Logo
|
Friday 19th April 2024
Logo

epaper

तीन जनासँगै मुलुकमा कोरोना संक्रमितको संंख्या ४५ पुग्यो, ३८ जनाको उपचार जारी



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । बुधबारमात्र २४, ६० र ७२ वर्षीय पुरुष गरी तीन जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा थप तीनजनामा कोरोना पोजिटिभ देखिएको हो ।
संक्रमितमध्ये दुईजना विराटनगर महानगरपालिका वडा नम्बर १५ र १७ का स्थानीयबासी हुन् भने एकजना उदयपुरको मस्जिदमा बस्दै आएका भारतीय नागरिक हुन् । हाल क्वारेन्टाइनमा रहेका उनीहरुलाई थप उपचारका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ ।

अब नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । सातजना भने निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अन्य ३८ जनाको मुलुकका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

हालसम्म मुलुकमा आरडीटी विधिबाट ३१ हजार ४ सय २० र पीसीआर विधिबाट ९ हजार ११ गरेर कुल ४० हजार चार सय ३१ जनामा कोरोना परीक्षण भएको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा तीन हजार ४ सय ३६ जनाको नमुना परीक्षण भएको छ ।
सरकारले ७७ जिल्लामा आरडीटी टेस्टको सुविधा उपलब्ध गराइसकेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश १ मा तीन हजार ९७, प्रदेश २ मा तीन हजार ९ सय २५, बागमती प्रदेशमा ५ हजार ९ सय १५, गण्डकी प्रदेशमा ४ हजार २ सय ७२, प्रदेश ५ मा २ हजार ५ सय ९६, कर्णाली प्रदेशमा ४ हजार ३०८ र सुदूरपश्चिम प्रदेशमा सात हजार ३०७ जनामा कोरोना परीक्षण भएको छ ।

हाल मुलुकभर आठ हजार ५९५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । यसैगरी उपत्यका ३ र उपत्यका बाहिर ९२ जना गरी ९५ जनालाई आइलेसनमा राखेर उपचार गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्