिमोफिलियायुक्त व्यक्तिहरु विभिन्न समस्या भई औषधि उपचारको अभावमा प्रत्येक बर्ष ३—४ जनाले ज्यान गुमाउने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रत्येक १० हजार जन्ममा १ जना हिमोफिलियायुक्त बच्चा जन्मने मान्यता अनुसार नै नेपालको जनसंख्यालाई आधार मान्दा ३००० हिमोफिलियायुक्त व्यक्तिहरु नेपालमा हुन सक्ने अनुमान छ । तर आवश्यक प्रचार प्रसारको अभाव, राज्यको पुर्ण सहयोग भएको र अन्धविश्वासको भरमा धामी झाँक्री लगाएर बसिरहेका कारण पनि धेरै हिमोफिलियायुक्त व्यक्तिहरुको खोजी कार्य सहज रुपमा हुन सकेको छैन् ।

विश्वका महङ्गा उपचारहरुमध्ये भित्र पर्ने हिमोफिलियाले गर्दा समयमा उपचार नपाउँदा, पटक पटक रक्तश्राव भई रहँदा कतिले ज्यान गुमाउनुपर्ने तथा अपाङ्गता भई दैनिक क्रियाकलापमा समेत बाधा परेको तितो सत्य हाम्रा सामू रहेका छन् ।

विकासोन्मुख मुलुकमा जन्मनु नै….
हुनत विश्वका सम्पन्न मुलुकहरुमा हिमोफिलियाको उपचार राज्यले नै गर्ने तथा रोजीरोटीको पनि व्यवस्थापन गरिदिने हुँदा मृत्युदर एवं अपाङ्गतामा कमी हुने गर्दछ । विकासोन्मुख देशहरुका हिमोफिलियायुक्त व्यक्तिहरु भर्याङ्गका सिढीहरु चढ्न समस्या हुने गर्दछ भने विकसित देशका हिमोफिलियायुक्त व्यक्तिहरु सगरमाथा चढेका उदाहरण समेत रहेका छन् ।

अभाव औषधि कै
कोरोनाकै कारण विदेशी दाताहरुले दिने औषधि सहयोग प्रभावित बनेको छ । हिमोफिलिया सोसाइटी नेपालमा हाल औषधि अभाव भएको छ । आकस्मिक अवस्था आइहालेमा के गर्ने भन्ने डर र त्रास रहेको छ । संयमित एवं सावधानी अपनाए कोरोनासँग बच्न केहि हदसम्म सकिन्छ । तर जति नै सुरक्षित अवस्था अपनाए पनि हिमोफिलियायुक्त व्यक्तिहरुलाई रक्तश्राव भई जुनसुकै बेला पनि आकस्मिक हुन सक्ने खतरासँग हिमोफिलियायुक्त व्यक्तिहरु भयमा बस्नुपरिरहेको छ । यदि औषधि पर्याप्त थियो भने आकस्मिक अवस्था आइहालेमा पनि त्यति डर हुने थिएन जुन डर अहिले भइरहेको छ । हुनतः हिमोफिलिया जस्तै अन्य समस्या भएका व्यक्तिहरु पनि आ आफ्नो समस्यासँग त्रसित भई बस्नु परिरहेको छ । उहाँहरु प्रति पनि हामीहरु सहानुभुति प्रकट गर्दछौं ।

यस वर्ष यस्तै भो साथीहरु….
विश्वभरका हिमोफिलियायुक्त व्यक्तिहरुको लागि अभिभावकत्व गरिरहेको विश्व हिमोफिलिया महासंघको अगुवाई र पहलमा प्रत्येक वर्ष विश्वभर नै अप्रिल १७ मा मनाउने गरिएको विश्व हिमोफिलिया दिवस कोरोनाको कारण यसवर्ष (सन् २०२०) प्रभावित भएको छ ।

नेपालमा पनि विगतका वर्षहरुमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी विश्व हिमोफिलिया दिवस मनाउँदै आइरहिएको थियो । तर यसबर्ष एकै ठाउँमा भेला भई विश्व हिमोफिलिया दिवस मनाउन नपाइए पनि सञ्चार साधनहरुको माध्यमबाट प्रचार प्रसार गरी होम क्वारेन्टाइनमा रहि विश्व हिमोफिलिया दिवस मनाएका छौं ।

विगतका वर्षहरुमा पनि यहाँहरुकै सञ्चार माध्यममार्फत् र यहाँहरु नै सञ्चारकर्मीको सहयोगमा नै दिवस मनाउने कार्यक्रम तय गरिएको थियो र यसवर्ष पनि यहाँहरुकै सहयोग रहनेछ भन्नेमा विश्वस्त हुनेछौं ।
विश्वमा महामारीको रुपमा रहेको कोरोना भाइरसबाट मृत्युवरण गर्नुहुने सम्पूर्ण महानुभावहरुमा श्रद्धा सुमन अर्पण गर्दै संंक्रमितहरु छिटै निको हुन र कोरोनाको औषधि छिटै पत्ता लागोस् । नेपाली नयाँ वर्षले विश्वलाई नै खुशियाली दिन सकोस् भन्ने कामना गर्दछौं ।
कोरोनाको बिरुद्धमा अहोरात्र खटिनुहुने सम्पूर्ण महानुभावहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै सरकारले गरेका सम्पूर्ण कामहरुमा ऐक्यबद्धता जनाउँदै संयमित भई दिन हुनको लागि सबैमा अपिल गर्दछौं ।
कोरोनाकै कारण सम्पूर्ण महानुभावहरुले भोग्नुपरेका पिडाहरु जस्तै हिमोफिलियायुक्त व्यक्तिहरुले भोग्नु परेको पिडाहरु धेरै नै रहेका छन । यस घडिमा भगवानले सबैमा रक्षा गरुन साथै सुरक्षित रहनु भन्ने कामना व्यक्त गर्दै सबैमा विश्व हिमोफिलिया दिवसको शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्